गण्डकी, १० भदौ (रासस) : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थपिएका कोरोना सङ्क्रमितको दोब्बर सङ्ख्यामा निको भएका छन् । यस अवधिमा ३२८ सङ्क्रमित थपिएका छन् भने त्यसको दोब्बर ६५६ जना निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । मृत्यु हुनेमा कास्कीका छ, तनहुँ, पर्वत र म्याग्दीका एक÷एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २६८ जना पुगेको छ ।
गण्डकीका मन्त्रीद्वय कोरोनामुक्त
गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापा र कृषि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढामगर कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । विगत १५ दिनदेखि होम आइसोलेशनमा रहनुभएका मन्त्रीद्वयको दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
सामान्य रुघाखोकी र ज्वरो देखिएपछि उपचार गर्न जाँदा दुई हप्ताअघि उहाँहरूको स्वाब सङ्कलन गरिएको थियो । स्वाब परीक्षण गर्दा उहाँहरूमा सङ्क्रमण पुष्टि भएको थियो । कोरोनामुक्त भएसँगै उहाँहरू मन्त्रालयको नियमित काममा फर्कनुभएको प्रमुख स्वकीय सचिव क्रमशः लोकेन्द्र थापा र प्रेम रोकामगरले जानकारी दिनुभयो ।
यो पनि – टुहुरेको निधनमा माओवादी अध्यक्षद्वारा शोक व्यक्त
काठमाडौँ, १० भदौ (रासस) : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कम्युनिस्ट आन्दोलनका एक अग्रणी योद्धा जेबी टुहरेको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।
अध्यक्ष दाहालले आज शोक वक्तव्य प्रकाशित गर्दै झण्डै आधा शताब्दिभन्दा बढी समय नेपाली जनवादी गीत, सङ्गीतमार्फत जनताको मुक्ति, स्वतन्त्रता र परिवर्तनको शङ्खनाद गर्ने जनगायक टुहरेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
संविधानसभा सदस्य एवं माओवादी केन्द्रका सल्लाहकारसमेत रहनुभएका टुहुरेको आज उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको हो । अध्यक्ष दाहालले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको अभियानमा टुहरेले पु¥याउनुभएको विशिष्ठ योगदानको उच्च सम्मान गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
आजै उहाँको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । त्यसअघि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उहाँको शव अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो । माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र वर्षमान पुनलगायतले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनुभएको थियो । टुहरेलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेता तथा कार्यकर्ता, शुभेच्छुक पेरिसडाँडा पुग्नुभएको थियो । टुहुरेको ‘आमा दिदी बहिनी हो कति बस्छाँै दासी भई सुखको सधैँ प्यासी बनेर’लगायतका गीत लोकप्रिय छन् ।
प्रतिक्रिया