सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा सो सहमति भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा, मूल्याङ्कन हुनुका साथै गठनबन्धनका शीर्ष नेताहरुले सरकार सञ्चालन सम्बन्धमा प्रधानमन्त्री देउवालाई सुझाव दिनुभएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
बैठकमा काँग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।
यो पनि – सात प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी ः स्वास्थ्यराज्मन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताउनुभएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालिएको जानकारी दिनुभयो । उहाँले महिलामा स्वास्थ्य समस्या धेरै देखिने भएकाले प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवा पनि विस्तार गर्नुपर्ने बताउनुभयो ।
राज्यमन्त्री श्रेष्ठले यस अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचार तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने धारणासमेत राख्नुभयो । उहाँले अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि मन्त्रालय लागिपरेको बताउनुभयो । “यहाँ भएका साधनस्रोतलाई उपयोग गर्ने हो भने सम्भावना धेरै छन्”, उहाँले भन्नुभयो, “अस्पतालले मन्त्रालयसँग के अभाव छ । त्यसको माग गर्न प¥यो । हामी उपलब्ध गराउन तयार छौ ।”
उहाँले दूरदराजका जनताले अझै स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनुपर्ने भनाइ राख्नुभयो । उहाँले कोरोना भाइरसविरुद्धको खोप सरकारको प्राथमिकता रहेको भन्दै ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याउन पहल भइरहेको जानकारी दिनुभयो । अहिले २० प्रतिशत पहिलो मात्रा र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले प्रसूति अस्पताललाई व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताउनुभयो । उहाँले अस्पतालमा ७०० शय्या थप गर्न मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका अस्पतालको स्तरोन्नति गर्न आफूहरुले सहयोग गर्ने बताउनुभयो । उहाँले अस्पताललाई आवश्यक ४० वटा भेन्टिलेटर महानगरले वितरण गरिसकेको र थप ५ वटा चीनबाट आएपछि वितरण गर्ने बताउनुभयो ।अस्पतालका निर्देशक डा सङ्गीताकौसल मिश्राले अस्पतालमा थप २०० शय्या थप गर्न गइरहेको जानकारी दिनुभयो । उहाँले ‘ह्युमन मिल्क बैंक’ र ‘टेस्ट ट्युब’बाट बच्चा जन्माउन प्रक्रिया चाँडै नै सुरु गर्ने बताउनुभयो ।
अस्पतालका उपनिर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार हरेक वर्ष करिब २२ हजार महिलाले प्रसूति सेवा लिएका छन् । अस्पतालमा स्त्रीरोगसम्बन्धी बहिरङ्ग सेवा, प्रसूति, परिवार नियोजन तथा सुरक्षित गर्भपतन, आमा सुरक्षा तथा नवजात शिशु निःशुल्क उपचार, कृत्रिम गर्भधारण जस्ता सेवा उपलब्ध गराउँदै आइरहेको छ ।विसं २०१६ भदौ १० गते श्रीकृष्णजन्माष्टमीको दिन ४० शय्याबाट शुरु भएको उक्त अस्पतालमा अहिले ४८९ शय्या रहेका छन् । अस्पतालले कोभिड–१९ सङ्क्रमित महिलाको उपचार कुपण्डोलस्थित प्रसूतिकै भवनबाट सेवा दिइरहेको छ । अस्पतालमा दैनिक ५० देखि ७० जनाको प्रसूति र एक हजार जनाले बहिरङ्ग सेवा लिने गरेका छन् ।
प्रतिक्रिया