राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० भदौ (रासस) : नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज विज्ञप्ति जारी गर्दै नेपालले बन्द प्रशिक्षण कतारको दोहामा गर्ने जनाएको हो । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारीका लागि अभ्यास गर्न नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्नेछ । नेपाली टोलीले हाल कास्कीको पोखरामा अभ्यास गर्दै आएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २५ खेलाडीलाई प्रशिक्षण दिइरहनुभएको छ ।

कतार जानुअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालले भदौ १७ र भदौ २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्नेछ । साफ च्याम्पियनसिप आगामी असोज असोज १५ देखि असोज ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ । नेपालले आयोजक माल्दिभ्ससँग असोज १५ गते, दोस्रो खेल श्रीलङ्कासँग असोज १८ गते, तेस्रो खेल भारतसँग असोज २४ गते तथा लिग चरणको अन्तिम खेल बङ्गलादेशसँग असोज २७ गते खेल्ने तालिका रहेको एन्फाले जनाएको छ ।

नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्स सम्मिलित उक्त प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि असोज ३० गते भिड्ने छन् । हाल पोखरामा बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीमा किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ र आशिष लामा हुनुहुन्छ ।

यो पनि – एक नेपालीसहित १५ जना कामदार घाइते

वीरगञ्ज, १० भदौ (रासस) : पर्सा जिल्लाको पश्चिमी उत्तरी भेगमा पर्ने वीरगञ्ज महानगरपालिका–२२ मा रहेको सर्वोत्तम स्टिल प्रालिको भट्टी आज अपराह्न विस्फोट हुँदा एक नेपालीसहित १५ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक रहेको पर्सा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार उद्योगमा रहेको फलाम पगाल्ने भट्टीमा ग्यास चुहिँदा विस्फोट भई उद्योगमा भएको आगलागीमा परी एक नेपालीसहित १५ भारतीय नागरिक घाइते भएका छन्् ।

घाइते हुनेमा बारा जिल्ला छातापिपराका २२ वर्षीय टिङ्कु दास घाइते भएका छन् । अन्य घाइते भारतीय नागरिकमा भारत युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाह, २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानसा परिदा, ३० वर्षीय रामपुकार यादव, युपीकै ३८ वर्षीय चिङ्कु दास, १८ वर्षीय अमरनाथ सहनी, गगन नायक, खुशीनगरका ३५ वर्षीय धिरु सहनी, सिवानका ३० वर्षीय अरुण कुमार, बिहारका ५२ वर्षीय विनोद पाण्डे, २१ वर्षीय दीपक कुमार, दरभङ्गाका १८ वर्षीय रविकुमार दास, छपराका २२ वर्षीय अवधेशकुमार यादव र २२ वर्षीय निकुकुमार यादव रहेका छन् ।

घाइतेमध्ये रामपुकार यादव, टिङ्कु दास, विनोद पाण्डे, सन्तोष कुशवाह, गगन नायक, मानसा परिदा र सुशील कुमारको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

गम्भीर घाइते भएकाको टाउको र शरीरको अधिकांश भाग जलेको र वीरगञ्जको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाको वारुणयन्त्र, वडाप्रहरी कार्यालय श्रीपुर, जिल्ला प्रहरी कार्यालयका प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको प्रयासमा आगो निभाइएको थियो । सो आगलागीबाट उद्योगमा के–कति क्षति भयो भन्नेबारे यकिन विवरण आउन नसकेको पर्सा प्रहरीले जनाएको छ ।