काठमाडौँ, १० भदौ (रासस) : सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहमा अध्ययरत विद्यार्थीका लागि खोप उपलब्ध गराइएको जानकारी दिनुभयो ।
“अठार वर्ष वा सोभन्दा बढी उमेर समूहका सबै परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानबाट उपलब्ध गराइएको प्रवेशपत्रसहित तोकिएको खोप केन्द्रबाट खोप सेवा लिनहुन अनुरोध गरिन्छ”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । विद्यार्थीलाई खोप लगाउन आवश्यक सहयोग गर्न हुन शैक्षिक र स्वास्थ्य संस्थालाई अनुरोध गरिएको छ ।
यो पनि : चालिस दिनदेखि जुम्लाका चार किशोर सम्पर्कविहीन
कर्णाली, १० भदौ (रासस) : गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चार जना किशोर हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका छन् । तातोपानी गाउँपालिका– ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पद्मबहादुर रावत र रामबहादुर रावतका १६ वर्षीय छोरा भीमबहादुर रावत, मुनबहादुर रावतका १७ वर्षीय छोरा तुल रावत र देविभक्त रावतका १७ वर्षीय छोरा कालीबहादुर रावत ४० दिनदेखि सम्पर्कमा नआएको सोही गाउँका स्थानीय युवा राजु रावतले जानकारी दिनुभयो ।
“यहाँका प्रायः नागरिक मजदूरीका लागि भारतको हिमाञ्चल, उत्तर प्रदेशमा जान्छन्”, राजुले भन्नुभयो, “त्यही भएर भारतमा उपलब्ध हाम्रा आफन्त र चिनजानेका सबैसँग सम्पर्क ग¥र्यौं तर उनीहरु कतै पनि नपुगेको खबर आयो ।” गाउँलेहरुले उनीहरु कालापहाड गएको हुनसक्ने आशङ्का गरेको उहाँले बताउनुभयो ।
तुल रावतका बुबा गोविन्द रावतले लामो समयदेखि छोरा नआएकाले चिन्ताले सताएको दुखेसो गर्नुभयो । “साउने सङ्क्रान्तिको बेलुकादेखि मेरो छोरोसहित चारैजना सम्पर्कविहीन छन् । घरमा आउलान् भन्दाभन्दा त महिना दिन बित्यो”, गोविन्दले भन्नुभयो, “तर पनि उनीहरु अहिलेसम्म घर फर्केका छैनन् र कहाँ छन् भन्ने पनि पत्तो छैन ।” उनीहरु भारत कहिल्यै नगएकाले कहीँकतै बेचबिखनमा पर्ने हुन् कि भन्ने कुराले अभिभावकलाई चिन्तित बनाएको छ ।
अहिलेसम्म यो ठाउँमा छन् भन्ने अत्तोपत्तो नभएकाले उहाँले सञ्चारमाध्यमबाट खोजिदिन आग्रह गर्नुभयो । राजु रावतका अनुसार सम्पर्कविहीन चारै जना किशोर सुर्कीगाउँ अवस्थित दुर्गा मावि मधुमा कक्षा ८ र ९ मा अध्ययनरत थिए । कोरोना महामारीका कारण भएको बन्दाबन्दीले विद्यालय बन्द भएपछि पढ्न नपाएका उनीहरु कहाँ गए भन्ने कसैलाई सूचना छैन ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले यस विषयमा आज मात्र सामान्य जानकारी आएकाले सघनरुपले बुझेर खोज अनुसन्धानमा लाग्ने बताउनुभयो । प्रजिअ प्रसाईंले कालापहाड गएको भन्ने आशङ्का गरिएकाले यसबारे सबै तहका सरकारले चासो दिनुपर्ने जनाउनुभयो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले आफू कहाँ त्यसबारे कुनै जानकारी नआएको बताउनुभयो । प्रहरी नायब उपरीक्षक थापाले किशोरको उमेर १६÷१७ वर्ष पुगिसकेकाले उनीहरुलाई हराएको भन्न नमिल्ने तर्क गर्नुभयो । यद्यपि ती चारै जना किशोर ४० दिनदेखि अभिभावकको सम्पर्कमा छैनन् ।
प्रतिक्रिया