मोहना नदी तर्दा बेपत्ता युवक अझै भेटिएनन

मोहना नदी तर्दा बेपत्ता युवक अझै भेटिएनन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली र कञ्चपुरको सीमा भएर बग्ने मोहना नदी तर्ने क्रममा बेपत्ता भएका एक युवक अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चनपुरबाट काम गरी घरतर्फ आउँदै गरेका धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय पुरन राना नदी तर्ने क्रममा शुक्रबार साँझ ६ बजे बगेर बेपत्ता भएका थिए । उनीसँगै आएका लक्षमण राना, सुशील राना भने नदी तर्न सफल भएको प्रहरीले जनाएको छ । बेपत्ता रानाको खोजीकार्य जारी रहेको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताउनुभयो । कैलालीको धनगढी उपमहानगर–३ र कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमा बाढीले क्षति पुगाएपछि आवागमन बन्द छ ।

यो पनि – बाढीले माछापोखरी र बङ्गुरको खोर बगाउँदा क्षति

अनौखी खोला र धारापानी नदीको बाढीले शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका शङ्कर साउदको माछापोखरी र बङ्गुरको खोर बगाएको छ । दुई दिनअघि आएको बाढीले माछापोखरी र बङ्गुरको खोर बगाउँदा रु आठ लाख बढीको क्षति भएको छ । खोरमा पालिएका बङ्गुर र माछापोखरीमा रहेका माछा बाढीले बगाएपछि क्षति व्यहोर्नु परेको साउदले बताउनुभयो । “ऋण निकालेर माछापालन र बङ्गुरपालनमा लागेको थिए”, उहाँले भन्नुभयो, “बाढीले बगाएर बिजोग पारेको छ ।” बाढीले विद्युत्का पोलसमेत बगाएका कारण दुई दिनदेखि बेलडाँडी गाउँमा विद्युत् सेवा अवरुद्ध रहेको स्थानीयवासी सुरत साउदले बताउनुभयो ।

विद्युत्का पोल बगेपछि २०० परिवार अँध्यारोमै बस्न बाध्य भएको उहाँले जानकारी दिनुभयो । मणिका धाम जाने सडकसमेत नदीले कटान गरी बगाएकाले स्थानीय बासिन्दाको आवतजावतमा समस्या भएको छ । चुरे क्षेत्रमा भएको बर्षाका कारण तराई क्षेत्र भएर बग्ने नदी तथा खोलामा बाढी आएको थियो ।

यो पनि – पहिराले अवरुद्ध बुडर–जोरायल सडक सञ्चालन

वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको बुडर–जोरायल सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जोरायल गाउँपालिका–२ बिछल खोलामा शुक्रबार बिहान पहिरो आउँदा उक्त क्षेत्रको सवारी आगमन पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिराले अवरुद्ध भएको सडक स्थानीयवासी, प्रहरी तथा स्काभेटरको सहायतामा आज बिहानदेखि सञ्चालन भएको अस्थायी ट्राफिक पोष्ट बुडरका प्रमुख हर्क साउदले जानकारी दिनुभयो । पहिराका कारण उक्त सडक खण्डका विभिन्न ठाउँमा आएका पहिरा पन्छाइएपछि त्यहाँको यातायात सञ्चालन भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।