नेकपा (मओवादी केन्द्र) को प्रवक्तामा महरा

नेकपा (मओवादी केन्द्र) को प्रवक्तामा महरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरा चयन हुनुभएको छ । उहाँलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहनुभएका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिकोे जिम्मेवारी दिइएको छ । यही भदौ ५ र ६ गते बसेको केन्द्रीयसमिति बैठकबाट सो पार्टीले केन्द्रीय विभाग, प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्कजस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

बैठकको निर्णयानुसार प्रदेश नं १ को इञ्चार्जमा सुरेन्द्र कार्की (राम कार्की), प्रदेश नं २ को इञ्चार्जमा गणेश शाह, वाग्मतीको इञ्चार्जमा हितमान शाक्य, गण्डकीको इञ्चार्जमा हितराज पाण्डे, लुम्बिनीको इञ्चार्जमा चक्रपाणि खनाल, कर्णालीको इञ्चार्जमा शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा खगराज भट्टलाई तोकिएको छ ।

यसैगरी विशेष समितिको इञ्चार्जमा लीलामणि पोखरेल, सम्पर्क समन्वय समितिको इञ्चार्जमा डिलाराम आचार्यलाई तोकिइएको छ भने पार्टी स्कुल विभागको इञ्चार्ज अध्यक्ष पुष्पकमल दाहाल आफैले राख्नुभएको छ । पार्टीको शक्तिशाली विभागका रुपमा रहेको सङ्गठन विभागको प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ । यस्तै नेता देव गुरुङलाई सङ्घीय संसदीय विभाग प्रमुख, वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इञ्चार्जमा मातृका यादव, उपभोक्ता हित तथा आपूर्ति विभाग हरिबोल गजुरेल, कृषि तथा भूमिसुधार विभाग लीलामणि पोखरेल, जलस्रोत सिँचाइ तथा ऊर्जा विभाग प्रमुख र विदेश मामला विभागमा सुरेन्द्र कार्कीलगायतले जिम्मेवारी पाउनुभएको छ ।

यो पनि- मूल प्रवाहमा फर्कन अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मूल प्रवाहमा फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।पार्टीको स्थायी कमिटीको मङ्गलबारको बैठकका बारेमा आज ललितपुरस्थित च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त आह्वान गर्नुभएको हो । पार्टी एकताबद्ध भएर अघि बढ्ने जनाउँदै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई एकतामा आउन गर्नुभयो । उहाँले एकताको प्रयास गर्ने कार्यदललाई समेत धन्यवाद दिँदै गत असार २७ गतेको कार्यदलले गरेको निर्णय लागू हुने बताउनुभयो । पत्रकार सम्मेलन जारी छ ।

यो पनि – माधवकुमार नेपालसहितका नेता निर्वाचन आयोगमा

माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा एकत्रित भएको छ । नेता नेपालसहितका उहाँका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक दस्तावेजका साथ सनाखत गर्न आयोग पुग्नुभएको हो । यसअघि नेपालसहितका नेताले आयोगमा नयाँ दल दर्ताका लागि आवेदन गर्नुभएको थियो । आयोगले आवेदन गरेका सबैलाई सनाखतका लागि आज बोलाएको थियो ।


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न जाँदै । तस्बिरः रत्न श्रेष्ठ÷ रासस

प्रस्तावित दलका नेता जगन्नाथ खतिवडाले दल दर्ताका निम्ति गणपूरक सङ्ख्या पुग्ने सदस्यहरूका साथ आफूहरू आयोगमा उपस्थिति भएको राससलाई बताउनुभयो । उहाँहरूका साथमा प्रदीपकुमार नेपाल पनि हुनुहुन्छ । यसैगरी महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका आवेदनकर्ताहरू पनि सनाखतका लागि आयोगमा उपस्थिति हुनुभएको छ । ठाकुर नेतृत्वको पार्टीले ३० सदस्यीय कार्यसमिति प्रस्ताव गरेको नेता राजेन्द्र महतोले जानकारी दिनुभयो ।

यो पनि – आार्थिक क्रान्तिका लागि युवाको भूमिका महत्वपूर्णःमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि युवा सङ्गठित हुनुपर्ने बताउनुभएको छ । योङ कम्युनिष्ट लिग (वाइसिएल) पोखरा– २२ को भेलामा उहाँले उत्पादनसँग युवालाई जोडिनुपर्ने आवश्यकता आंैल्याउनुभयो । “अबका युवा सामूहिक उद्योग तथा व्यवसायसँगै उत्पादनमा जोडिनुपर्छ, मुलुक उत्पादनमा आत्मनिर्भर नभइ आर्थिक विकास सम्भव हुँदैन”, उहाँले भन्नुभयो, “युवाले व्यक्तिगत नभइ समाज र राष्ट्रको हितमा काम गर्नुपर्दछ ।”

वाइसिएलका केन्द्रिय सचिव विनय थापाले यही भदौ १२ र १३ गते काठमाडौँमा भर्चुअल माध्यमबाट वाइसिएलको भेला हुन गहिरहेको जानकारी दिँदै कोभिड– १९ का कारण धेरै भिडभाड र जम्काभेट गर्न नसकिएको बताउनुभयो । पोखरा–२२ वाइसिएलका अध्यक्ष हेमराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माआवादी केन्द्र पोखरा–२२ का इन्चार्ज त्रिभुवन पौडेल, पार्टी अध्यक्ष चण्डीकाप्रसाद बराललगायतले मुलुकको निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

यो पनि – ‘अदालतको फैसलाप्रति तुष्टिकरण र व्यङ्ग्यको अर्थ रहन्न’ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ

