नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले क्रियाशील सदस्यतासम्बन्धी विवाद अन्त्य भएसँगै पार्टीको १४औँ महाधिवेशन निर्धारित मितिमै हुने अब निश्चित भएको बताउनुभएको छ । सक्रिय सदस्यतासम्बन्धी विवादका कारण कांग्रेसको महाधिवेशन हुनेमा आशङ्का गरिएको भए पनि अब त्यो आशङ्काको अन्त्य भइसकेको उहाँको भनाइ थियो ।
कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेकी आमा यवादेवी शर्मा घिमिरेको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभामा डा महतले पार्टीको महाधिवेशनको तयारीमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले शुक्रबार शीर्षनेताबीच भएको छलफलले कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने सुनिश्चित गरिसकेको जानकारी दिनुभयो । डा महतले अघिल्लो ओली सरकारले निर्वाचनका बेलामा नेपाली जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसकेका कारण नेपाली जनताको इच्छाबमोजिम नै यो सरकार आएको स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेर पठाएको कम्युनिष्ट सरकार आफँै सत्ताको तानातानमा लागेको र जनअपेक्षाअनुसार काम गर्न नसकेपछि नेपाली नागरिकको चाहनाबमोजिम नै यो सरकार आएको हो ।” मुलुक निकै कठिन परिस्थितिमा रहेका बेला वर्तमान सरकार निर्माण भएकाले यो सरकारप्रतिका जनताका अपेक्षा धेरै रहेको भन्दै यी अपेक्षालाई सम्बोधन गर्ने गरी सरकारले संयमित भएर काम गर्ने उहाँले बताउनुभयो ।
यो पनि – थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक
सत्तारुढ दल नेपाली काङ्ग्रेसको निर्वाचन समितिले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरेको छ । पार्टीको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका नुवाकोट, धादिङ, चितवन,ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यको नामावली निर्वाचन समितिले सार्वजनिक गरेको हो । यसअघि समितिले ४८ जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरिसकेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइसकिएको छ ।
यो पनि – कांग्रेस अधिवेशनका विषयमा शीर्ष नेताबीच सहमति
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यताका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापतिका माग सम्बोधन गर्ने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता प्रकाशमान सिंहले जानकारी दिनुभएको छ ।
सभापति देउवासँग कुराकानी गरेपछि वरिष्ठ नेता पौडेल समूहले आज आफू निकट नेता र जिल्ला सभापतिहरुसँग कांग्रेस नेता सिंहको निवास चाक्सिबारीमा छलफल गरेको थियो । देशभरका छ हजार ७४३ वडामा एकै दिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले बैठकपछि जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला सभापतिहरूले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ । कांग्रेस केही जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न माग गर्दै भदौ ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनशन सुरु गर्नुभएको छ ।
कांग्रेसले बिहीबार र शुक्रबार गरी ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली सार्वनजनिक गर्नाका साथै अरू जिल्लाको पनि एक/दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी गरेको छ । बैठकमा एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरी जिल्ला सभापतिको उम्मेदवार बन्न पाइने, क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने विषयमा सहमति जुटेको उहाँले बताउनुभयो । शीर्ष नेताहरू आजै केन्द्रीय कार्यालय जाने र जिल्ला सभापतिको अनशन अन्त्य गर्ने सम्बन्धमा छलफल भए पनि आज शीर्ष नेताहरु नआउनुभएकाले सम्भवतः आइतबार अनशन अन्त्य हुने नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभयो ।
