मेथिनकोट अस्पतालमा सुविधासम्पन्न आकस्मिक कक्ष

मेथिनकोट अस्पतालमा सुविधासम्पन्न आकस्मिक कक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, १० भदौ (रासस) : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मा रहेको प्रदेशस्तरको मेथिनकोट अस्पतालमा सुविधा सम्पन्न आकस्मिक कक्ष निर्माण गरिएको छ । बिरामीको चाप बढ्दै गएपछि सहजरुपमा सेवा पु¥याउने गरी आकस्मिक कक्ष निर्माण गरिएको अस्पतालले जनाएको छ ।

वाग्मती प्रदेश सरकारको १२ लाख २२ हजार ३९५ रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको आकस्मिक कक्षको आज नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले उद्घाटन गर्नुभयो । आकस्मिक कक्षको उद्घाटन गर्नुहुँदै नगर प्रमुख तिमल्सिनाले तत्कालीन समयमा क्षेत्र नं १ को क्षेत्रीय अस्पतालका रुपमा स्थापना गरिएको मेथिनकोट अस्पताललाई पछिल्लो समयमा प्रदेशस्तरीय अस्पताल बनाउन सफल भएदेखि नै त्यसलाई सेवा प्रवाहको काममा आवश्यक व्यवस्थापकीय सहयोग गर्दै आएको बताउनुभयो । सो अवसरमा उहाँले पछिल्लो समय अस्पतालमा सेवासुविधा थपिँदै गएको र निकट भविष्यमा नै १०० श्याको अस्पतालका रुपमा विकास गर्न काम शुरु भइसकेको बताउनुभयो ।

सो अवसरमा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्नुहुँदै उहाँले मेथिनकोट अस्पताल प्रादेशिक अस्पताल बनेसँगै यसले नमोबुद्ध नगरपालिकासँगै छिमेकी गाउँपालिका तथा छिमेकी जिल्लाका बिरामीलेसमेत सहजरुपमा स्वास्थ्य उपचार सेवा पाउने अवस्था सिर्जना भएको बताउनुभयो ।

अस्पतालका अध्यक्ष कृष्ण खनालले सबैको साथ र सहयोगबाट नै अस्पतालको स्तरोन्नति भएको बताउँदै सेवा सुविधासमेत अझै प्रभावकारी बनाउँदै लैजाने उल्लेख गर्नुभयो । भौतिक पूर्वाधारका साथै आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन गर्न आफू निरन्तर लागिरहेको बताउँदै उहाँले अस्पतालमा चाँडै बर्थिङ सेन्टरसमेत छुट्टै स्थापनाको काम हुने बताउनुभयो ।

यो पनि – प्रदेश १ मा ६३७ मा कोरोना सङ्क्रमण

विराटनगर, १० भदौ (रासस) : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा एक हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र एक हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरीमा १०५, इलाममा १२, धनकुटामा आठ, भोजपुरमा चार, तेह्रथुम र उदयपुरमा तीन/तीन, पाँचथर, सोलुखुम्बु र सङ्खुवासभामा एक/एक र प्रदेशबाहिरका सात जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ५२८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २६३ महिला र २६५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट छ महिलासहित नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।