धान गोड्न व्यस्त छन् बागलुङका किसान

धान गोड्न व्यस्त छन् बागलुङका किसान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गत जेठ अन्तिम सातादेखि सुरु भएको मनसुनले किसानको खेतबारीमा सिँचाइको सुविधा राम्रो भयो । खेतबारी हरियाली हुँदा किसान औधी रमाएका छन् । वर्षाका कारण समयमा रोपाइँ गर्न पाएर किसानको खेतबारी हरियो बनेका हुन् । बागलुङका अधिकांश किसानले असारभित्रै सबै खेतमा धान रोपेका थिए । भदौ लाग्दा खेतमा धमाधम धान गोड्नेको लहर देखिएको छ । समयमा धान रोपेकोले यतिबेला गोड्ने बेलासमेत भइसकेको छ ।

निरन्तर वर्षाले धानको उत्पादनसमेत बढ्ने गरी रोपाइँ राम्रो देखिएको किसानले बताए । भदौको पहिलो सातासम्म दैनिकजसो वर्षा भएकोले धान राम्रो भएको बागलुङ नगरपालिका–३ का जङगबहादुर कार्कीले बताउनुभयो । ‘‘पानी निरन्तर परेको छ, त्यसैले धान राम्रो बढेको छ, यो वर्ष उत्पादन पनि बढ्ने आश लागेको छ,’’ उहाँले भन्नुभयो, ‘‘निरन्तर वर्षा भएकोले सिँचाइ सुविधा पुगेको छ ।’’  खेतमा पानी लगाउने भन्दै धाउनै नपरेको उहाँले बताउनुभयो । जिल्लाको काठेखोला जलाधार क्षेत्रमा खहरे, अक्षेते र गाँैडाकोट क्षेत्रमा बढी धान रोपिन्छ । दरमखोला जलाधार क्षेत्रको हटिया, हरिचौर, मल्म, काँडेवास र रिघा बढी उत्पादनको क्षेत्र हुन् ।

यस वर्ष बडिगाड गाउँपालिकाको ग्वालीचौर, खरवाङ र खार क्षेत्रमा पनि धानखेती राम्रो भएको छ । निसीखोलाका सबै फाँट, ढोरपाटन नगरपालिका, बागलुङको बलेवा, जैमिनी समेतमा धान उत्पादन बढ्ने सम्भावना देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले जानकारीदिनुभयो ।

उहाँका अनुसार जिल्लामा सात हजार ५०० हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । वर्षाले साथ दिएकोले सबै जमिनमा धान सपे्रको उहाँले बताउनुभयो । गत वर्षभन्दा यो वर्ष छिटो रोपाइँ भएकोले उत्पादन १० देखि २० प्रतिशत बढी उहाँले प्रक्षेपण गर्नुभयो । राम्रो उत्पादन हुँदा प्रतिहेक्टर ३ मेट्रिकटन धान फल्ने गरेको तथ्याङ्क छ । उहाँका अनुसार जिल्लामा २२ हजार ५०० मेट्रिकटन धान फल्ने अनुमान छ । ‘‘अनुकूल मौसममा किसानको १० देखि २० प्रतिशत धान उत्पादन बढ्ने गरेको छ, यो वर्ष बढ्ने गरी पानी परेको छ,’’ उहाँले भन्नुभयो, ‘‘छिटो रोपेकोले हिउँदेबालीका लागि पनि किसानलाई सहयोग मिल्नेछ ।’’
समयमा धान रोपेर छिटो थन्क्याउन पाउँदा किसानले तीन खेती लगाउन पाउने गरेको गलकोट नगरपालिका– ७ का टोपबहादुर थापाले बताउनुभयो । गत वर्ष भने मनसुन कमजोर भएकोले ढिलो रोपाइँ भएको थियो । ढिलो रोपाइँ भएपछि उत्पादनसमेत घटेको थियो । कोरोना सङ्क्रमणले खेतालासमेत पाएका थिएनन् । यो वर्ष समयमै काम भएकोले सामाजिक दुरी कायम गर्ने, मास्क लगाएर काम गर्ने कारणले समयमा काम भएको कार्कीले बताउनुभयो ।

