दमौली, १० भदौ (रासस) : तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले आयोजना गरेको कार्यक्रममा ७२ पिन्ट रगत सङ्कलन गरिएको हो ।
लायन्समा आबद्ध सदस्य, उद्योगी, व्यवसायी, कर्मचारीले रक्तदान गरेको क्लबका अध्यक्ष विष्णुबहादुर रानाले जानकारी दिनुभयो । कोरोना कहरले पर्याप्त मात्रामा रक्तदानको कार्यक्रम नहुँदा रगतको अभाव भएकाले रक्तदान कार्यक्रम गरिएको उहाँले बताउनुभयो । “रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो ।
नगर प्रमुख किसान गुरुङले कोरोनाका कारण बिरामी अप्ठ्यारामा परेको जनाउँदै बिरामीको जीवन बचाउन लायन्सले उत्कृष्ट काम गरेको उल्लेख गर्नुभयो । सो अवसरमा लायन्सको क्लष्टर १४ का चिफ सन्तोष घिमिरे, रक्तदान संयोजक महेश पौडेल, शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा, लायन्सका रिजन चियर पर्सन प्रदीप थापा, जोन चियर पर्सन मिनबहादुर लामिछाने, शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठलगायतले धारणा व्यक्त गर्नुभएको थियो ।
लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले अघिल्लो महिना दुलेगौडावासीले पिउने खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण गरेको थियो । पछिल्लो समय तनहुँमा रहेका लायन्स क्लबले रगत अभावको समस्या टार्न रक्तदान कार्यक्रम गरिरहेका छन् । रक्तदान कार्यक्रम बढ्न थालेसँगै रगत दान गर्नुपर्छ भन्ने चेतना सर्वसाधारणमा बढ्न थालेको पाइन्छ ।
यो पनि – उपसभापति निधि र चौथाइवालेबीच भेटवार्ता
काठमाडौँ, १० भदौ (रासस) : प्रमुख सत्ता रुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहनुभएका भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
बुधबार भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका विविध विषय तथा कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा कुराकानी भएको उपसभापति निधिका प्रेस सल्लाहाकार रामजी दाहालले जानकारी दिनुभयो । भाजपा विदेश विभाग प्रमुख चौथाइवाले कांग्रेसको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएको हो ।
भेटमा उपसभापति निधिले भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा भएको सहमतिअनुसार अझै खोप नआएको भन्दै तत्काल उपलब्ध गराउन उहाँमार्फत भारत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । साथै उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा घोषणा भएको विकास अनुदान अहिलेसम्म कार्यान्वयन नभएकामा समेत ध्यानाकर्षण गराउनुभएको थियो ।
जनकपुर–कुर्ता रेल्वे सेवा सञ्चालन गराउन दुवै देशका सरकार मिलेर आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने भन्दै उपसभापति निधिले दुवै देशका प्रधानमन्त्रीबाट संयुक्तरुपमा उद्घाटन गराउनुपर्नेमा जोड दिनुभएको थियो । विदेश विभाग प्रमुख चौथाइवालेले उपसभापति निधिले उठाउनुभएका विषयलाई आफूले सकारात्मकरुपमा लिएको बताउनुभएको थियो ।
प्रतिक्रिया