मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन

मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चाडपर्वका बेला अत्याधिक उपभोग हुने दैनिक उपभोग्य सामग्रीको अस्वभाविक मूल्यवृद्धि, कालोबजारी तथा जनस्वास्थ्यलाई खेलवाड गर्ने र गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गर्नेविरुद्ध कडा कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितमा आज बसेको समितिको बैठकले म्याद सकिएका अखाद्य वस्तु, पुनःमिति राखी बिक्री वितरण गर्नेलगायत गैर कानुनीकार्य नियन्त्रणका लागि अन्य सरकारी निकायको समन्वयमा बजार अनुगमन गर्न पनि आग्रह गरेको छ । यस्ता कार्यमा दोषी देखिएकालाई कारवाहीको दायरामा ल्याउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिका सभापति शशी श्रेष्ठले आवश्यक परे कानुन संशोधन गरेरै भए पनि कारवाहीको दायरामा ल्याउन भनेको जानकारी दिनुभयो ।बैठकले दार्चुला ब्यास गाउँपालिका–२ का तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको घटना प्रकरणमा समितिको गम्भीर ध्यानाकर्षण भएको र सत्यतथ्यसहितको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न पनि निर्देशन दिएको छ । समितिले पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

त्यस क्षेत्रको स्थानीय बासिन्दाको सुरक्षाका साथै पुल, मोटरबाटोलगायत आवश्यक पूर्वाधारको यथाशीघ्र निर्माण गर्न पनि निर्देशन दिएको सभापति श्रेष्ठले जानकारी दिनुभयो । समितिले दार्चुलादेखि तिङकरसम्मको सडक तत्काल निर्माण गर्न, तुइन विस्थापित गरी झोलुङ्गे तथा पक्की पुलको व्यवस्था गरी त्यहाँका बासिन्दालाई खाद्यान्न र औषधिको आवश्यक व्यवस्था गरी जनजीवन सामान्य बनाउन पनि सरकारलाई अनुरोध गरेको छ ।यस्तै कञ्चनपुरकी निर्मला पन्तको विसं २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा पनि सत्यतथ्य बाहिर नआउनु दुखद भएको उल्लेख गर्दै समितिले सत्यतथ्यका आधारमा घटनामा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ ।

बालिका तथा महिलामाथि हत्या, हिंसा र बलात्कारजस्ता घटना नियन्त्रण र अपराधीलाई समयमा कारवाही गर्न नसक्दा मानवताविरुद्धका घटना बढ्दै गएको सन्दर्भ जोड्दै समितिले त्यस्ता घटनाको नियन्त्रण र संलग्नलाई हदैसम्मको कारवाही गर्न आवश्यक व्यवस्था मिलाउन पनि गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

यो पनि – पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको आजको बैठकमा उहाँले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिनुभयो । “खोप लगाउने कार्य तीब्र जारी छ , दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ”, उहाँले भन्नुभयो । हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको उहाँले जानकारी दिनुभयो ।

“हालसम्म ४० लाख १३ हजार ८८० जना (१३ प्रतिशत)ले खोपको पूरा मात्रा लगाएका छन्”, उहाँले भन्नुभयो, “खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या १८ प्रतिशत तथा दोस्रो मात्रा लगाउनेको सङ्ख्या ३० प्रतिशते छ ।” वर्तमान सरकारले कोरोना विरुद्धका पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको सो अवसरमा उहाँले जानकारी दिनुभयो ।

सरकारले दुर्गम र विकट जिल्लालाई खोप लगाउनका लागि प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । “थोरै जनसङ्ख्या तथा उपचार गर्न कठिनाइ हुने हुँदा पहिला दुर्गम जिल्लाका बासिन्दालाई खोप लगाइसक्छौँ”, उहाँले भन्नुभयो । जापानले उपलब्ध गराएको पाँच लाखभन्दा बढी डोज खोप मौज्दात रहेकाले त्यसलाई विद्यार्थीका लागि छुट्टयाएर हाल लगाउने काम जारी रहेको राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयोे । उहाँका अनुसार काठमाडौ उपत्यकामा ६० हजार विद्यार्थीलाई लगाउने लक्ष्य मध्ये हालसम्म २३ हजारले लगाइसकेका छन् । प्रदेश १ र प्रदेश २ मा खोप पर्याप्त मात्रामा पठाइएको राज्यमन्त्री श्रेष्ठले बताउनुभयो । अन्य प्रदेशमा समेत खोप पठाउने कार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

विगतमा रकम तिरिसकेको १० लाख डोज खोप आपूर्ति गर्ने सम्बन्धमा यहाँस्थित भारतीय राजदूतसित छलफल भएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । “भारतबाट खोप चाँडै आपूर्ति हुन्छ, अब त्यसमा बिलम्ब हुँदैन्”, उहाँले भन्नुभयो । अठार वर्षभन्दा कम उमेर भएकाका लागि मोडर्ना र फाइजरको खोप आपूर्तिको पहल भइरहेको उहाँले बताउनुभयो । कक्षा १२ को परीक्षा यही भदौ अन्तिम वा असोज पहिलो साता गर्ने योजना रहेको उहाँको भनाइ थियो । “होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्ने योजना छ”, उहाँले भन्नुभयो ।

हाल काठमाडाँैँ उपत्यकामा १३५ खोप केन्द्रमार्फत खोप लगाउने कार्य भइरहेको उहाँले बताउनुभयो । शिक्षा र स्वास्थ्यमा जनशक्ति अभाव भएकाले काम समयमै गर्न नसकिएको भन्दै राज्यमन्त्री श्रेष्ठले चाँडै नै कर्मचारीको व्यवस्था गरी द्रुतगतिमा काम अघि बढाइने समितिलाई जानकारी गराउनुभयो । न्यून कर्मचारीका भरमा योजना बनाए अनुसारको काम गर्न नसकिएको उहाँको भनाइ थियो । प्रदेश अस्पताल र काठमाडौँ उपत्यकाका अस्पताललाई साधनस्रोत सम्पन्न बनाइने उहाँले बताउनुभयो । “स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको आवश्यकता छ”, उहाँले भन्नुभयो ।

समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्य अञ्जना विशङ्खे, विद्या भट्टराई, गिरिराजमणि पोखरेल, जीवनराम श्रेष्ठ, सरिता न्यौपाने, मानबहादुर विश्वकर्मालगायतले राज्यमन्त्री श्रेष्ठसँग कोरोनाविरुद्धको खोप सम्बन्धी विभिन्न जिज्ञासा राख्नुका साथै आ–आफ्नो सुझावसमेत दिनुभएको थियो । सभापति घर्तीले विद्यार्थीको जाँच समयमै गर्न तथा उनीहरुलाई चाँडोभन्दा चाँडो खोप लगाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।