महोत्तरीका आधा दर्जन नदीमा बाढी

महोत्तरीका आधा दर्जन नदीमा बाढी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विगत दुई दिनदेखि महोत्तरी जिल्लामा मुसलधारे पानी परेपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । हिजो बिहानदेखिनै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् ।अविरल वर्षासँगै जिल्लाको सबै नदीमा बाढी आएको छ । जिल्लाका धेरैजसो गाउँठाउँमा बाढी पस्ने खतरा बढेको स्थानीयवासी बताउँछन् । नदीमा आएको बाढीपछि जिल्लाका नदी छेउछाउका दुई दर्जनभन्दा बढी गाउँठाउँका बासिन्दा त्रसित भएका छन् । उनीहरु बाढीको बेला हुनसक्ने क्षति विरुद्ध सतर्कता अपनाउन जुटेका छन् ।

वर्षायाममा महोत्तरीको धेरैजसो भाग डुबानमा पर्ने गरेको तथा बाढीले सयौँलाई विस्थापित बनाउँदै आएको कुरालाई मध्यनजर गर्दै स्थानीयवासीले नदीमा आएको बाढीलाई देखेर सुरक्षा व्यवस्थाको जोहो गर्न थालेका छन् । यता विभिन्न नदीमा आएको बाढीको खबरले जिल्लाका प्रशासन तथा सुरक्षा निकायसहित (जिल्ला दैवी प्रकोप उद्धार समिति)लगायत विभिन्न जिम्मेवार निकाय पनि सतर्क भएको जनाइएको छ ।

सरकारी कार्यालय जलमग्न

दुई दिनदेखिको अविरल वर्षाका कारण देशकै होचो सदरमुकाम जलेश्वरमा अवस्थित सरकारी कार्यालय जलमग्न हुँदा कामकाजमा समस्या भएको छ । स्थानीय सरकार भएसँगै जलेश्वरमा नयाँ सडक बनाउने नाउँमा मूल सडकसहित नगरभरिको सडक ३÷४ फिटसम्म खनेर शहर नै गहिरो बनाइदिएपछि वर्षाको पानी जमेर जिल्ला अदालत, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला शिक्षा समन्वय एकाइ, कृषि कार्यालय, पशु कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् ।

यो पनि – अब बागलुङमा मौसमसम्बन्धी सूचना दुई दिन अगावै

बागलुङमा पछिल्लो समय बाढीपहिरो र भूक्षयका घटना बढ्न थालेपछि मौसम विभागले जिल्लाको मौसम पूर्वानुमान जानकारी गराउन थालेको छ । बागलुङ नगरपालिकाका इञ्जिनीयर गौरव शर्माको समन्वयमा मौसम पूर्वानुमानले दुई÷दुई दिनका बिचमा जिल्लाको मौसमसम्बन्धी जानकारी पठाउँदै आएको छ ।

उहाँले विभिन्न फेसबुक पेजमार्फत मौसमका जानकारी नागरिकलाई जानकारी गराउँदै आउनुभएको छ । उहाँले उच्च जोखिममा मौसम पूर्वानुमान हुँदा वडा तहको विपद् समितिलाईसमेत जानकारी गराउँदै आएको बताउनुहुन्छ । पूर्व जानकारीले मानवीय तथा भौतिक क्षतिमा कमी ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । पछिल्लो एक महिनादेखि बागलुङ, ढोरपाटन, जैमिनी नगरपालिका र निसीखोला गाउँपालिकाको मौसमसम्बन्धी जानकारी विभागले दिँदै आएको र नागरिकलाई सूचना जारी गर्न फेसबुकमार्फत आफूले जानकारी दिँदै आएको इञ्जिनीयर शर्माको भनाइ छ । आजको मौसमी प्रभावका आधारमा आगामी दुई दिनसम्मको मौसमसम्बन्धी जानकारी उपलब्ध गराइने र मौसम विभागलेसमेत जोखिम तालिकाका अनुसार नागरिकलाई सचेत गराउँदै आएको छ ।

मौसम पूर्वानुमान महाशाखाले इञ्जिनीयर शर्मालाई आवश्यक तालिम प्रदान गरे पश्चात् मौसमसम्बन्धी जानकारी दिन थालेको हो । उहाँका अनुसार पछिल्लो समय जिल्लामा झरी पर्दा मात्रामा मानवीय तथा भौतिक क्षति पुग्ने भएकाले यसलाई कम गर्न पूर्व जानकारी दिन थालिएको हो ।“मौसमसम्बन्धी जानकारीले मानवीय तथा भौतिक क्षतिलाई कम गर्छ, तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिइन्छ, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर जस्ता ठूला सडकमा पहिरो खस्न सक्ने भएकाले पानी परेको अवस्थामा सकभर यात्रा नगर्न सुझाव दिइन्छ” उहाँले भन्नुभयो,“आज जिल्लामा भएको मौसमका आधारमा दुई दिनको मौसमी पूर्वानुमान गर्न सकिने प्रविधिका कारण जिल्लामा केही समययता सूचना दिन थालिएको छ, ठूला बाढीपहिरो आउन सक्ने विवरण भएमा वडा तहको विपद् समिति, प्रहरीलगायतलाई खबर गरी नागरिकलाई सचेत र सुरक्षित गर्न पहल र समन्वय गरिनेछ ।”

नगरपालिकाको विपद् व्यवस्थापन स्रोत व्यक्तिसमेत रहनुभएका उहाँले चार पालिकाको मौसमी अनुमानले जिल्लाभर काम गर्ने बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले चार पालिकालाई नै दुई दिन अगावै मौसमसम्बन्धी जानकारी दिँदै आएको छ । प्रभावमा आधारित मौसमी विवरणमा दुई दिनको अवधीमा मौसममा आएको प्रभावका कारण हुने अति न्यून, मध्यम र उच्च जोखिम देखाउने गरेको छ । जानकारीमा पानी पर्ने, नपर्ने, कम तथा बढी पर्ने, चट््याङको सम्भावनासमेत देखाउने गरेको छ । मौसमी विवरणमा सम्भावित घटना उल्लेख गरेकाले पूर्वानुमान प्रभावकारी बन्ने मौसम पूर्वानुमान महाखाको भनाइ छ । ढुङ्गा खस्न सक्ने, सडक अवरुद्ध हुनसक्ने, खहरेखोला बढेर क्षति गर्न सक्ने, विद्युतीय पोल ढल्न सक्ने, विद्युत् तथा इन्टरनेट अवरुद्ध हुनसक्ने, मध्यपहाडी र करिडोर अवरुद्ध हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिने जनाइएको छ ।

यो पनि – बागलुङको भदौरे जात्रा स्थगित

स्थिति सहज भइदिएको भए यो बेला बागलुङ बजारमा भदौरे जात्राको रौनक चलेको हुनेथियो । रैथाने नेवार आफ्नो पुस्तैनी परम्परामा रमाइरहेका हुन्थे । संस्कृतिप्रेमी सबैका लागि यो याम जात्रामय बन्थ्यो । अहिले परिस्थिति त्यस्तो छैन । भदौरे जात्राका लागि कोरोना महामारी बाधक बनेको छ । सङ्क्रमणको जोखिम घटाउन जारी निषेधाज्ञाका कारण नेवार समुदायमा प्रचलित जात्रा, नाच स्थगन गरिएको छ ।

