काठमाडौँ, ११ भदौ (रासस) : नेपाली काँग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्ने भएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बसेको संस्थापन इतर समूहको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै काँग्रेस नेता डा मीनेन्द्र रिजालले महाधिवेशनका लागि देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवासँग आजै छलफल गर्ने जानकारी दिनुभयो ।
“अधिवेशन प्रक्रियामा केही व्यावहारिक कठिनाइ आएका छन्, उक्त कठिनाइलाई समाधान गर्नुपर्छ, जिल्ला सभापतिले राखेका मागलाईसमेत नेतृत्वले गम्भीररुपमा लिनुपर्छ”, उहाँले भन्नुभयो । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री सिंह, नेताहरु डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा शेखर कोइराला, डा रिजाललगायत उपस्थित हुनुहुन्थ्यो ।
यो पनि – अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा
चौतारा, ११ भदौ (रासस) : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रबाट निर्माणाधीन सो आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको अपर बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेश कसजुले जानकारी दिनुभयो । आयोजनाबाट उत्पादित विद्युत् दशैँअगावै परीक्षण गर्ने तयारीमा रहेको उहाँको भनाइ छ । सुरुङ निर्माणको काम एक वर्ष पहिले नै सम्पन्न भइसकेको बताइएको छ ।
जुगल गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजिक बाँध बाधी चार हजार ५०० मिटर (४५००) सुरुङबाट वडा नं २ को बैकुण्ठेमा निर्माण गरिएको विद्युत्गृहमा पानी खसालिने छ । आयोजनाबाट उत्पादित विद्युत् २२ किलोमिटर प्रसारण लाइनबाट लामोसाँधुस्थित सव–स्टेशनमा आबद्ध गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
विसं २०७२ मा सुरु गरिएको सो अयोजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि बाढी पहिरो तथा कोभिड–१९ सङ्क्रमणजस्ता प्राकृतिक प्रकोपका कारण समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया