बाढीले एक घर बगायो, ४५ घर जोखिममा

बाढीले एक घर बगायो, ४५ घर जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेनी नगरपालिका–३ भकिम्लीको दूधेखोलामा आज बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण ४५ घर जोखिममा परेका छन् । भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनाका साथै जोखिम बनाएको हो । वडा नं ३ भकिम्लीका वडा सदस्य गेमप्रसाद घर्तीले बाढीले बगाएर दिपा पुनको घर पूर्ण क्षति भएको जानकारी दिनुभयो । “नारायण पुन र तिलाराम थापाका घर उच्च जोखिममा छन्”, उहाँले भन्नुभयो “दूधेखोलाको दाँयाबायाँ किनारमा रहेका ४५ घरधुरी भएको बस्ती नै बाढीको जोखिममा परेको छ ।” नारायणको गोठमा बाँधेको दुहुना भँैसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ ।

करिब सात सय मिटरको दुरीमा बाढीले बस्तीतर्फ कटान गरेको छ । कोप्रेतर्फ पनि कटानको जोखिम छ । बाढीका कारण बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका चार वडालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–बरङजा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा भकिम्ली, सुर्केमेला, बास्कुना, थामडाँडा र बरङजा सिधायातायात सम्पर्क विच्छेद भएको छ । सो क्षेत्रका किसानलाई बेनीमा दूध ढुवानी गर्न समस्या भएको छ । खानेपानी र सिँचाइका पाइप बाढीले बगाएको छ । हल्लेगौँडाको पहिराका कारण दूधेखोला–हल्लेगौँडा–डाडाँखानी हँुदै भकिम्ली जोड्ने सडक गत जेठ देखि नै अवरुद्ध छ ।

दूधेखोलाको बाढीले म्याग्दी खोला बग्ने ठाउँलाई साँघुरो बनाउँदा तलाउ बनेको छ । तलाउका कारण चुत्रेनीमा डुबान र कटानको जोखिम बढेको छ । राति १ः०० बजे भूकम्प जाँदाको जस्तो कम्पन आएपछि घर बाहिर निस्किँदा बाढी आएको देखेको र सुरक्षित ठाउँमा गएर रात कटाएको स्थानीयवासी ओमबहादुर घर्तीमगरले बताउनुभयो ।

यो पनि – बेनीको बगरफाँटमा खानेपानीको हाहाकार

गलेश्वर, ७ भदौ (रासस) : बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ ।गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिरोले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको चरम समस्या भएको हो । यस बिचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिएको भए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपमा क्षति पु¥याए पछि बगरफाँटका बासिन्दा विगत दुई महिनादेखि खोला र कँुवाको पानी पानी बाध्य छन् ।

गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुँवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी–२ बगरफाँटका गोपाल शर्माले बताउनुभयो । सो स्थानमा दुई सय १४ घरधुरी छ ।

विसं २०६९ मा बेनी–३ भकिम्ली र बेनी–२ ज्यामरुककोटका सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । यसपछि वर्षेनी बर्खाका समयमा बाढी र पहिरोले पाइपलाइनलाई क्षति पु¥याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकोमा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत गर्न नसकिएको आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार अझै केही दिनसम्म समस्या यथावत रहने र वर्षा रोकिएपछि मर्मत अघि बढाइने छ । गाउँका पुछारमा म्याग्दी नदी र शिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायतका पानीका आधा दर्जन बढी स्रोत रहेका भए पनि ती पानीका स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले वर्षौंदेखि खाने पानीको समस्या झेल्दै आएका छन् ।

यो पनि – ‘काउन्सिलिङ’ हुनु त यस्तो पो !

–नारायण अधिकारी, चितवन, ७ भदौ (रासस) : उपचारार्थ काठमाडौँ पुग्नुभएका गोविन्द तिवारी चिकित्सकको ‘काउन्सिलिङ’ (परामर्श) बाट निकै प्रभावित हुनुभयो । सोह्र वर्षअघि नारायणगढका शहीदचोकमा प्रहरीको राइफलको कुन्दाले कुटिएर ढाडमा‘ट्युमर’ पलाएपछि उपचार गर्न उहाँ राजधानि छिर्नुभएको थियो । यसो त आफ्नै परिवारका सदस्य चिकित्सक भए पनि उहाँले यस किसिमको परामर्श जिल्लामा कहिल्यै पाउनुभएन ।

उहाँ ढाडमा पलाएको ‘ट्युमर’को शल्यक्रिया गर्न वरिष्ठ स्पाइनल सर्जन डा विनोद बिजुक्छेकामा पुग्नुभयो । उपचारपछि निको भएर चितवन फर्किनुभएका तिवारी डा बिजुक्छेका परामर्शको व्याख्या गरेर नसकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो “चितवनमा यस्तो परामर्श कहाँ पाइन्छ र ? काठमाडौँमा अरुले के गर्छन थाहा भएन, उहाँको परमर्श सबै चिकित्सकले सिक्नुपर्छ ।”

ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल उपनिर्देशकसमेत रहनुभएका डा बिजुक्छे अस्पतालमा वरिपरि चिकित्सकीय समूहसँगै बिरामी र उनका आफन्त राखेर शल्यक्रियापूर्व एक घण्टा हाराहारीमा परामर्श गर्ने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “हामी साना ठूला जस्तोसुकै शल्यक्रियापूर्व बिरामीको अवस्थाका बारेमा पूर्णरुपमा परामर्श दिने गर्छाैं ।” उपचारमा गएका बिरामीलाई सबै कुरा बुझाउने चिकित्सकको कर्तव्य भएको उहाँको भनाइ छ । स्पाइनलसम्बन्धी ठूला शल्यक्रियाका लागि उहाँकहाँ बिरामी पुग्ने गर्दछन् । चिकित्सकका परामर्शमा कमजोर हुँदा अस्पतालमा धेरै समस्या आउने गरेको बताइएको छ ।

सामान्यत ः उठी उठी बिरामी र उनका आफन्तलाई दुई चार शब्द भनेर औषधि लेखी पठाउँदा बिरामी अन्यौलमा पर्ने गर्दछन् । शल्यक्रियापूर्व राम्रो परामर्श नदिँदा शल्यक्रियाका क्रममा दुर्घटना भएमा अस्पताल तोडफोडका घटनासमेत बढ्दो छ । राम्रोसँग परामर्श नपाउँदा औषधि लिएर घर जाने पूर्ण विश्वस्त भएर जान सकिरहेका हुँदैनन् । एउटै चिकित्सकले एकै दिन १०० भन्दा बढी बिरामी परीक्षण गर्दा कस्तो परामर्श हुन्छ ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।

सरकारी अस्पतालमा थोरै चिकित्सकले धेरै बिरामी परीक्षण गर्नुपर्दा राम्रो परामर्श दिनै भ्याउँदैनन् । यसो त तिनै चिकित्सकले निजीमा पनि यस्तै व्यवहार गरेको गुनासो आउने गर्दछ । कतिपय चिकित्सक भने परामर्शलाई प्रमुख रुपमा लिने गर्दछन् ।

वरिष्ठ मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाईं बिरामी र उनका आफन्तलाई राम्रोसँग परामर्श गर्न नसक्दा अस्पतालमा दुर्घटना हुने गरेको बताउनुहुन्छ । धेरै चिकित्सकले बिरामी र आफन्तलाई रोगका बारेमा राम्रोसँग नबुझाउने गरेको स्वीकार्दै उहाँले भन्नुभयो, “जस्तोसुकै रोगका बिरामी भए पनि हामीले राम्रोसँग बिरामी र आफन्तलाई बुझाउनै पर्छ ।”

बिरामीको अवस्था यो छ, उपचार पछि यो हुन्छ भनेर प्रष्ट पार्न नसक्दा बिरामी र आफन्त असन्तुष्ट हुने गरेको उहाँको बुझाइ छ । उहाँंले भन्नुभयो, “बिरामीले बुझ्ने भाषामा चिकित्सकले परामर्श गर्नुपर्छ । जति गर्नुपर्ने हो हामीले गर्न सकेका छैनौँ ।” उपचारका लागि लाग्ने खर्चदेखि हुनसक्ने जटिलताका बारेमा समेत बुझाउनुपर्ने उहाँको भनाइ छ । चितवन मेडिकल कलेजमा कार्यरत डा सेढाईं सबै रोगमा परमर्शको जरुरी रहेकामा जोड दिनुहुन्छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालीदास अधिकारी चिकित्सकले भ्याएर पुगेसम्म परामर्श दिने गरेको दावी गर्नुहुन्छ । सरकारी अस्पतालमा धेरै बिरामी हेर्नुपर्दा पर्याप्त परामर्श दिन नसकिएको भने उहाँको स्वीकारोक्ति छ । परामर्श मात्रै होइन, धेरै कुराको अभाव सरकारी अस्पतालमा हुने गरेको अधिकारी बताउनुहुन्छ ।

बुद्धिजीवी प्रेम रिमाल उपचार जीवन र मरणसँग सवाल भएकाले परामर्श राम्रो दिनुपर्ने बताउनुहुन्छ । युरोप, अमेरिकालगायतका देशले परामर्शलाई बढी जोड दिने गरेको भन्दै उहाँले भन्नुभयो, “यहाँको परामर्श कमजोर छ, चिकित्सकले मैले भनेपछि के भन्नुप¥यो भनेर बिरामीसँग भन्ने गर्दछन् ।” पुराना र गनिएका चिकित्सकको परामर्श कमजोर भएको भन्दै उहाँले नयाँ पुस्तामा परामर्शको विकास हुँदै गएको पनि बताउनुभयो । परामर्शलाई चिकित्सकले दायित्वका रुपमा लिनुपर्ने उहाँको भनाइ छ ।