काठमाडौँ, ६ भदौ (रासस) : नेपाल र नेपालबाहिर छरिएर रहेका करातेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न ‘क्लोज क्याम्प’मार्फत खेलाडीको कला र कौशल विकास गराउने उद्देश्यले अमेरिकामा युएस नेपाल कराते एसोसिएशन अफ अमेरिका नामक संस्था दर्ता भएको छ ।
अमेरिकामा अवकाश प्राप्त जीवन बिताइरहनुभएका नेपालमा कराते खेलका संस्थापक प्रमुख थानेश्वर राई (टीएस)को नेतृत्वमा उक्त संस्था दर्ता भएको हो । अमेरिकास्थित भरमन्ट राज्यमा मुख्यालय रहने गरी दर्ता भएको एसोसिएशनको सचिवमा डीबी राउत रहनुभएको छ । यही भदौ ३ गते भरमन्ट राज्यको सचिवालयमा गैरनाफामूलक निगमका रूपमा संस्था दर्ता भएको थानेश्वर राईले जानकारी दिनुभयो ।
नेपालमा लामो समयसम्म करातेको प्रमुख हुँदै प्रमुख प्रशिक्षकबाट अवकाश भएपछि अमेरिकामा रहनुभएका राईले बाँकी जीवन विश्वभर छरिएर रहेका करातेका खेलाडीहरू एउटै छातामुनि समेट्ने, उनीहरूलाई सङ्गठित गरी तालीमका लागि ‘क्लोज क्याम्प’ सञ्चालन गर्नेदेखि प्रतियोगितासमेत आयोजना गरिने लक्ष्य राखिएको जनाइएको छ ।
अध्यक्ष राईले दिएको जानकारीअनुसार क्यानडा, अमेरिका, जापान, युरोप र नेपालमा रहेका करातेका खेलाडीका लागि प्रशिक्षणको आयोजना गरिनेछ । त्यसमा विश्व कराते महासङ्घ र जापान कराते महासङ्घका प्रशिक्षकद्वारा प्रशिक्षण दिलाउने कार्यक्रम राखिएको छ । “एसोसिएशनको मुख्य उद्देश्य भनेको नेपाल नेपाली खेलाडीलाई सहयोग पु¥याउनु नै हो,” अध्यक्ष राईले भन्नुभयो ।
यो पनि – नौ लाख ४५ हजारलाई निःशुल्क मास्क वितरण
काठमाडौँ, ६ भदौ (रासस) : नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर १५ हजार आठ सय ९१ मास्क वितरण गरेको छ । प्रहरीले देशभर सञ्चालन गरेको ‘तपाईंको मास्क खोइ ?’ अभियानअन्तर्गत उक्त मास्क वितरण गरेको हो । कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले गत वैशाख ६ गतेदेखि हालसम्म नौ लाख ४५ हजार ९४० मास्क निःशुल्क वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रूपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खोइ ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।
यस्तै प्रहरीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ५६० जनालाई रु ४६ हजार जरिवाना गरेको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने एक हजार ७८४ जनालाई रोकेर सम्झाइबुझाई छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया