राम्दीमा पहिरोमा परी एक महिलाको मृत्यु

राम्दीमा पहिरोमा परी एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पहिराले पुरिएर राम्दीमा एक महिलाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दी बजारमा आज घरमाथिबाट ठूला ढुङ्गासहित आएको पहिराले घर पुरिएर वालिङ नगरपालिका–१४ की ४० वर्षीया धनमाया उम्राको निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार गुल्मीको छत्रकोट–५ की लक्ष्मी बस्नेतले सञ्चालन गर्दै आउनुभएको होटलमा बसेका बेला माथिबाट आएको पहिरोले पुरिएर उम्राको निधन भएको हो । कालीगण्डकी नदीको किनारमा रहेको उक्त स्थान धार्मिक महत्वको क्षेत्र भएकाले टाढा टाढाबाट त्यहाँ दर्शनका लागि पुग्ने गरेका छन् । उम्रा पनि पूजाआजाका लागि राम्दीमा आएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

पहिरामा पुरिएर होटल सञ्चालक ३७ वर्षीया लक्ष्मी बस्नेत, रुपन्देही सैनामैना–१ का १६ वर्षीय शिशिर योगी र अर्का पहिचान नखुलेका एक जना पुरुष गरी तीन जना घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि गल्याङस्थित नगर अस्पतालमा ल्याइँदै गरे पनि बीचमा पहिराका कारण सडक अवरुद्ध भएकाले अस्पताल पु¥याउन कठिनाइ भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो । पहिरोका कारण बस्नेत र स्थानीयवासी दीपेन्द्र श्रेष्ठको घर पूर्णरुपमा क्षति भएको छ । राम्दीमा रहेको प्रहरी चौकी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।

यो पनि – कालीकोटमा जीप दुर्घटना : एकको मृत्यु, ११ घाइते

कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–२ कालीकोटको आम्तडामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शान्तिघाटदेखि जितेगाडका लागि छुटेको मानसरोवर यातायातको क १ ज २३ नम्बरको जीप दुर्घटना हुँदा करिब २२ वर्षीय चालक विक्रम गिरीको घटनास्थलमै ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

घाइते पाँचको अवस्था गम्भीर भएकाले हेलिकप्टर बोलाइएको तर मौसम खराबीका कारण बीचैबाट फर्केको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिले गम्भीर घाइते पाँच जनालाई ल्याउनका लागि सशस्त्र प्रहरीको गाडी त्यसतर्फ पठाइएको छ । छ जनाको भने रास्कोट अस्पतालमै उपचार भइरहेको उहाँले जनाउनुभयो ।

प्रहरीका अनुसार घाइते हुनेमा कालीकोट रास्कोट नगरपालिका–९ का नरपति लोहार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, टेक लोहार र रास्कोट–७ का कमलराज शाही, सान्नीत्रिवेणी–६ का बदे संज्याल, रन्तप्रसाद संज्याल, सुन्दर संज्याल, तिलकप्रसाद संज्याल र पँचाल झरना गाउँपालिका–९ की अनिता शाही रहेका छन् ।