साँघुरा सडक, अव्यवस्थित बस्ती

सदरमुकामदेखि अक्षेते र सिगाना हुँदै गाजादह, बरेङ, शान्तिपुर जोड्ने सडकको प्रवेशद्वारमै जीप मात्रै छिर्नसक्ने अवस्थाको छ । देउराली चोकबाट गाडी छिर्न नसकेपछि सिगानातर्फको सडक कालोपत्र भए पनि ठूला गाडी लिएर जानसक्ने अवस्था छैन । सिगानातर्फ जानुपर्ने केही ठूला गाडीले पनि खहरे पुगेर घुम्दै ओखलढुङ्गा पुल पुग्छन् । तर त्यहीँ खण्डमा पनि अर्को सवारी आएमा साइट दिने ठाउँसमेत छैन ।

बागलुङ नगरपालिकाले भने १२ देखि १५ मिटरको सडक बनाउने मापदण्ड बनाएको छ । पुराना सडक ६ मिटरसमेत नभएकोले मापदण्ड लागू गर्न कठिन भएको नगरपालिकाका इञ्जिनीयर दीपेन्द्र भण्डारीले बताउनुभयो । बस्ती नभएको र भूगोलले साथ दिएको स्थानमा भने मापदण्डअनुसारको सडक बनाउने काम भएको उहाँले बताउनुभयो । चाहेर पनि कतिपय स्थनमा मापदण्ड लागू गर्न नसकिएको उहाँले स्वीकार्नुभयो । नगरपालिकाले कडा नियम बनाउन नसक्दा कार्यान्वयनमा कठिन भएको प्राविधिकको भनाइ छ ।

नगरभित्रकै अधिकांश ग्रामीण सडक पनि साँघुरा छन् । लोकमार्गको मूलपानीदेखि काप्रेतर्फ जाने सडक, पुरानो नगरभित्रको चक्रपथसमेत मापदण्डका छैनन् । ‘पुराना सबै साँघुरा छन्, नयाँ सडक चौडा बनाउन कसरी सकिन्छ र’ वडा नं १२ का अध्यक्ष गुरुदत्त पाठकले भन्नुभयोे, “यिनका बजारीया सडकभन्दा हाम्रो गाउँका चौडा छन् ।” जनताको घरखेत जोखिममा पारेर भने चौडा सडक बनाएर काम नभएको उहाँले बताउनुभयो ।

गलकोटमा पनि यो समस्या बढी छ । ताराखोला हुँदै म्याग्दीको रुमसम्म जोड्ने रणनीतिक सडकमा सूचीकृत भएर पनि सडक साँघुरै छन् । हटिया बजारदेखि हरिचौर हुँदै जाने सडकमा पुल छेवैमा साँघुरो छ । ‘बस लैजानुपरेमा पुलबाटै गाडी घुम्दैन, त्यसैले चौडा पार्न खोजेका छौं’ वडा नं ६ का अध्यक्ष नरबहादुर खत्रीले भन्नुभयो, “भित्री सडकभन्दा मुख्य सडक साँघुरो हुने गरी कतिपय संरचना बनेका छन् ।” पुल छेउदेखि नगरपालिका कार्यालय रहेकै फाँटमा पनि मापदण्डको ख्यालै नगरी धमाधम घर बन्न थालेको उहाँले बताउनुभयो ।

नगरपालिकाले नक्शापास गरेर मात्रै घर बनाउन पाउने व्यवस्था गरेपनि कतिपयले घर बनाएपछि मात्रै नक्शाको खोजी गर्छन् । कतिपयले अग्ला घर बनाइरहेका छन् । ‘सडक मापदण्डबारे निर्णय भएपछि फिल्डमा केही कमजोरी छन्’ नगरप्रमुख भरत शर्मा गैरेले भन्नुभयो, “नियमन र मापदण्डमा कडाइ हुनेछ ।” मुख्य सडकमा मापदण्ड कडाइ गरिने उहाँले बताउनुभयो । गाडी नै छिर्न नसक्ने गरी घर बनाउन नदिने उहाँले बताउनुभयो । भँैसेदेखि हरिचौर आउने सडक पनि साँघुरो छ । चांैडा पार्ने काम भएको छैन । बिचबिचमा केही घर बनिसकेका छन् ।