मोरङ, ११ भदौ (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले आज साँझ मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । थप हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरणमा लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ हुनुहन्छ ।
प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्री आचार्यको सिफारिसमा संविधानको धारा १६८ को उपधारा(९) बमोजिम मन्त्रिपरिषद् विस्तार र कार्य विभाजन गर्नुभएको हो । प्रदेश प्रमुख अधिकारीले नव नियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनुभयो ।
यो पनि – देशका विभिन्न स्थानमा पहिरो तथा बाढीबाट क्षति
वाग्मती, ११ भदौ (रासस) : देशका विभिन्न स्थानमा लगातारको पहिरो तथा बाढीबाट विभिन्न धनमाल नष्ट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कहाँ कति क्षति ?
ताप्लेजुङ– आठराई त्रिवेणी गाउँपालिका–१ ढाडेस्थित श्री सिंहदेवी आधारभूत विद्यालयमा शुक्रबार बिहान पहिरो जाँदा करिब रु १५ लाख बराबरको विभिन्न धनमाल नष्ट भएको छ । कैलाली– चुरे गाउँपालिका–५ काफलगैरा टोलको जमिन भासिँदा २५ घरपरिवार जोखिममा परेका छन् । यस्तै जानकी गाउँपालिका–४का गिर्धरपुर, टावरटोल र वेलपुरका गरी जम्मा ८० घरधुरी र सोहीगाउँपालिका–७ का जवलपुर, शङ्करपुर र फरैलाका गरी जम्मा ५८ घरधुरी अविरल वर्षाका कारण आएको बाढीले डुबानमा परेका छन् । डुबान भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टीकापुरबाट आवश्यक समन्वय एवं उद्धार कार्य भइरहेको छ ।
नवलपरासी (पश्चिम)– तुरिया खोला र झरै खोलामा शुक्रबार आएको बाढीले परासी बजारलगायतका बस्ती तथा सरकारी कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपरासी डुबानमा परेका छन् । रुपन्देही– अविरल वर्षाले शुक्रबार आएको बाढीले तिलोत्तमा नगरपालिका–१४ भुडकेपानीमा तीन घर, ओमसतिया गाउँपालिका–१ कोटागाउँमा एक घर, बुटवल उपमहानगरपालिका–१२ सिर्जना टोल बस्ने हरि ढकालको एक घर र कञ्चनगाउँपालिका–३ स्थित १० घरमा क्षति भएको छ ।
यस्तै देवदह नगरपालिका–३ वसन्तपुरस्थित तिलोत्तमा नगरपालिका–८ बस्ने अमृत थापाको यसकेसी बाख्राफार्म रोहिणी खोलामा आएको बाढीले डुबाउँदा ४३ वटा ब्राखा मरेका छन् । कञ्चनपुर–अविरल वर्षाका कारण कृष्णपुर नगरपालिका–५ पवित्रा बस्तीस्थित मोहना नदीमा आएको बाढीले १० घर डुबानमा परेका छन् । यसैगरी सोही नगरपालिका–५ बेलकुण्डी सिविरस्थित मछली नदीमा आएको बाढीले १२ घर डुबान परेका छन् भने सोही नगरपालिका–२ बस्ने यज्ञराज पन्तको महारुद्र भुसा इँटा उद्योगको रु पाँच लाख ४० हजार बराबरको चार कठ्ठा जमिन कटान गरेको छ ।
महोत्तरी– बलवान गरपालिका–४ तिरधरस्थित रातु खोलामा आएको बाढीले बाँध फुटाई सोही ठाउँस्थित बस्तीमा पस्दा करिब ९०० घरमा क्षति पुगेको छ । पहिरो तथा बाढीबाट प्रभावित क्षेत्रमा नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा उद्धारकार्य गरिरहेको छ ।
यो पनि – गर्भीणी गाई मारेको आरोपमा एक पक्राउ
बझाङ, भदौ ११ (रासस) : गाई मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक जनालाई पक्राउ गरेको छ । गाई मारेको सुराक पाएपछि अस्थायी प्रहरी पोष्ट पाटादेवल र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले जिल्लाको खप्तडछान्ना गाँउपालिका–५ का २८ वर्षीय जनक आग्रीलाई पक्राउ गरेको हो ।
आग्रीले खप्तडछान्ना–६ राजकोटका बलबहादुर सार्कीको गोठबाट गाई चोरेर लाने क्रममा गर्भीणी गाई बाटोमा हिँड्न नसकेपछि वडा नं ५ को छात्राबस्टी नजिकै रहेको पुलमा चिर्पटले हिर्काएर मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका आग्रीमाथि यही भदौ ८ गते गाई चोरी गरी र मारेको अभियोगमा भदौ ११ गते मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो ।
पक्राउ परेका आग्रीमाथिको अभियोग प्रमाणित भएमा चोरी गरेको आरोपमा दुईदेखि सातवर्ष कैद वा रु २० हजारदेखि ७० हजार जरिवाना र गाई मारेको अभियोगमा तीन वर्ष कैद सजाय हुने व्यवस्था रहेको छ ।
प्रतिक्रिया