लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ । सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको थियो । गम्भीर घाइते बालिकाको अस्पतालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।
यो पनि – हेलम्बु राजमार्ग अवरुद्ध
सिन्धुपाल्चोक, १३ भदौ (रासस) : लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गर्नुभयो । गत साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ ।
पैराबारीका घर जोखिममा
बाटो माथिबाट पहिरोसँगै ढुङ्गा खस्दा मेलम्ची–१० रामपुर पैराबारीका घर जोखिममा परेका छन् । गतवर्षदेखि नै पैराबारी ज्यामिरे बाटो खन्ने क्रममा ढुङ्गा खसेर बसेको र यस वर्ष पनि ढुङ्गा खस्ने क्रम जारी रहेको स्थानीयवासी प्रशान्त कार्कीले जानकारी दिनुभयो ।
बाटोमुनि तीन भूकम्पपीडितको राहत घर र अन्य दुई घर रहेको उहाँले जानकारी दिनुभयो । ढुङ्गा खसेर दुर्घटना हुने डरले आनन्दले बस्न सुत्न नसकिएको स्थानीयवासीको गुनासो छ । ढुङ्गा ठूलो रहेको र पहिरो पनि आइरहेको जानकारी पोहोरदेखिनै नगरलाई गराए पनि चासो नदिएको उहाँले दुःखेसो गर्नुभयो । पानी पर्न थालेपछि घर छाडेर भाग्नुपर्ने अवस्था रहेकाले नगरको स्थानीयवासीले ध्यानाकर्षण गराएका छन् ।
यो पनि – मध्यपश्चिम विश्वविद्यालय ः परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिने सहमति
कर्णाली, १३ भदौ (रासस) : अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति भएको हो ।
सहमतिअनुसार अब विद्यार्थीले परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेको पाँच दिनभित्र तोकिएको ढाँचाको गुगल फारम भरी कुन माध्यमबाट जाँच दिने हो खुलाउनुपर्नेछ । विद्यार्थीको आवेदनबमोजिम परीक्षालाई व्यवस्थित, मर्यादित र आधारभूत मापदण्डअनुसार सञ्चालनका लागि समयतालिका अविलम्ब सार्वजनिक गर्ने सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय वार्ता टोलीका सदस्य उपप्राध्यापक विष्णुकुमार खड्काले पूर्वनिर्धारित परीक्षाका कार्यक्रमलाई दशैँ बिदाअगावै सम्पन्न गर्ने गरी तयारी थाल्ने बताउनुभयो ।
विश्वविद्यालयले विद्यार्थीबाट लिने विभिन्न शीर्षकका शुल्क हेरफेर गर्न कार्यदल गठन गरी पुनःनिर्धारण गर्ने, तोकिएको समयमा दीक्षान्त समारोह, सभा, बैठक सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पठाएको परिपत्रअनुसार कोभिड–१९ को अवधिभरको शिक्षण शुल्क मिनाहा गर्ने, भर्ना भएका कूल विद्यार्थी सङ्ख्याको साधारणतर्फ १७ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने, हाल वितरण गर्न बाँकी रहेका विद्यार्थीलाई आगामी मङ्सिर मसान्तभित्र वितरण गरिसक्ने सहमति भएको छ । त्यस्तै पुस्तकालय, ई–पुस्तकालय, प्रयोगशाला, भौतिक संरचना निर्माण तथा स्तरोन्नति एवं सञ्चालनका लागि आर्थिक वर्ष २०७८÷७९ को बजेटमा व्यवस्था गरी कार्यान्वयन गर्नेलगायत सात बुँदे सहमति भएको छ ।
सहमतिपत्रमा विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका संयोजक प्रा डा लीलाधर तिवारी, प्रा डा चन्द्रप्रसाद रिजाल, सहप्राध्यापक वीरबहादुर पौडेल, उपप्राध्यापक विष्णुकुमार खड्का र आन्दोलनरत विद्यार्थी सङ्गठनका तर्फबाट नेपाल विद्यार्थी सङ्घका झक्कबहादुर शाही, अखिल (क्रान्तिकारी) का मोतीराम रम्तेल, अनेरास्ववियुका भरत शाही र अखिल (छैटौँ) का हरि बुढाले हस्ताक्षर गर्नुभएको छ । विभिन्न १९ बुँदे माग राखी विश्वविद्यालयअन्तर्गतका केन्द्रीय क्याम्पसहरुमा क्रियाशील विद्यार्थी सङ्गठनहरु ४५ दिनदेखि आन्दोलनमा थिए ।
प्रतिक्रिया