कांग्रेसकोे १४औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन यही भदौ १८, गाउँ/नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।
यो पनि -अधिवेशनको माहोल बनेकाले अनशन स्थगित गराउन छलफल
नेपाली काँग्रेसको संस्थापन इतर समूहले १४औँ महाधिवेशनका लागि निर्वाचनको वातावरण बन्दै गएकाले पार्टी कार्यालयमा केही दिनदेखि जारी अनशन स्थगित गराउन छलफल गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा आज इतर समूहका नेता र जिल्ला सभापतिबीच भएको भेटमा जिल्ला सभापतिका मागप्रति केन्द्रीय सभापति सकारात्मक भएकाले जारी अनशन स्थगित गराउनका लागि छलफल गरिएको होे ।
अधिवेशनपूर्व क्रियाशील सदस्यतको नामावली सार्वजनिक गर्नुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचनमा एकरुपता ल्याउन निर्वाचन निर्देशिका संशोधन गर्नुपर्नेलगायत मागप्रति केन्द्रीय सभापति सकारात्मक भएकाले रिले अनशन स्थगित गरेर निर्वाचनमा जानका लागि सुझाव दिइएको पार्टीका पूर्वमहामन्त्री सिंहले जानकारी दिनुभयो ।
“भदौ १८ मै देशभरका छ हजार ७४३ वडामा अधिवेशन सुरु गर्नु संवैधानिक बाध्यता भएकाले एकजुट भएर महाधिवेशनमा जानेबारे बैठकमा छलफल भएको छ”, उहाँले भन्नुभयो । विधि र नियमअनुसार नै निर्वाचनमा जाने माहोल बन्दै गएको पनि पूर्वमहामन्त्री सिंहले चर्चा गर्नुभयो । बैठकमा नेतासँगै काठमाडौँका सबुज बानियाँ, नुवाकोटका जगदीश्वरनरसिंह केसी, धादिङका रमेश धमलालगायत जिल्लासभापतिको सहभागिता थियो ।
यो पनि – मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने– कानुनमन्त्री कार्की
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताउनुभएको छ ।विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उहाँले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पार्नुभएको हो । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको जानकारी दिनुभयो ।
समयको महत्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी दिगो विकासका कार्य गर्ने प्रष्ट पार्नुभएका उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यक्ता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यस सम्बन्धमा छलफल हुने जानकारी दिनुभयो । एक प्रश्नको जवाफमा मन्त्री कार्कीले नेपाली कांग्रेसको अधिवेशन तोकिएकै समयमा गर्न यही भदौ १८ गते वडास्तरीय अधिवेशन गरिने र सभापतिको उम्मेदवारीका लागि पनि सूचना जारी गरिने जानकारी दिनुभयो । एमसीसीे एक विकास परियोजना भएकाले यो हाम्रो मुलुकलाई जरुरी छ भन्दै उहाँले यस सम्बन्धमा दलहरुबीच छलफल गरेर मात्र पारित गरिने छ भन्नुभयो । मन्त्री कार्की सुनसरीको रामधुनी नगरपालिकाको कार्यक्रमका लागि यहाँ आइपुग्नुभएको हो ।
यो पनि – राहत र उद्धारमा सक्रिय हुन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले बर्सात जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिनुभएको छ विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै उहाँले यसअघि विपद्का बेला मातहतका निकायले निर्वाह गरेको भूमिकाको सराहना पनि गर्नुभयो । मानिसको जीउ ज्यानको सुरक्षालाई पहिलो प्राथमितामा राखेर काम गर्न र विपत्तिका बेला उपलब्ध स्रोत तथा साधन उचितरूपले प्रयोग गर्न गृहमन्त्री खाँणले अग्रह गर्नुभयो ।
