विश्वासको मत गुमाउनु भएका स्विडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पार्टी नेतृत्वबाट पनि अलगिने घोषणा गर्नुभएको छ । झण्डै दुई महिना देशको तल्लो सदनमा भएको मतदानमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँले प्रधानमन्त्रीको जिम्मेबारीबाट बिदा लिनुपरेको थियो । उहाँले अब पार्टी नेतृत्वबाट समेत बिदा लिने आइतबार घोषणा गर्नुभएको छ ।
सोसल डेमोक्र्याट पार्टीको अध्यक्षसमेत रहनुभएका स्टेफनले आगामी नोभेम्बरमा आफूले पार्टीको नेतृत्वदायी भूमिकाबाट अलग हुने घोषणा गर्नुभएको हो । आगामी एक वर्षपछि हुने आम निर्वाचनमा पार्टीलाई फेरि विजयी गराउनका लागि आफूले जिम्मेवारी त्याग्न लागेको उहाँको भनाइ छ । पार्टीकै एक कार्यक्रममा उहाँले नयाँ नेतृत्वलाई अवसर दिन र पार्टीलाई नयाँ तरिकाले सञ्चालन गर्ने वातावरण बनाउन सहयोग होस् भनेर आफूले पार्टी अध्यक्षबाट पनि राजीनामा दिन लागेको बताउनुभयो ।
उहाँको यो निर्णयलाई परिपक्व, जिम्मेवार र नैतिकतापूर्ण भएको भन्दै स्थानीय सञ्चारमाध्यमहरुले महत्वका साथ सकारात्मक तरिकाले सम्प्रेषण गरेका छन् ।उहाँले आफू झन्डै १० वर्षदेखि पार्टी अध्यक्ष र सात वर्ष प्रधानमन्त्री भइसकेकाले अब यो श्रृङ्खलालाई अन्त्य गर्नुपर्ने निष्कर्षमा आफू पुगेको पनि उल्लेख गर्नुभएको छ ।“मैले पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा जे जति समय, अवसर र जिम्मेवारी पाएँ, त्यो आफैँमा अति अतुलनीय र महत्वपूर्ण थिए, यो सधैँ रहिरहँदैन, एक दिन अवश्य अन्त्य हुनेछ, त्यो अन्त्य गर्ने दिन अहिले आएको छ,” उहाँले भन्नुभयो ।
आफूले अहिले नै जिम्मेवारी त्यागेर नयाँ नेतृत्वलाई जिम्मेवारी दिन पाएमा सबैका लागि हित हुने ठानेको पनि उहाँले बताउनुभएको छ ।मजदुर सङ्गठनबाट पार्टी राजनीतिमा आउनु भएका स्टेफनले सन् २०१२ देखि पार्टीको नेतृत्व गर्नुभएको हो भने सन् २०१४ र २०१८ को आम निर्वाचन पनि उहाँकै नेतृत्वमा पार्टीले आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।उहाँले दुई महिना अगाडि संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पनि अर्को प्रधानमन्त्री चयन नभएकाले अहिले पनि काम चलाउ प्रधानमन्त्री कै जिम्मेवारीमा हुनुहुन्छ ।
मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा र प्रधानमन्त्रीको पक्षमा भने १७५ जनाको मत परेको थियो । स्विडेनको संसद्मा अहिले ३४९ जना सांसद रहेका छन् । तीमध्ये १०९ जनाले मतदान गरेका थिएनन् भने ५१ जना अनुपस्थित भएका थिए ।स्विडेनको संसद्ले लिएको यो निर्णयले विघटन हुने खतराबाट त संसद् जोगिएको छ । तर नयाँ सरकार दिन भने असक्षम भएको छ । संसद् विघटन भएको भए निर्धारित समयभन्दा एक वर्ष अगाडि नै आम निर्वाचनमा जानुपर्ने अवस्था आउने थियो ।
विपक्षीहरूले अविश्वासको प्रस्ताव पेस गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने उहाँ स्विडेनको पहिलो प्रधानमन्त्री हुनुभएको छ । अर्पाटमेन्टका सम्बन्धमा भएको विवादका कारण उहाँका यसअघिका केही समर्थक दलहरुले अहिले समर्थन फिर्ता लिएका हुन् ।
प्रतिक्रिया