सिन्धुपाल्चोकमा एशिया नेपाल स्वास्थ्य सामग्री र उपकरण प्रदान

सिन्धुपाल्चोकमा एशिया नेपाल स्वास्थ्य सामग्री र उपकरण प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ८ भदौ (रासस) : जिल्लाको चौतारा अस्पताल र जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा एशिया नेपालले कोभिड–१९ प्रतिकार्यका लागि स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ । रु २६ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको एशिया नेपालका कार्यक्रम निर्देशक नवराज आचार्यले बताउनुभयो । अक्सिजन कन्सन्ट्रेटर, सि क्याप डिभाइस, हस्पिटल मास्क, अक्सिमिटर, एन्टिजेन किटलगायत २४ प्रकारका कोभिड प्रतिकार्य सामग्री प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

संस्थाले चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा करुणा बज्राचार्यलाई संयुक्तरूपमा सामग्री हस्तान्तरण गरेको थियो । प्राप्त सहयोग सामग्री बुझ्दै चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले अस्पतालबाट दिने सेवामा यस्ता सामग्रीले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । अध्यक्ष श्रेष्ठले सामग्री सहयोगका लागि एशिया नेपाललाई धन्यवाद व्यक्त गर्दै बिरामीको सुलभ उपचारमा चौतारा अस्पताल सदैव लागिरहेको बताउनुभयो ।

सो कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बज्राचार्यले यस्ता सामग्री कोभिड–१९ र श्वासप्रश्वासका बिरामीका लागि निक्कै उपयोगी हुने बताउनुभयो । जलविरे प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा प्रशान्त ज्ञवालीले स्वास्थ्य केन्द्रमा रहेको एउटा अक्सिजन कन्सन्ट्रेटर बिग्रिएको अवस्थामा प्राप्त भएको सामग्रीले उपचार सेवामा सहजता ल्याउने बताउनुभयो । एशिया नेपालका परियोजना प्रबन्धक सुनिल खनालले सिन्धुपाल्चोकमा कोभिड प्रतिकार्यमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै सामग्रीको सही सदुपयोग गर्न आग्रहसमेत गर्नुभयो ।

यो पनि – कर्णालीका स्थानीय तहमा तीन अर्ब बेरुजु

कर्णाली, ८ भदौ (रासस) : कर्णालीका स्थानीय तहमा रु तीन अर्बभन्दा बढी रकम बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औँ वार्षिक प्रतिवेदनअनुसार कर्णालीका ७३ स्थानीय तहमा रु ६५ अर्ब ३७ करोड ६० लाखको लेखा परीक्षण गरिएकोमध्ये रु तीन अर्बभन्दा बढी बेरुजु देखिएको हो ।

महालेखाले आर्थिक २०७६÷०७७ मा कर्णालीका ५० गाउँपालिका र २३ नगरपालिकाको लेखापरीक्षण गरेको थियो । नगरपालिका र गाउँपालिकाको गरी रु तीन अर्ब २६ करोड ९१ लाख रकम बेरुजु (पेश्कीसमेत) आएको हो । स्थानीय तहको अद्यावधिक बेरुजु रकम मात्रै रु एक अर्ब ३१ करोड १५ लाख ४९ हजार रहेको महालेखाले औँल्याएको छ । विगतमा कानूनविपरीत भएको खर्च सरकारी निकायले फछ्र्योट गर्न नसक्दा बेरुजु अङ्क बढी देखिएको हो । स्थानीय तहले बजेट व्यवस्थापन, आयोजना कार्यान्वयन, सोझै खरिद, बिल भरपाईलगायत विषय सुधार नगरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश सरकारको रु ८३ करोड

कर्णाली प्रदेश सरकारका छ वटा मन्त्रालयको आव ०७६÷०७७ सम्म रु ८३ करोड १७ लाख ३३ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयद्वारा सार्वजनिक प्रदेशको प्रतिवेदनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक बाँकी छ मन्त्रालयको बेरुजु देखिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यसम्पादन र बजेट हस्तान्तरणमा कमजोरी देखिए पनि लगती बेरुजु छैन ।

महालेखाको प्रतिवेदनअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १२ करोड सात लाख ३६ हजार, आर्थिक मामिला तथा योजना मन्त्रालयको रु एक लाख नौ हजार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको रु पाँच लाख, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु १९ करोड ८३ लाख ८७ हजार छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २० करोड दुई लाख ३८ हजार, सामाजिक विकास मन्त्रालयको रु ३१ करोड १७ लाख ३३ हजार बेरुजु छ । कर्णाली प्रदेशसभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयको नाममा पनि बेरुजु देखिएको छ ।