अविरल वर्षापछि बाढी, पहिरो र डुबानले प्रदेश–१, प्रदेश–२, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुखसँग गृहमन्त्री खाणले छलफल गर्नाका साथै प्रजिअहरू नवलपरासी पूर्वका माया भट्टराई पङ्गेनी, नवलपरासी पश्चिमका धमेन्द्रकुमार मिश्र, रुपन्देहीका आश्मान तामाङ र बाँकेका शिवराम गेलाललाई टेलिफोन गरी वर्षापछिको त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको थियो ।
यो पनि – बाढीपहिरोले सडक भत्किएपछि खच्चडको माध्यमबाट खाद्यान्न ढुवानी
बाढीपहिराका कारण ढुवानीमा समस्या हुँदा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव पूर्तिका लागि थोराङ्ला भञ्ज्याङ पास गराई ल्याइएको छ । गत असार १ गते आएको बाढीपहिराका कारण बेँसीशहर–चामे–मनाङ सडक खण्ड क्षतविक्षत भएपछि माथिल्लो मनाङमा खाद्यान्न अभाव भएको हो । खाद्यान्न आपूर्तिका लागि ढुवानी समस्या भएपछि खच्चडका माध्यमबाट माथिल्लो मनाङमा खाद्यान्न ल्याइएको पर्यटन तथा होटल व्यवसायी विनोद गुरुङले जानकारी दिनुभयो । स्थानीयवासीलाई खाद्यान्न अभावबाट बचाउने उद्देश्यले सोनाम घिर्मी फ्यामी फाउण्डेशनको सहयोगमा घुमाउरो बाटो सहारामार्फत खाद्यान्न ल्याइएको र यहाँका विपन्न वर्गलाई वितरण गरिएको गुरुङले जानकारी दिनुभयो ।
कास्कीको पोखराबाट म्याग्दीको बेनी–मुस्ताङको मुक्तिनाथ हुँदै थोराङ भञ्ज्याङ पास गरेर खाद्यान्न ल्याइएको उहाँले बताउनुभयो । पोखरा–बेनी–मुक्तिनाथसम्म गाडीमार्फत खाद्यान्न ल्याइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मुक्तिनाथबाट पाँच हजार ४१६ मिटर उचाईको थोराङ्ला पास हुँदै खच्चडमार्फत माथिल्लो मनाङमा खाद्यान्न ल्याइएको हो । अन्यत्र जिल्लाबाट आएर यहाँ काम गर्दै आएका ४० र मनाङ गाउँका विपन्न वर्गका सात घरधुरीसहित कूल ४७ घरधुरीलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । सोनाम घिर्मी फ्यामिली फाउण्डेशनको सहयोगमा सामग्री विपन्न वर्गका लागि सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।
यहाँका प्रत्येक परिवारलाई १२.५ किलो चामल, आठ किलो दाल, नुन तीन किलो, १.५ लिटर तेल वितरण गरिएको छ । घुमाएर ल्याइएको खाद्यान्न सामग्री पाउँदा स्थानीयवासी हर्षित भएका छन् । माथिल्लो मनाङमा लामो समयदेखि खाद्यान्न अभाव टार्न थोराङ्ला पास गरी ल्याउने गरिएको छ ।
यो पनि – अझै उत्पादन हुन सकेन माथिल्लो मस्याङ्दी ‘ए’ को विद्युत्
बाढी पहिराले क्षति पु¥याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको छैन । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै संरचना हालसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा विद्युत् उत्पादन हुन नसकेको हो ।
आयोजनाका अनुसार दुईवटै टर्बाइनलगायतका संरचनामा क्षति पुगेको छ । अन्य संरचना निर्माण भइरहेको छ । यी दुवै टबाईन नै नयाँ राख्नुपर्ने भएकाले विदेशबाट ल्याउने प्रक्रियामा रहेको र अझै विद्युत् उत्पादन गर्न करिब तीन महिना लाग्ने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताउनुभयो । उहाँका अनुसार उक्त बाढीले आयोजनाको बाँधस्थलदेखि पावर हाउस र ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुगेको छ । यस ११ केभीका १० खम्बा बगाएको थियो भने ३० ढालेको थियो । यतिबेला खम्बा राख्ने तथा मर्मत गरिएको आयोजनाले जनाएको छ ।
