एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ ः अध्यक्ष यादव

एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ ः अध्यक्ष यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताउनुभएको छ । विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धन दलहरुबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने जानकारी दिनुभयो ।

अध्यक्ष यादवले सार्वभौम संसद् अन्त्य गरेर अध्यादेश ल्याउने कार्य गलत एवं घातक भएको उल्लेख गर्दै यस्तो कार्यले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने बताउनुभयो । वर्तमान संविधानमा रहेका त्रुटिलाई सच्याउन जनमत तयार रहेको बताउँदै उहाँले राजनीतिक दलहरुबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गरिने धारणा व्यक्त गर्नुभयो । पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा अध्यक्ष यादवले महन्थ ठाकुर नेतृत्वको दल वर्तमान गठबन्धनमा नरहेकाले सरकारमा सहभागी हुन नसक्ने दाबी गर्नुभयो । उहाँले प्रतिगमनको खतरा रहुञ्जेलसम्म वर्तमान लोकतान्त्रिक गठबन्धन रहने छ भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत एवं बलियो बनाउने कार्यमा आफ्नो दल सक्रिय रुपमा कार्य गर्ने बताउनुभयो ।


जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मोरङमा बिहीबार प्रेस मञ्च नेपाल मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा । तस्बिरः मनोज दाहाल÷रासस

अध्यक्ष यादवले संसद् जोगाउनका लागि पार्टी गठबन्धनमा सहभागी भएको स्पष्ट पार्दै यही गठबन्धनले आगामी निर्वाचन गराउने बताउनुभयो । उहाँले बहुदलीय व्यवस्थामा दल फुट्ने र जुटेन कार्य भइरहने चर्चा गर्दै सम्पूर्ण समाजवादीको केन्द्रको रुपमा जनता समाजवादी पार्टी रहेको विचार व्यक्त गर्नुभयो ।

यो पनि – लोसपाको पहिलो कार्यकारिणी समिति बैठक बस्दै

पार्टीको आगामी रणनीति बनाउन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ः०० बजे बस्ने बैठकले आगामी कार्यनीति र रणनीतिबारे छलफल गर्ने सो पार्टीले जनाएको छ । निर्वाचन आयोगबाट बुधबार नयाँ दलको मान्यता पाएको सो पार्टीको पहिलो कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

मुलुकको समसामयिक परिस्थितिबारे पार्टीको धारणा तथा आगामी कार्यनीति र रणनीतिबारे बैठकले निचोड निकाल्ने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार परिवर्तित अवस्थामा पार्टीको भूमिका, आफूले उठाउँदै आएका माग तथा वर्तमान सरकारमा सहभागिता आदि विषयमा पनि बैठकमा छलफल हुनेछ । पार्टीले आफ्ना माग सम्बोधन हुने अवस्थामा सरकारमा सहभागिता जनाउन सकिने सङ्केत गरिसकेको छ ।

यस विषयमा औपचारिक धारणा आइसकेको छैन । महन्थ ठाकुरका अध्यक्षतामा स्थापना भएको पार्टीको ३१ सदस्यीय कार्यकारिणी समिति छ । सो पार्टीका वरिष्ठ नेताद्वयमा राजेन्द्र महतो र शरत्सिंह भण्डारी रहनुभएको छ । यसैबीच जसपाबाट विभाजन भई नयाँ गठन भएको लोसपा केन्द्रीय कार्यालय साविकबमोजिम बबरमहलमा रहने भएको छ ।