गण्डकी, ९ भदौ(रासस) : प्रतिमान निमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेश सरकारलाई कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गर्नुभयो । प्रतिष्ठानले झण्डै रु ८५ लाख बराबरका गाउन आइसोलेशन, फेसशिल्ड, मास्क, एन–९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिइ सेट, इमर्जेन्सी रिलिफ शय्या, पञ्जालगायतका सामग्री हस्तान्तरण गरेको हो ।
मुख्यमन्त्री पोखरेलले विश्वभर कोभिड–१९ को महामारी फैलिइरहेका अवस्थामा प्राप्त सहयोगको ठूलो महत्व हुने जनाउँदै सामग्रीको उचित सदुपयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारीलाई निर्देशन दिनुभयो । सीमित स्रोत साधनबाट प्रदेश सरकार सञ्चालन भइरहेको अवस्थामा दातृ निकाय, छिमेकी र मित्र राष्ट्र, विभिन्न सङ्घसङ्स्थाको सहयोगमा कोभिड नियन्त्रण र रोकथामको काम गर्दै आएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अधिकारीले कोरोनाले आक्रान्त बनाएका बेला प्राप्त सहयोगको अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मीले विदेशबाट प्राप्त हुने सहयोग अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुनुपर्ने बताउनुभयो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक थापाले पूर्वमन्त्री दीपक बोहोरा र उहाँकी दिदी पूर्वस्वास्थ्य सचिव विजया केसीले मातापिताका नाममा संस्था स्थापना गरेको जानकारी गराउँदै अमेरिकाका विभिन्न संस्थासँग पहल गरी स्वास्थ्य सामग्री मगाइएको बताउनुभयो । झण्डै रु पाँच करोडका सामग्री चार्टर उडानमा नेपाल ल्याइएको र सातवटै प्रदेशमा यी सामग्री वितरण गर्ने कार्यक्रम रहेको उक्त अवसरमा जानकारी गराइयो ।
यो पनि – अचेत अवस्थाका यात्रुको उद्वार
रसुवा, ९ भदौ (रासस) : जनै पूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डको तीर्थ सम्पन्न गरी घर फर्किँदै गर्दा लेक लागि अचेत अवस्थामा पुगेका एक व्यक्तिको मङ्गलबार उद्वार गरिएको छ ।
अचेत हुनेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ सल्लेडाँडा निवासी २१ वर्षीय विवेक श्रेष्ठ रहनुभएको छ । उहाँको उद्वार प्रहरीले गरेको हो । पवित्र कुण्डमा स्नान गरी फर्कने क्रममा नुवाकोट र रसुवाको सिमाना छेडा भञ्ज्याङ क्षेत्रमा साँझ बास बसेकै स्थानमा लेक लागेर श्रेष्ठ अचेत अवस्थामा पुग्नुभएको थियो ।
बिरामीको खबर पाउनासाथ प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालको आदेशबाट नेपाल प्रहरी, विष्णु दल गणका नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्वार टोली सोमबार नै परिचालन गरिएको थियो । बिरामीलाई रातभर बोकेर अस्पताल पु¥याइएको थियो ।
श्रेष्ठको जिल्ला अस्पताल धुञ्चेमा उपचार भइरहेको र उहाँको अवस्था क्रमिकरूपमा सुधार भइरहेको चिकित्सकले बताएका छन् । ती बिरामीलाई समुद्र सतहदेखि करिब चार हजार ३०० मिटरको उचाइबाट सुरक्षाकर्मीले उद्वार गरेको हो ।
मानव बस्ती बाहिरको हिमाली क्षेत्र भएका कारण जङ्गलको पदमार्ग पहिचान गराउन र बोक्ने कार्यमा समेत यार्साका बासिन्दाले सहयोग गरेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । यस्तै गोसाइँकुण्ड मेलामा आएका करिब तीन हजार ५०० यात्रुमध्ये लेक लागेर बिरामी परेका चार जनालाई उद्वार गरिएको र सबैको अवस्था सामान्य बन्दै गएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो । अन्य तीन जनालाई गोसाइँकुण्ड क्षेत्रबाट उद्वार गरिएको बताइएको छ ।
प्रतिक्रिया