यसरी बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति बनाएपछि विद्युत् उत्पादन हुन नसक्दा दैनिक करिब रु एक करोडको हाराहारीमा नोक्सान भइरहेको आयोजना जनसम्र्पक अधिकृत अधिकारीको भनाइ छ । आयोजनाका अनुसार बिजुली उत्पादन नहुँदा हालसम्म रु ७५ करोडभन्दा बढी नोक्सान भइसकेको छ । अझै तीन महिनासम्मै बिजुली उत्पादन गर्न लागेमा करिब रु एक अर्ब नोक्सान हुने बताइएको छ । क्षतिग्रस्त विद्युत्गृहका उपकरण चीनबाट आयात गर्ने तयारी भएको आयोजनाले जनाएको छ । त्यस्तै क्षति पुगेका आयोजनाका अन्य संरचनामा मर्मत कार्य जारी छ । विद्युत् उत्पादन थालेको आयोजनामध्ये यो आयोजना जिल्लाकै दोस्रो हो ।
यो पनि – टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडान अझै अनिश्चित
टीकापुर अस्पतालमा जडान गरिने भनिएको अक्सिजन प्लान्टको काम अनिश्चितजस्तै बनेको छ । कोरोनाको दोस्रो सङ्क्रमणका बेला अक्सिजन अभावमा थुप्रैले ज्यान गुमाउनुपरेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट पठाएको थियो । अस्पतालमै दैनिक छ÷सात जना कोरोना सङ्क्रमितले ज्यान गुमाउन थालेपछि नागरिकस्तरबाट समेत सहयोगको आह्वान गरिएको थियो । त्यसपछि टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले पनि अक्सिजन प्लान्ट जडानका लागि बजेट दिने निर्णय गरी प्रक्रिया अगाडि बढाइएको भए पनि निर्माण कम्पनीको ढिलाइका कारण अक्सिजन प्लान्ट जडानको काम अनिश्चित बनेको हो ।
अस्पतालले अक्सिजन प्लान्ट जडानका लागि हेल्थ केयर सप्लायर्स काठमाडौँसँग २०७८ जेठ १७ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार सप्लायर्सले गत असार १७ गते काम सम्पन्न गरिसक्नुपर्ने थियो । त्यसपछि पनि अस्पतालले थप चार दिनका लागि म्याद थप गर्यो । म्याद सकिएको पनि करिब दुई महिना पुग्नै लाग्दासमेत सप्लायर्स सम्पर्कमा आउन सकेको छैन । अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले अक्सिजन प्लान्ट जडान यह िभदौ १५ गतेभित्र सम्पन्न गर्ने आश्वासन दिनुभएको बताइएको थियो ।
उहाँले मन्त्रालयमा बुझ्दा अन्य कुनै ठाउँमा पनि अक्सिजन प्लान्ट जडानको काम नभएको र अहिले नै आत्तिहाल्नुपर्ने अवस्था पनि आइनसकेको भन्ने जवाफ आएको बताउनुभयो । “ढुवानीको समस्याका कारण अन्त पनि काम अगाडि बढ्न सकेको छैन, अब यो महिनाभित्र काम सम्पन्न भए पनि राम्रै हुन्थ्यो”, अध्यक्ष रावलले भन्नुभयो, “सम्झौता खारेज गरेर अर्को गर्दा झन बढी समय लाग्ने भएका कारण यसैलाई निरन्तरता दिइएको हो, भदौसम्म काम सकेन भने सप्लायर्सले पैसा पाउँदैन र धरौटीबापतको रु आठ लाख पनि जफत हुन्छ ।”
सङ्घीय सरकारले गत आवमा विनियोजन गरेको अक्सिजन प्लान्ट जडानका लागि विनियोजन गरेको बजेट भदौ मसान्तसम्म खर्च गर्न पाउने व्यवस्था मिलाएको छ । भदौ मसान्तसम्म पनि रकम खर्च हुन सकेन भने बजेट फ्रिज जाने भएकाले पनि यही मसान्तसम्म काम हुने अध्यक्ष रावलले विश्वास व्यक्त गर्नुभयो ।
सप्लायर्सका अमिर खानले अक्सिजन प्लान्टको सामान भन्सार पुगेको जनाउँदै भदौभित्र प्लान्ट जडान गरिसक्ने बताउनुभयो । “सामान भन्सारमा पुगेको छ, केही दिनमा काठमाडौँ पुगेपछि हामीले सामान छुट्याएर टीकापुरका लागि पठाउँछौँ”, उहाँले भन्नुभयो, “सामान आपूर्तिमा ढिलाइ भएका कारण समय लागेको हो, अब सामान आइसकेको छ, सामान पुगेपछि तीन÷चार दिनमा अक्सिजन प्लान्ट जडानको काम सम्पन्न भइहाल्छ ।” रु ८९ लाख २७ हजारमा सप्लायर्सले अक्सिजन प्लान्ट जडानको जिम्मा लिएको छ ।
प्रतिक्रिया