मेलम्ची–हेलम्बुमा बाढीले भत्काएको सडक निर्माण अनिश्चित

मेलम्ची–हेलम्बुमा बाढीले भत्काएको सडक निर्माण अनिश्चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माणअनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निर्माण समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारीदिनुभयो । “लगभग यतिबेला पुल निर्माणको काम सकिनै लाग्थ्यो बाटो नभएर सामान ल्याउनै पाइएन समस्या भयो”, उहाँले भन्नुभयो ।

आगामी दशैँसम्ममा अस्थायी आवास निर्माणको काम सक्ने र प्रभावितलाई स्थानान्तरण गर्ने गाउँपालिकाका योजनामा समेत अहिलेको बाढीले प्रभाव पारेको छ । निरन्तरको वर्षाका कारण अहिले पनि मेलम्ची खोलामा बाढी आउँदा हेलम्बुदेखि सिपाघाटसम्मका नदी किनारका बस्ती जोखिममा परेका छन् ।

आइतबारमात्रै पनि मेलम्ची नगरपालिका–६ तालामाराङ बजार नजिकैको एक घर बाढीले क्षति पु¥याएको थियो । बाढीले वितण्डा मच्चाएको हेलम्बु मेलम्चीमा अहिले पनि जोखिम कायमै रहेको छ । नगर प्रमुख डम्बर अर्यालले नदी किनारको बस्तीमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो । “नदी नियन्त्रण र नदीले अवरुद्ध बनाएको सडक खुलाउन हामीले सम्पूर्ण संयन्त्र परिचालन गरेका छौँ, करोडौँ रुपैयाँ लगानी भइसक्यो तर पनि हाम्रो लगानी र हाम्रो मिहेनत बालुवामा पानीजस्तै भएको छ”, उहाँले भन्नुभयो ।

गत शुुक्रबारदेखिको लगातारको वर्षाले हेलम्बुको तिम्बुदेखि मेलम्ची–११ को बजारसम्म खोला वारिपारि रहेका घर, टहरा, पुल, खेत तीन विद्यालय जोखिममा छन् । अहिले खेतीयोग्य सयौँ रोपनी बाढीले कटान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आज बिहानसम्म जिल्लामा यस वर्ष २७२ पक्की घर, १८५ कच्ची घर, ६६ गोठ टहरा, अन्य ५२, पक्की सात झोलुङगे पुलमा १५ क्षति भएको छ ।

यो पनि -घर डुबानमा परेपछि नगरपालिकामा तालाबन्दी

स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बुधबार रातिदेखि परेको बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले आइतबार तालाबन्दी गरिदिएका हुन् । अविरल वर्षाका कारण नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० गैँडाकोट–४ मा २०० भन्दा बढी घर डुबानमा परेको थियो । नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेर स्थानीयवासीले स्थानीय सरकारले जनतालाई डुबानबाट मुक्ति दिन नसकेको जनाउँदै पानीको निकास दिन आफूहरुले नै काम गर्ने बताएका छन् । गैँडाकोट–४ का तीर्थ पौडेलले निरन्तर परेको पानीका कारण घर डुबानमा परेपछि घरमा खान, बस्न, सुत्न समस्या हुँदा समेत स्थानीय सरकारले चासो नदिएको गुनासो गर्नुभयो । अव्यवस्थितरुपमा बस्ती बसाइएको र पानीको निकास नगरिँदा आफ्नो घर तथा पसल डुबानमा परेको उहाँले बताउनुभयो ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको राजमार्गको उत्तरतर्फ पर्ने गैँडाकोट–४ मा घर तथा पसल डुबानमा परेका हुन् । उहाँका अनुसार डुबानका कारण स्थानीयवासीका लाखौँ रुपैयाँ बराबर नोक्सान भएको छ । आफूहरुलाई बर्खे पानीको निकास चाहिएको रे जनप्रतिनिधिले निकासमा वास्ता नगरेपछि बाध्य भएर तालाबन्दी गरिएको उहाँले बताउनुभयो । पानी निकासका लागि नगरपालिकाले वडा कार्यालयलाई देखाउने वडा कार्यालयले नसक्ने भनेपछि स्थानीय रुष्ट भएका स्थानीयवासी अमिन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अधिकांश एक तले घर डुबानमा परेपछि खाना बस्नका साथै शौचालय जान पनि नसकिने अवस्था रहेको छ । यस क्षेत्रमा बर्खाको बेलामा प्रत्येक वर्ष एउटै समस्या दोहोरिने गरेको भए पनि यसको दीर्घकालीन समाधान भने हुन नसकेको उहाँको गुनासो छ । गैँडाकोट–४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले वडाले मात्रै निकास दिन नसक्ने भएकाले सबैको समन्वयमा मात्र काम गर्न सकिने स्पष्ट पार्नुभयो । नगरप्रमुख छत्रराज पौडेलले सो स्थानमा बर्सेनि समस्या दोहोरिने गरेको र अस्थायी रुपमा भए पनि पानीको निकास गरिने बताउनुभयो । “जेसिभी लगेर नाला निर्माण गरेर अस्थायी रुपमै भए पनि पानीको निकास गर्नेछौँ”, उहाँले भन्नुभयो, “यो ठाउँमा सडक विस्तारको काम भइरहेकाले पनि पानीको उचितरुपमा निकास गर्न सकेका छैनौँ ।”

जेसिभीलगायतका उपकरणको प्रयोग गरी नगरभित्र जमेको पानीलाई नारायणी नदीतर्फ निकास गर्ने काम तुरुन्त सुरु गरिहाल्ने नगर प्रमुखपौडेलले बताउनुभयो । अस्थायीरुपमै भए पनि जमेको पानी हटाउनतर्फ नगरपालिकाको पहल रहने उहाँको भनाइ छ ।