काठमाडौँ, १२ भदौ (रासस) : विभिन्न माग राखेर चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ । देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने, क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्ने र त्रुटि भएको भए सच्याउनु पाउनुपर्नेलगायत माग राखेर जारी अनशन आज साँझ स्थगन भएको हो ।
जिल्ला सभापतिको अनशन तोडाउन क्रियाशील सदस्यता विवाद समाधानमा खटिनुभएका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखक सानेपा पुग्नुभएको थियो । पार्टीका संस्थापन इतर पक्षको समेत समर्थन रहेको उक्त अनशनमा पार्टीका सभापति शेरबहादुर देउवा जिल्ला सभापतिले राखेका मागप्रति सकारात्मक देखिएपछि अनशन स्थगन गरिएको कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले राससलाई जानकारी दिनुभयो ।
“जिल्ला सभापतिले राखेको तीनवटै मागप्रति नेतृत्व सकारात्मक देखिएको र समयमा महाधिवेशन गर्न इच्छुक देखिएकाले हामीले अनशन स्थगन गरेका हौँ”, उहाँले भन्नुभयो । जिल्ला सभापतिले राखेका माग र सहमतिमा अधिवेशन गराउनेबारे यसअघि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको थियो ।
यो पनि – समाजवादीको जिल्ला भेला आयोजक कमिटी गठन
गलकोट, १२ भदौ (रासस) : नेकपा (एकीकृत समाजवादी)को बागलुङमा गठन प्रक्रिया थालिएको छ । आज बागलुङ बजारमा समाजवादी पार्टीमा लागेका उपलब्धहरूको भेलाले केन्द्रीय नेतृत्वसँग समन्वय गरी जिल्ला भेला गर्ने गरी लालबहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय पार्टीको जिल्ला भेला आयोजक कमिटी गठन गरेको छ ।
तत्कालीन नेकपा (एमाले)का सचिवसमेत रहनुभएका थापाको संयोजकमा जिल्ला भेला आयोजक कमिटी गठन गरेको हो । भेलाले भुपाल चालिसेको संयोजकत्वमा भरत पुरी, जीवन आचार्य र हिमाल शर्मा सदस्य रहेको चार सदस्यीय कार्यालय व्यवस्थापन उपसमिति, शालिकराम शर्माको संयोजकत्वमा सामाजिक सङ्घसंस्था समन्वय उपसमिति, जीवन आचार्यको संयोजकत्वमा चक्र थापा र डम्बर श्रीष सदस्य रहेको तीन सदस्यीय जनप्रतिनिधि समन्वय उपसमित गठन गरेको जिल्ला भेलाका संयोजक लाल थापाले जानकारी दिनुभयो ।
यस्तै सुरज बोसेलको संयोजकत्वमा प्रदीप आचार्य, फणिन्द्र खड्कासहितको ३१ सदस्यीय युवा तथा खेलकुद जिल्ला भेला आयोजक कमिटीलगायत पालिका, जनसङ्गठन, पेशागत सङ्गठनका विभिन्न उपसमिति गठन गरिएको छ । लाल थापाका अनुसार बृहत् जिल्ला भेलाको आयोजना गरी नयाँ पार्टीको जिल्ला कमिटी गठन गर्नका लागि जिल्ला भेला आयोजक कमिटी गठन गरिएको हो । छिट्टै जिल्ला भेलाको आयोजना गरी पार्टी गठनको तयारीमा समाजवादी बागलुङ अगाडि बढेको छ ।



प्रतिक्रिया