प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच छलफल

प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकार विस्तार एवम् पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा सरकार विस्तार र गठबन्धनलाई थप मजबुत बनाउने विषयमा शीर्षस्थ नेताहरूबीच छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

आज साँझको छलफलका आधारमा सोमबार बिहान गठबन्धनको बैठक बोलाइएको छ । सो बैठकमा सरकार विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ । आज बिहान पनि उहाँहरूबीच मन्त्रिमण्डललाई पूृर्णता दिनेलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।नेकपा (एकीकृत समाजवादी)को आज बसेको संसदीय दलको बैठकले मन्त्री चयनका बारेमा निर्णय गर्न अध्यक्ष नेपाललाई जिम्मा दिएको छ । यस्तै, जनता समाजवादी पार्टीले पनि सरकारमा जाने विषयमा आवश्यक छलफल गरी निर्णय गरिसकेको छ ।

गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिनुभएका देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक राज्यमन्त्रीसहित नेपाली कांग्रेसका तीन, माओवादी केन्द्रका दुई मन्त्रीले जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । गठबन्धनमा सहभागी सबै दलले सरकार विस्तारका बारेमा आवश्यक तयारी गरिसकेकाले अब छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको छ ।

यो पनि – समाजवाद स्थापनाको कार्यभार पूरा गर्नेगरी लागौँ : नेता पुन

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले पार्टीले लिएको समाजवाद स्थापनाको कार्यभारलाई पूरा गर्ने गरी अगाडि बढ्न युवालाई आग्रह गर्नुभएको छ । वाईसीएल नेपालको जारी राष्ट्रिय भेलाको सम्बन्धमा आज आयोजित बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले आर्थिक विकास सहितको समाजवादी यात्राका लागि युवाले नै नेतृत्व गर्ने भएकाले सोही अनुसारको कार्ययोजना र त्यसको कार्यान्वयन जरुरी रहेको बताउनुभयो ।

राजनीतिक परिवर्तनलाई स्थायी बनाउँदै देश र जनताको आवश्यकतालाई परिपूर्ति गर्ने गरी युवाले अब हरेक क्षेत्रमा पहलकदमी लिनुपर्ने उहाँको भनाइ थियो । वाईसीएलको श्रव्य दृश्यका माध्यमबाट जारी राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्र जारी रहेको प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिनुभयो । बन्दसत्रमा राजनीतिक, आर्थिक प्रतिवेदनको छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।

भेलामा अध्यक्ष रामप्रसाद सापकोटाद्वारा प्रस्तुत प्रतिवेदन परिमार्जित भई पारित गरिएको हो । समृद्धि, उत्पादन र विकास केन्द्रित रहेर हालसम्मका उपलब्धिको रक्षा गर्दै सङ्गठनलाई नयाँ प्रणालीमार्फत डिजिटलाइज गर्दै जनजीवनको उत्थान गरी समाजवादी बाटोमा अगाडि बढ्ने निष्कर्ष प्रतिवेदनको रहेको छ । बन्दसत्रले २३१ सदस्यीय केन्द्रीय समिति, ३५ सदस्यीय पदाधिकारी र तीनवटा केन्द्रीय आयोग निर्माण गर्ने भएको छ ।

वाईसीएलले राष्ट्रिय भेलाबाट सहमतिमा नै नेतृत्व चयन गर्ने भएको छ । अध्यक्ष सापकोटाले अध्यक्षबाट हट्ने निर्णय गरिसक्नुभएको छ । उहाँले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै नयाँ नेतृत्वसमेत सहमतिमा चयन गर्नुपर्नेमा जोड दिनुभयो । उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुबोध श्रीपालीले अध्यक्षमा इच्छा व्यक्त गर्नुभएको छ । छलफलका आधारमा सोमबार नेतृत्व चयन हुने वाईसीएलले जनाएको छ ।