मन्त्रालयले भन्यो, ‘म्याद सकिएको खोप लगाएका छैनौँ’

मन्त्रालयले भन्यो, ‘म्याद सकिएको खोप लगाएका छैनौँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ भदौ (रासस) : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ । मन्त्रालयले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाह फैलिएका प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै म्याद सकिएको खोपको प्रयोग नगरिएको स्पष्ट पारेको हो । मन्त्रालयले खोपको म्यादबारेको अफवाहको पछि नलागी ढुक्क भएर खोप लगाउन सबैलाई अनुरोधसमेत गरेको छ ।

नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ । “कोरोना भाइरसविरुद्धको खोपको म्यादका सम्बन्धमा मन्त्रालय सचेत रहेको र म्याद सकिनुअघि नै सबै खोप प्रयोगमा ल्याइसक्ने कुराको प्रत्याभूत गराउन चाहन्छौ,” सूचनामा भनिएको छ । अहिलेसम्म ५० लाख ६३ हजार ५२२ जनाले पहिलो मात्राको खोप र ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण मात्राको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

यो पनि – वासुदेव विद्यादेव लुइँटेल गुठीद्वारा शाह र केसी पुरस्कृत

काठमाडौँ, ११ भदौ (रासस) : नेपाली हास्यव्यङ्ग्य क्षेत्रका प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारहरू आज राजधानीमा वितरण गरिएको छ । जसअनुसार २०७६ सालको हास्यव्यङ्ग्य चित्रतर्फको पुरस्कार वरिष्ठ कलाकार शशी शाहलाई प्रदान गरियो भने २०७७ सालको हास्यव्यङ्ग्य अभिनयतर्फको पुरस्कार किरण केसी (राता मकै) लाई प्रदान गरियो ।

यी दुवै पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ । वरिष्ठ साहित्यकार रोचक घिमिरेले वासुदेव विद्यादेव लुइँटेल गुठीका पदाधिकारीहरूको उपस्थितिमा शाह र केसीलाई पुरस्कार प्रदान गर्नुभएको हो । कार्यक्रममा घिमिरेले पुरस्कृत कलाकार शाहको नेपाली आधुनिक कलासँगसँगै हास्यव्यङ्ग्य चित्रकलामा पनि विशिष्ट योगदान रहेको बताउनुभयो ।

पुरस्कृत अर्का स्रष्टा किरण केसीको हास्यव्यङ्ग्य अभिनय जीवन्त रहेको उहाँले बताउनुभयो । यसैबीच पुरस्कृत स्रष्टा केसीले पुरस्कारस्वरुप आफूले पाएको रकममध्ये ९० प्रतिशत समाजसेवामा खर्चने जानकारी दिनुभयो । सोही अवसरमा गुठीका अध्यक्षसमेत रहनु भएकी स्व लुइँटेलकी पुत्री डाक्टर सुषमा आचार्यका कृति ‘कस्ले सुन्छ मेरो आवाज’ (उपन्यास) र त्यसको अङ्ग्रेजी अनुवाद ‘हु विल हियर माई भ्वाइस’ को वरिष्ठ साहित्यकार घिमिरे र पुरस्कृत स्रष्टाद्वयले विमोचन गर्नुभयो ।

गुठीका सचिव प्राध्यापक डाक्टर विद्यादेव शर्माले शाह र केसी जस्ता उच्च कोटीका प्रतिभालाई पुरस्कृत गर्न पाउँदा गुठी गौरवान्वित भएको बताउनुभयो । कोरोना महामारीका कारण समयमा दिन नसकिएका यी दुई पुरस्कार आज प्रदान गरिएको हो ।