आधा दर्जन बढी स्थानमा पहिरो खस्दा फिदिम–फालोट सडक अवरुद्ध

आधा दर्जन बढी स्थानमा पहिरो खस्दा फिदिम–फालोट सडक अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि उत्तरी फालेलुङ गाउँपालिकालाई जोड्ने फिदिम–फालोट सडक अवरुद्ध बनेको छ । निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा निर्माणाधीन सडकमा पहिरो झरेको छ भने एक स्थानमा सडकको पूरा भाग नै बगेको छ । फिदिम–फालोट सडकअन्तर्गत फालेलुङ–८ आकाशे आसपासमा मात्रै तीन ठाउँमा पहिरो झरेको छ । यस स्थानमा १५ दिनयता सडक अवरुद्ध बनेको छ । “बाटो सफा ग¥यो, एकैछिनमा पहिरो खसेर पुर्छ”, वडा नं ७ का अध्यक्ष शेरबहादुर केरुङले भन्नुभयो, “पानी निरन्तर परिरहेकाले पहिरो झरिरहेको छ ।” केरुङका अनुसार वर्षा कम भएको अवस्थामा समेत सडक सञ्चालन गर्न अझै केही दिन लाग्छ ।

वडा नं ७ र ८ को बीचमा धेरै स्थानमा पहिरो झरेको छ । त्यसमध्ये लिखुरे र लोक्से भन्ने स्थानमा झरेको पहिरो पन्छाउन सके विहीदिनसम्म सवारी सञ्चालन हुन्छ । पहिरो झरेको लिखुरे र लोक्सेका बीचमा पाँच गाडी फसेर एक सातादेखि रोकिएका वडाध्यक्ष केरुङले जानकारी दिनुभयो । प्रशस्तै पानी भएको यस क्षेत्रमा सामान्य वर्षा हुनेबित्तिकै सडकमा भेल बग्ने गर्छ । यो सडक निर्माणाधीन अवस्थामा रहेकाले भित्तापट्टि कटान गरिएका अधिकांश स्थानमा पहिरो झरेको स्थानीयवासीको भनाइ छ ।

सडक अवरुद्ध भएको र निरन्तरको वर्षा भइरहेकाले गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुने अवस्था आउन लागेको वडाध्यक्ष केरुङको भनाइ छ । “पहिरो झरिरहेकाले पन्छाएर सडक सञ्चालन गर्न समस्या भएको छ”, उहाँले भन्नुभयो, “सामग्री खरिद गर्न र बिरामीलाई अस्पताल लैजान समस्या भएको छ ।”

यो पनि – बाढीले माछापोखरी र बङ्गुरको खोर बगाउँदा क्षति

अनौखी खोला र धारापानी नदीको बाढीले शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका शङ्कर साउदको माछापोखरी र बङ्गुरको खोर बगाएको छ । दुई दिनअघि आएको बाढीले माछापोखरी र बङ्गुरको खोर बगाउँदा रु आठ लाख बढीको क्षति भएको छ । खोरमा पालिएका बङ्गुर र माछापोखरीमा रहेका माछा बाढीले बगाएपछि क्षति व्यहोर्नु परेको साउदले बताउनुभयो । “ऋण निकालेर माछापालन र बङ्गुरपालनमा लागेको थिए”, उहाँले भन्नुभयो, “बाढीले बगाएर बिजोग पारेको छ ।” बाढीले विद्युत्का पोलसमेत बगाएका कारण दुई दिनदेखि बेलडाँडी गाउँमा विद्युत् सेवा अवरुद्ध रहेको स्थानीयवासी सुरत साउदले बताउनुभयो ।

विद्युत्का पोल बगेपछि २०० परिवार अँध्यारोमै बस्न बाध्य भएको उहाँले जानकारी दिनुभयो । मणिका धाम जाने सडकसमेत नदीले कटान गरी बगाएकाले स्थानीय बासिन्दाको आवतजावतमा समस्या भएको छ । चुरे क्षेत्रमा भएको बर्षाका कारण तराई क्षेत्र भएर बग्ने नदी तथा खोलामा बाढी आएको थियो ।

यो पनि – पहिराले अवरुद्ध बुडर–जोरायल सडक सञ्चालन

वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको बुडर–जोरायल सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जोरायल गाउँपालिका–२ बिछल खोलामा शुक्रबार बिहान पहिरो आउँदा उक्त क्षेत्रको सवारी आगमन पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिराले अवरुद्ध भएको सडक स्थानीयवासी, प्रहरी तथा स्काभेटरको सहायतामा आज बिहानदेखि सञ्चालन भएको अस्थायी ट्राफिक पोष्ट बुडरका प्रमुख हर्क साउदले जानकारी दिनुभयो । पहिराका कारण उक्त सडक खण्डका विभिन्न ठाउँमा आएका पहिरा पन्छाइएपछि त्यहाँको यातायात सञ्चालन भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।