भदौ ११ देखि १३ गतेसम्म काठमाडौँमा भेरोसेल खोप लगाइने

भदौ ११ देखि १३ गतेसम्म काठमाडौँमा भेरोसेल खोप लगाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ (रासस) : सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा यही भदौ ११ देखि १३ गतेसम्म काठमाडौँ जिल्लामा लगाउने भएको छ । तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप पाउने छन् ।

सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ । भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अन्यलाई पनि खोप दिइनेछ ।

काठमाडौँका सबै स्थानीय तहमा १४६ खोप केन्द्रका राखिएको छ । यस्तै काठमाडौँ महानगरपालिकामा बस्न सर्वसाधारणलाई मध्यनजर गर्दै थप आठ खोप केन्द्र थपिएका छन् । जसअनुसार राधास्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताल रहेका छन् ।

यो पनि – दुवै दललाई आयोगद्वारा मान्यता

काठमाडौँ, ९ भदौ (रासस) : निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । आयोगको आजको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । नेकपा(एमाले)बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका हुन् । राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।

दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेश गरेकामा भास्कर काफ्ले र रवीन कोइराला मात्र आज सनाखत हुन सकेन । पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गर्नुुभएको छ ।

सङ्घीय संसद्का २९ जना सांसदले पनि नयाँ दलका पक्षमा सनाखत गर्नुभयो । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्तखत नभए पनि आज उक्त दलका पक्षमा सनाखतका लागि आयोग पुुग्नुुभयो । नेकपा (एमाले)बाट विभाजन भएका हुनाले उक्त दलको तत्कालीन कायम रहेको २०३ मध्ये दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य समर्थन आवश्यक पर्दथ्यो ।

पुराना राजनीतिज्ञ महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि आयोगले आजै दलको मान्यता प्रदान गरेको छ ।