मुख्यमन्त्री केसीलाई विश्वासको मत

मुख्यमन्त्री केसीलाई विश्वासको मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिनुभएको छ । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । प्रदेशसभामा रहेको कूल ८० सदस्यमध्ये ‘हुन्छ’ भन्ने पक्षका ४२ सदस्य कुलसङ्ख्याको बहुमत भएको घर्तीले जानकारी गराउनुभयो । ‘हुन्न’ भन्ने पक्षमा सून्य सदस्य सङ्ख्या र उपसभामुख कृष्णी थारु तटस्थ रहनुभएको थियो । नेकपा (एमाले)ले सदन बहिष्कार गरेको थियो ।

सो अवसरमा मुख्यमन्त्री केसीले पाको राजनीतिक पार्टीको राम्रो संस्कार नभएको उल्लेख गर्दै सत्ता बहिर्गमनको आक्रोश भएको टिप्पणी गर्नुभयो । उहाँले सत्तामा रहने र प्रतिपक्षमा रहने सामान्य प्रक्रिया रहेको भन्दै संसदीय प्रक्रियालाई अवरुद्ध गर्न नहुने बताउनुभयो ।

यो पनि – पार्टीलाई एकताबद्ध बनाउन १० बुँदे कार्यान्वयनको आह्वान

नेकपा (एमाले) ले पार्टीलाई एकताबद्ध बनाउन एमाले कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र कार्यदलमा सहभागी रहेका एकता पक्षधर नेताबीच आज बालकोटमा भएको छलफलमा कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने मौखिक सहमति भएको हो ।

सहमति कार्यान्वयनका लागि भोलि मङ्गलबार पार्टीको स्थायी कमिटीको बैठक आह्वान गरिएको छ । ओली निवास बालकोटमा भएको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले सचिव प्रदीप ज्ञवालीले १० बुँदे प्रस्ताव कार्यान्वयनमा आइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “असार २७ गते कार्यदलको तर्फबाट गरिएको १० बुँदे प्रस्ताव कार्यान्वयनको प्रक्रिया शुरु भइसकेको छ, यसलाई थप कार्यान्वयनमा लैजान भोलि ११ बजे पार्टी स्थायी कमिटी बैठक आह्वान गर्ने निर्णय भएको छ, भोलिको बैठकबाट पार्टी एकतामा देखापरेका केही समस्या समाधान हुने र पार्टी दृढतापूर्वक अगाडि बढ्ने विश्वास लिएका छौँ ।”

विसं २०७५ जेठ २ गते कायम भएका नेकपा एमालेका कमिटीलाई क्रियाशील बनाइने भएको छ । उहाँले जेठ २ को बैठकको निरन्तरता साउन १ गते बैठक बसेको बताउँदै त्यस बैठकमा सहभागी नहुने नेता पनि भोलिको बैठकमा सहभागी भएपछि जेठ २ अगाडिकै संरचनामा पार्टी अगाडि बढ्ने बताउनुभयो ।

“माधव नेपालले अर्कै बाटो तय गरिसक्नु भएको छ, उहाँले पार्टी नै दर्ता गरिसक्नु भएको अवस्थामा उहाँ एकतामा फर्कनु हुन्छ भन्ने विश्वास कसरी गर्न सकिन्छ र ?,” एमाले सचिव ज्ञवालीले भन्नुभयो, “हामी दल दर्ता प्रक्रियामा रहेका साथीलाई फर्केर आउनुस् र आफ्नै पुरानै जिम्मेवारी सम्हाल्नुस् भनेका छाँै, विभाजनमा नजानु भएका साथीले पुरानै जिम्मेवारी सम्हाल्नु हुन्छ, बैठकमा पनि त्यही छलफल भयो ।” उहाँले दल दर्ता प्रक्रिया रोकेर पार्टीमा फर्कनुभयो भने फेरि पनि पार्टीमा ठाउँ दिन सकिने बारेमा बैठकमा छलफल भएको उहाँको भनाइ छ ।

ओली निवासमा भएको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेकपा एमालेका नेता योगेश भट्टराईले नेता माधवकुमार नेपाल हतारिएर नयाँ दल दर्तामा गएको बताउनुभयो । नेता नेपाल आफूसँग रहेका केन्द्रीय कमिटीका सदस्यसँगको भेलाको ‘म्याण्डेट’ भन्दा बाहिर गएर आफू पक्षीय केन्द्रीय कमिटी र स्थायी कमिटी सदस्यसँग छलफल नै नगरी हतारमा पार्टी विभाजनको निर्णय लिएको बताउनुभयो । उहाँले अझै दुईदिन नेता नेपालसँग भेटेर एमालेमै फर्काउन पहल गर्ने बताउनुभयो ।

पार्टी अध्यक्ष ओलीले पार्टीमा सबैलाई समान व्यवहार गर्ने, पुराना जिम्मेवारीलाई यथावत राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको बताउदै नेता भट्टराईले पार्टी बिभाजन र दल दर्तालाई रोकेर फर्केर आएमा १४ जना माथि भएको कारबाहीलाई रोक्न सकिने प्रतिबद्धता आएकाले एकताको प्रयास जारी रहने बताउनुभयो ।

नेता भट्टराईले २०७५ जेठ २ गते कायम भएको नेकपा एमालेका केन्द्रदेखि प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ, वडा, टोलसम्मका सम्पूर्ण कमिटी क्रियाशील गर्ने सहमति भएको भन्दै ती कमिटी कसरी क्रियाशील हुन्छन् भनेर भोलि बस्ने स्थायी कमिटीले सबै ढाँचा तयार पार्ने बताउनुभयो । बालकोटमा ओलीसँगै महासचिव इश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल, भीम रावल, घनश्याम भुसाल, युवराज ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेताको सहभागिता रहेको थियो । रासस