गण्डकी, ११ भदौ (रासस) : गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रशासनिक, राजनीतिक र सामाजिक क्षेत्रमा महिलाको भूमिका महत्वपूर्ण बन्दै गएको बताउनुभएको छ । ‘जेसिज सप्ताह २०२१’ समापन समारोहमा आज उहाँले सामाजिक सेवामा समर्पित लेडी जेसिजले महिला वर्गको नेतृत्व विकाससँगै सशक्तीकरणतर्पm लक्षित हुनुपर्ने बताउनुभयो । सामाजिक सेवा एवं विकास निर्माणमा लेडिज जेसिजलगायतका विभिन्न सङ्घसंस्थासँग हातेमालो गरेर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले महिला समाजमा देखिएका विकृति–विसङ्गतिविरुद्धमा सशक्तरुपमा आवाज उठाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जेसिज सप्ताहअन्तर्गत प्रभावकारी भाषण कला तालिम, विद्यालयस्तरीय वक्तृत्वकला, अस्पतालका बिरामी कुरुवालाई कुर्ची तथा अन्य सामग्री वितरण, सकारात्मक सोच एवं जीवन परिवर्तन तालिम, मठमन्दिरमा आवश्यक सामग्री वितरणलगायत कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक लक्ष्मी कुँवर (लता) ले जानकारी दिनुभयो । महिलाको व्यक्तित्व एवं नेतृत्व विकासमा अग्रसर बनाउने लक्ष्यका साथ २०४६ साल असार ५ गते जेसीआई पोखरा लेडीको स्थापना गरिएको उहाँको भनाइ छ ।
यो पनि : नदीमा फसेका दाइ र बहिनीको उद्धार
कैलाली, ११ भदौ (रासस) : नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । शिवगङ्गा नदी र झिलखोला बीच भागमा फसेका गौरीगङ्गा नगरपालिका – ३ कुचैनीका राजाराम सापकोटा र उनकी बहिनी आरतीको गए राति उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । घाँस काट्न गएका दुवैलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको थियो ।
यो पनि : ढोलठानामा सोह्रौँ शताब्दीका सामग्री भेटिए
–सन्तोष गौतम, म्याग्दी, ११ भदौ (रासस) : म्याग्दीको बेनी नगरपालिका–९ र ५ को सिमानामा पर्ने तत्कालीन पर्वत राज्यको राजधानी ढोलठानामा सोह्रौँ शताब्दीका ऐतिहासिक सामग्री भेटिएका छन् । ढोलठानामा पार्क (उद्यान) निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने क्रममा जमिनभित्र मल्लकालिन सामग्रीहरु भेटिएका हुन् । ढोलठाना समेटिएको निलबराह सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष सागर बानियाले पार्क निर्माणका क्रममा भेटिएका प्राचीन सामग्री सुरक्षित रुपमा राखिएको बताउनुभयो ।
तत्कालीन दरबार निर्माणमा प्रयोग भएका काठ, चट्नी र नुन पिस्ने सिलौटो, झिङगटी, घरका पिल्लर, इटाहरु भेटिएका उहाँले जानकारी दिनुभयो । “जमिनको सतह भित्र तत्कालीन मल्ल राजाका पालाका पुरातात्विक महत्वका सामग्री छन्”, उहाँले भन्नुभयो, “भेटिएका सामग्रीलाई सुरक्षित रुपमा राखेका छौ । त्यसको सुरक्षा र संरक्षणका लागि वडा, नगरपालिकालाई अनुरोध गरेका छौ ।”
राजबम मल्लको समयमा विसं १६३१ देखि राजाहरु हिउँदका चार महिना बेनी र अरू आठ महिना ढोलठानामा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहास छ । पर्वत राज्य नेपालमा विलय भएको विसं १८४३ सम्म ढोलठानामा सो राज्यको राजधानीका रुपमा रहेको थियो । नेपाल एकिकरणपछि दरबार भत्किएकाले त्यहाँभित्र रहेका सामग्रीहरु भग्नावशेषमा परिणत भएका छन् ।
डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा ढोलठानामा सार्वजनिक शौचालय, पदमार्ग र बगँैचा निर्माण गरेर पार्क बनाइएको छ । पार्क बनाउन वन डिभिजन कार्यालयले गत आवमा रु पाँच लाख बजेट विनियोजन गरेको थियो ।
यसैगरी बेनी नगरपालिकाले ढोलठाना पुग्ने सडक स्तरोन्नति, पदमार्ग र प्रतीक्षालय निर्माण गरेको छ । चमचा डिलदेखि ढोलठानासम्म दुई सय मिटर ढुङ्गाको सिँढी चिनेर नयाँ पदमार्ग र प्रतीक्षालय निर्माण गरेको वडाध्यक्ष बेलबहादुर चोखालले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा ढोलठाना जोड्ने सडक स्तरोन्नतिमा रु नौ लाख, पदमार्ग निर्माण लागि रु चार लाख र प्रतीक्षालय बनाउन रु दुई लाख बजेट खर्च भएको छ । समुन्द्री सतहदेखि एक हजार सात सय मिटर उचाइमा अवस्थित ढोलठाना पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ ।
पुरातात्विक सम्पदाको साथै धवलागिरि, अन्नपूर्ण, निलगिरि लगायत दर्जनौ हिमाल, सुर्योदयको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । नागबेली परेर बगेको म्याग्दी नदीको साथै पर्वत र बागलुङका बजार तथा बस्ती अवलोकन गर्न पाउनु ढोलठानाको थप विशेषता हो ।
प्रतिक्रिया