चोकचोकमा एन्टिजिन जाँच

चोकचोकमा एन्टिजिन जाँच

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १० भदौ (रासस) : निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ । सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो । बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार उपल्लाचौरमा २५ र सोमबार नारायणचोकमा ५० जनाको एन्टिजिन जाँच गरिएको थियो । त्यसमध्ये नारायणचोकमा गरिएको परीक्षणमा एक जनालाई कोरोना पोजेटिभ देखिए पनि बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । “एन्टिजिन परीक्षणलाई हरेक दिन निरन्तरता दिन्छौँ, बाटैमा जाँच गर्दा निषेधाज्ञामा बिनाकाम हिँडडुल गर्ने पनि निरुत्साहित हुन्छन्”, खनालले भन्नुभयो ।

यसअघि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले एन्टिजिन परीक्षणको दायरा बढाउने निर्णय गरेको थियो । कोरोना परीक्षण गर्न नमान्ने, हिच्किचाउनेलाई पनि सम्झाइबुझाइ गरेर परीक्षण गर्ने गरिएको छ । एन्टिजिन विधिबाट परीक्षण गर्दा तुरुन्त रिपोर्ट आउँछ । लक्षण भएका व्यक्तिमा मात्र एन्टिजिनले पोजेटिभ नतिजा देखाउने गरेको जनस्वास्थ्य अधिकृत खनालले बताउनुभयो । कोरोना सङ्क्रमितको छिटो पहिचान र समुदायमा महामारीको स्थिति पत्ता लगाउन एन्टिजिन विधि उपयुक्त मानिन्छ ।

जिल्लामा हालसम्म तीन हजार ४५५ को एन्टिजनबाट कोरोना जाँच गरिएको छ भने २२ हजार २८७ को पीसीआर विधिबाट परीक्षण गरिएको छ । कूल परीक्षणमध्ये सात हजार ४२१ मा कोरोना पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या भने ३७० मात्र छ । यहाँ कोरोना सङ्क्रमणका कारण ६५ जनाको ज्यान गएको छ । सङ्क्रमणको जोखिम घटाउन गत साउन २८ गतेदेखि यहाँ कडा निषेधाज्ञा छ ।

यो पनि – कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

जाजरकोट, १० भदौ (रासस) : कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको यहाँ निर्माण सुरु गरिएको छ । करिब रु आठ करोड लगानीमा सरकारी स्वमित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिनुभयो । भेरी नगरपालिका–३ को राताचौरमा निर्माण सुरु गरिएको यो प्रशोधन केन्द्र कर्णाली प्रदेशकै पहिलो रहेको उहाँले बताउनुभयो ।

बुधबार भवनको औपचारिकरुपमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गर्नुभयो । जडीबुटी तथा पर्यटन र खनिजको राम्रो सम्भावना रहेको कर्णालीमा यो केन्द्र स्थापनासँगै सर्वसाधारण जडीबुटीको बजार घर नजिकै आएको भन्दै खुशी भएका छन् । केन्द्रमा एक वर्षमा रु १० करोड बराबरको कारोबार हुने बताइएको छ । विसं २०७९ जेठ ११ गतेभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने गरे ज्ञानज्योति बिल्र्डस प्रालि काठमाडौँले निर्माणको जिम्मा लिएको छ ।