भदौरे जात्रा अन्तर्गत यहाँ लाखे, बास्सा, रोपाइँ, जोगी, होवा, कटुवाललगायतका नाच तथा झाँकी निकाल्ने गरिन्थ्यो । भीडभाडजन्य क्रियाकलापमा बन्देज लगाइएका कारण भदौरे जात्रा रोक्नुपरेको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले बताउनुभयो ।“कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको र निषेधाज्ञा पनि कडा प्रकृतिको भएका कारण यसपाली जात्रा रोक्ने निर्णय ग¥र्यौँ”, उहाँले भन्नुभयो । गत वर्ष पनि अन्तिम समयमा आएर समाजले भदौरे नाच स्थगन गरेको थियो ।
भदौरे नाचले पर्वमय माहोलको छनक दिने गरेकोमा जात्रा रोकिँदा अहिलेका चाडबार्ड पनि यसै निराश छन् । खास उत्साह र रमझम छैन । नेवार समुदायका कलाकारले बर्सेनि जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे नाच प्रदर्शन गर्थे । लाखे नाच त घण्टाकर्ण पर्वदेखि तीजसम्मै देखाउने चलन थियो ।

घण्टाकर्ण र गाईजात्रा भने सुरक्षा सावधानीसहित मनाइएको नेपाल भाषा मंकाः खलः बागलुङका सदस्य जयराम भारीले बताउनुभयो । गाईजात्राका दिन दिवङ्गत आफन्तको स्मृतिमा तायामचाः निकाल्नै पर्ने भएकाले न्यून उपस्थितिमा उक्त संस्कारलाई निरन्तरता दिइएको उहाँको भनाइ छ ।“परम्परा जोगाउने मात्र काम भयो, गाईजात्रा पहिलेझैँ भव्य भएन”, सदस्य भारीले भन्नुभयो, “दिउँसोमा पनि तायामचाः नाच देखाउने प्रचलन रहेपनि कोरोना सङ्क्रमणको जोखिमका कारण यसवर्ष बिहान मात्रै निकालिएको थियो । समाज र खलः मिलेर नेवार समुदायको साँस्कृतिक परम्परालाई जोगाउँदै आएका छन् ।”

तीन सय वर्षअघि बसाइँसराइ गरी आउँदा ल्याएको जात्राको परम्परालाई यहाँका नेवारहरुले जीवित राखेका छन् । भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रुपमा भदौरे जात्रालाई लिने गरिएको संस्कृतिकर्मी प्रेम छोटाले बताउनुभयो ।भक्तपुर, धुलिखेल र भादगाउँबाट भित्रिएका नेवार जातिले बागलुङमा भदोरै जात्राको प्रचलन बसालेको उहाँको भनाइ छ । जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन गर्ने गरिन्छ । जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग, पौराणीक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने संस्कृतिकर्मी छोटाले उल्लेख गर्नुभयो ।

पहिलेपहिले भदौरे नाच हेर्नकै लागि गाउँगाउँबाट मानिस बागलुङ बजार झर्थे । दिनभर जात्रामा रमाउने र चाडबार्डलाई किनमेल गरेर साँझपख घर फर्कने गर्थे । पछिल्लो समय भदौरे जात्राको रौनक घट्दै गए पनि नेवार परम्परा र संस्कृति जोगाउन जेनतेन लागिपरेका छन् ।नेवार समुदायको बसोबास रहेको गलकोटलगायतका ठाउँमा पनि जात्रा निकाल्ने चलन छ । संरक्षण अभावमा कतिपय नाच भने हराएको नेवार अगुवा बताउँछन् । लाखे नाच्ने कलाकार पाउनै गाह्रो हुन थालेको उनीहरुको दुःखेसो छ । यसै त परम्परा धान्न मुस्किल भइरहेका बेला कोरोना महामारीले थप प्रतिकूलता निम्त्याएको छ ।चलिआएको रीतिथिति धान्न पनि धौधौको स्थिति छ । कोरोना सङ्क्रमण दर बढेसँगै गत साउन २८ गतेदेखि यहाँ कडा प्रावधानसहितको निषेधाज्ञा छ । अत्यावश्यक बाहेकका सबै सेवा ठप्प छन् ।