काठमाडौँ, ९ भदौ (रासस) : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकार र राजनीतिक दललाई संविधानभित्र बाँधिने संस्कार तथा संस्कृति होस् भन्ने जनताको चाहनालाई सम्मान गर्न सुझाव दिनुभएको छ । नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वारा आयोजित कार्यक्रममा उहाँले प्रमुख राजनीतिक दलका नेतृत्व सत्ता र शक्तिको प्रतिस्पर्धामा रहेका बेला अरु सांसदले सदन जोगाउने तथा रक्षा गर्ने क्षमता राख्न सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अदालतले वर्षको दुईपटक पुनःस्थापना गरिदिनुपर्ने, निर्णय सुनाउँदा किन बोल्यो भनेर खप्की पनि खाइरहनुपर्ने, पुनःस्थापनाको लाभ पनि यहाँहरुले लिने, जनताले के पाए भन्न सक्ने अवस्था नहुने अनि यो अवस्थामा सुधार आउन पर्दैन ।”

संविधान र राजनीतिक संस्कृतिलाई बेवास्ता गरिसकेपछि संविधानका अक्षर उठेर हामीलाई कतै पनि सघाउन नआउनेतर्फ राजनीतिक नेतृत्वलाई सजग गराउँदै उहाँले भन्नुभयो, “अदालतको निर्णयमा असहमति जनाउन र आलोचना गर्न सकिन्छ तर व्यङ्ग्य र तुष्टिकरण गर्नुको अर्थ रहन्न ।”

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले संविधान लेखन र जारी गर्न सहमत दल पछि हटेकोजस्तो तथा विरोध गर्ने दल संविधान रक्षकजस्तो गजबको परिदृश्य अहिले देखिएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक संस्कार दलमा, समग्र प्रणालीमा संवैधानिक संस्कार अनि प्रस्थानविन्दु समाजलाई लोकतान्त्रिक बनाउँदै लगियो भने सकारात्मक परिणाम प्राप्त हुन्छ ।”

नेपाली काङग्रेसकी नेतृ पुष्पा भुसालले अहिलेको अवस्था नेपालको राजनीतिले निम्त्याएको चुनौती र अवसरका रूपमा पार्टीले ग्रहण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बहुमतको सरकारले आवधिक निर्वाचनको मितिलाई पटक–पटक उल्लङ्घन गर्ने प्रयास र विधिभन्दा बाहिर गएर राज्यसत्ता चलाउन खोज्ने अभ्यासको नतिजाका रूपमा नयाँ सरकार गठन भएको हो ।

नेकपा (एमाले)का नेता खिमलाल भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दलभित्र गुटबन्दी र बाहिर राजनीतिक घेराबन्दी भएर निर्वाचनमा जान गरिएको निर्णयको विरुद्धमा जाने परिस्थितिले राजनीतिमा एकपछि अर्काे विकृति थपिँदै गएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “तत्कालीन प्रधानमन्त्री ओलीले पार्टीभित्र नेतृत्व लिन महाधिवेशनसम्म कुर्न तथा प्रधानमन्त्री हुनका लागि चुनावसम्म पर्खनुस् भनेर गरेको आग्रहलाई मानिदिएको भए राजनीतिक स्थायित्वका लागि सहज हुन्थ्यो ।”

‘नेता सुध्रिनुस्’

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक दलमा राजनीतिक संस्कार नभएकै कारण गणितीय हिसाबमा बलियो भएर पनि पूरा अवधि रहन नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक संस्कार पहिलो शर्त हो, हामीसँग अनुशासनमा बस्ने अनि एक–अर्कालाई सम्मान गर्ने बानी छैन, प्रतिपक्षले विरोध ग¥यो भनेर घोक्रेठ्याक लगाउने होइन, विरोध र स्वस्थ आलोचनाले सही बाटो देखाउँछ, एकले अर्कालाई पछारेको अनि राजनीतिको मल्ल युद्ध हेरेर मात्र जनताले अघाउनुपर्ने अवस्था अब अन्त्य हुनुपर्छ, नेता सुध्रनुस् ।”

राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विगतका राजनीतिक घटनाक्रमको गहन विश्लेषण गरी सदनको स्थायित्वलाई मुख्य विषयवस्तु बनाएर संविधान जारी गरिएकामा पटक–पटक विघटनले राजनीतिक अस्थिरता रोक्ने सवालमा आएको अदालतको फैसलालाई आफनो स्वार्थका आधारमा ब्याख्या गरिन नहुनेमा जोड दिनुभयो ।

सांसद नवराज सिलवालले दलभित्रको आन्तरिक लोकतन्त्रको स्थिति कमजोर रहेको तथा राजनीतिक दलमा संस्थागत निर्णयभन्दा व्यक्तिवादी प्रवृत्ति हाबी भएको नतिजाका रूपमा अहिलेको अवस्था उत्पन्न भएको प्रतिक्रिया दिनुभयो ।

संविधानविद् विपीन अधिकारीले सदन जोगाउने विषयमा अदालतको फैसला स्वच्छ र स्वतन्त्ररूपमा आएको जिकिर गर्दै अदालतलाई गालीगलौज गरेर लोकतन्त्र बलियो नहुने बताउनुभयो ।

सो अवसरमा सांसद अमरेशकुमार सिंह, प्रकाश पन्थ, लक्ष्मी परियार, मीन विश्वकर्मा, धर्मशिला चापागाईँ, बहादुरसिंह लामा, अधिवक्ता दिनेश त्रिपाठी, ललित बस्नेत, ओमप्रकाश अर्याल, प्राध्यापक इन्दु तुलाधर, अधिकारकर्मी इन्दिरा श्रेष्ठ र नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले संविधान जारी गरेका बेला भएका सहमतिबाट प्रमुख दल नै पछि हटेर बाहिरबाट समाधान खोज्ने विभिन्न खाले चुनौती खडा गरेको धारणा राख्नुभयो ।