काठमाडौँ, ११ भदौ (रासस) : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्त ठाकुरले आफ्ना माग सम्बोधनको वातावरण बनेमा सरकारसँग सहकार्य हुने सङ्केत गर्नुभएको छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयको उद्घाटन तथा झण्डोत्तोलनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने विषयमा अहिले औपचारिक छलफल नभएको र सरकारले पनि कुनै प्रस्ताव नपठाएको बताउनुभयो ।
अध्यक्ष ठाकुरले पार्टी दर्ता नै भर्खर भएकाले सरकारमा सहभागीताका विषयमा छलफलपछि निर्णय गरिने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पार्टी भर्खर दर्ता भएको छ । सरकारले बोलाएर सोध्छ, अनि कुरा राख्छौँ, त्यसपछि सरकारमा जाने या नजाने कुरा आउछ ।”
लोसपाका कार्यकारिणी सदस्य केशव झाले अध्यक्ष ठाकुरको भनाइ उद्धृत गर्दै माग सम्बोधन हुने अवस्था भए र प्रधानमन्त्री देउवाले सरकारमा सहभागिताका लागि प्रस्ताव गरेको खण्डमा छलफल गरेर निर्णय गरिने बताउनुभएको छ । चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरिनसकेको स्पष्ट पार्दै अध्यक्ष ठाकुरले आफूहरु सत्तारुढ गठबन्धनमा नभएकाले चुनाव घोषणा भएपछि त्यस विषयमा पनि विचार गरिने धारणा राख्नुभयो । निर्वाचन आयोगबाट यही बुधबार नयाँ दलको मान्यता पाएको सो पार्टीले औपचारिकरुपमा कार्यालय शुरु गरेको हो ।
पार्टी कार्यालय उद्घाटन तथा झण्डोत्तोलनमा लोसपाका अध्यक्षसहित वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरत्सिंह भण्डारीलगायत कार्यकारिणी समितिका सदस्य तथा नेता कार्यकर्ताको उपस्थिति थियो । यसअघि उक्त कार्यालय राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) स्थापनाताका सञ्चालनमा थियो । यसैबीच बदलिदो परिस्थितिमा समसामयिक विषयमा पार्टीको धारणा बनाउन लोेसपाको कार्यकारिणी समितिको बैठक शनिबार बस्दैछ ।
यो पनि – बाढी÷पहिरो : जेठ ३१ यता ८५ को मृत्यु, ४४ वेपत्ता
काठमाडौँ, ११ भदौ (रासस) : मनसुन शुरु भएयता (गत जेठ ३१ पछि) मुलुकभर मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु भएको छ । उक्त घटनामा परी अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म पाँच हजार ५०० भन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिनुभयो ।
गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापनसम्बन्धीे बैठकमा विवरण सार्वजनिक गर्दै उहाँले अहिलेसम्म विपद्बाट ७० जिल्ला प्रभावित भएको जानकारी दिनुभयो ।
आजमात्रै बाढीबाट ४०० जना प्रभावित भएको र उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । आज तीनको मृत्यु र तीन जना वेपत्ता भएका छन् । त्यस्तै १९ घरमा क्षति भएको जनाइएको छ । बाढी पहिराले क्षति पुर्याएको ३८ जिल्लामा पुनःनिर्माण गर्न रु एक अर्ब ११ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।
महाशाखा प्रमुख पाण्डेले बाढी पहिराका कारण आज साना ठुला गरेर २९ सडक अवरुद्ध भएको जानकारी दिनुभयो । केही खुलेका र केही खुल्न बाँकी रहेका छन् । प्राप्त विवरणअनुसार यसपालिको वर्षाका कारण कैलाली, नवलपरासी, कञ्चनपुर, कैलाली, दाङ, रौतहट, रुपन्देही, महोत्तरी, कपिलवस्तु, चितवन, खोटाङ, सिन्धुली, बाजुरालगायत जिल्ला प्रभावित भएको गृहमन्त्रालयले जनाएको छ ।
वेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री खाँणले पछिल्लो समय देशभर आएको बाढी, पहिराका कारण बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार तथा राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । बाढीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्ड, तुरिया र घोडाहा खोलामा रहेको दुई पुल भत्किएको तथा सडक अवरुद्ध भएको र त्यस स्थानमा तत्काल वेलिवृज बनाउन निर्देशन दिनुभएको छ ।
बाढी प्रभावित ४०० परिवारलाई सुरक्षित स्थानमा राख्न र तत्काल राहत तथा उपचारको ब्यवस्था मिलाउन पनि उहाँले निर्देशन दिनुभयो । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न पनि उहाँले सबै सुरक्षा निकाय तथा मातहतका सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभयो । अवरुद्ध राजमार्गमा सवारी साधन सञ्चालनका लागि वैकल्पिक उपाय अपनाउन पनि उहाँले आग्रह गर्नुभएको छ । आजको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, सडक विभाग, जल तथा मौसम विज्ञान विभागका अधिकारीको सहभागिता थियो ।
प्रतिक्रिया