गौरा पर्वमा भिडभाड नगर्न प्रशासनको आग्रह

गौरा पर्वमा भिडभाड नगर्न प्रशासनको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्ला प्रशासन कार्यालय डोटीले गौरा पर्वमा जिल्लाभरिमा कुनै पनि ठाउँमा भिडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरी सुदूरपश्चिमको प्रसिद्ध पर्व गौरा आइतबार भित्र्याइएकाले कोरोना जोखिमलाई मध्यनजर गर्दै भिडभाड नगर्न तथा ठूलो सङ्ख्यामा जमघट नहुँन आग्रह गरेको हो ।

जिल्लामा कोरोना जोखिम कायमै रहेको र गौरा तथा तीज पर्व नजिकिएकाले भिडभाड नगर्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “गौरा र तीजमा सामान्य पूजाआजाबाहेक अन्य भिडभाड हुने खालका कुनै पनि काम नगर्न आग्रह गरेका छौँ, अटेर गर्नेलाई कानूनबमोजिम कारवाही हुने छ ।” गौरा पर्वको समयमा यहाँका ग्रामीण क्षेत्रमा देउडा खेल्ने तथा मानिसको बाक्लो सहभागिता हुने भएकाले ती क्षेत्रमा हुने भिडभाडलाई कम गराउन सम्बन्धित प्रहरीलाई पनि निर्देशन जारी गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यो पनि – गौरा पर्वको महत्वपूर्ण दिन आज ‘अठेवाली’

गौरा पर्वको महत्वपूर्ण दुर्वाष्टमी अर्थात् ‘अठेवाली’ आज कञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ । गौरा पूजनका हिसाबले आजको दिनलाई यहाँका महिलाले महत्वपूर्ण मान्दछन् । दुबोले गौराको पूजा गरिने भएकाले आजको दिनलाई दुर्वाष्टमी पनि भनिएको हो । पवित्र धागोबाट निर्माण गरिएको ‘दुबधागो’ लाई विधिपूर्वक अभिमन्त्रित गरी नारीले आजकै दिन धारण गर्दछन् । दुबधागो ग्रहण गरेका महिलालाई पवित्र मानिन्छ ।

दुबधागो धारण गरेका महिलालाई भात भान्सा गर्ने पहिलो अधिकार रहन्छ । यो चलन परम्परागतकालदेखि सुदूरपश्चिममा चल्दै आएको छ । दुबधागो धारण गरेका महिलालाई गौरा पूजन गर्ने पूर्ण अधिकार रहन्छ । महिला बिहानै खोला तलाउनमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आँगनमा ल्याई शृङ्गार गरी सगुन गीत गाउँदै टाउकामा राखेर नाच्ने गर्दछन् । आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेवाली भन्ने गरिएको सुदूरपश्चिमेली संस्कृतिका ज्ञाता रनबहादुर ऐरीले बताउनुभयो ।

अठेवाली गीत गाउँदा महिलाले एकले अर्काको कान्छी औँला अठ्याएर समाती गोल घेरा बनाई परम्परागत तरिकाले नृत्य र गीत प्रस्तुत गर्ने गर्दछन् । यसै अवसरमा गौराको पहिलो दिन पाँच गेडागुडी भिजाएर बनाइएको बिरुडा गौरा देवीको पूजाआजा गर्न प्रयोग हुन्छ । अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने पनि गरिन्छ । पहिले गाउँका प्रतिष्ठित व्यक्तिका घरमा सामूहिकरुपमा बिरुडा भिजाउने चलन थियो ।

अहिले बासिन्दाले सुविधाका लागि गौरा मन्दिर, सगोल तथा घरघरमा भिजाउने गरेका छन् । हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको हो । पार्वतीले शिव पति पाए झैँ अविवाहित युवती शिव झैँ पति पाउन भनी ब्रत बसेका महिलाले अठेवालीका दिन गौरा देवीको प्रतिमालाई टाउकामा राखेर नचाउने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । धुमारी र ढुस्को तथा ठाडो खेलमा महाभारत, रामायणसहित धार्मिक ग्रन्थमा आधारित कथा भन्ने गरिन्छ । बिरुडा भिजाएर सुरु हुने गौराको बिसर्जन नहुँदासम्म महिला र पुरुष सबैले धुमधामसँग मनाउने गर्छन् ।

भिजाएको बिरुडालाई षष्ठीका दिन नजिकका पँधेरा वा इनारमा सगुन गाएर धुने गरिन्छ । त्यसपछि ती बिरुडालाई पुनःभिजाएको ठाउँमा राखिन्छ । सप्तमीका दिन अविवाहित युवतीले खेतबारीबाट धान, साउलगायतका बोटबाट गौरीको प्रतिमा बनाएर डालोमा राखेर गौरा घरमा भित्र्याउने गर्छन् । गौरीको प्रतिमासँगै पहेँलो कपडाले बेरिएको काठको पिर्कालाई शिवको प्रतिक महेश्वर मानेर राख्ने गरिन्छ ।

यस बेलामा दुबधागोलाई पूजाआजा गरी गौरीको प्रतिमा चढाउने गरिन्छ । यस बेलासम्म महिला निराहार हुन्छन् र कसैले फलाहार गर्छन् । यसअघि महिलाले आफ्ना पति र सन्तानको दीर्घायुको कामना गर्दै बिरुडाले पूजा गर्छन् । अठेवालीपछि गौरीको प्रतिमा राखिएको डालोलाई टाउकामा राखेर नाच्ने गरिन्छ । गौरा नचाएका बेलामा अन्य महिलाले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् । स्थानीय भाषामा गौरीको प्रतिमालाई लली घुमारा भनिन्छ ।

अठेवालीका दिन महिला र पुरुष छुट्टाछुट्टै गौरामा रमाउँछन् । पुरुषले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को र देउडा खेल्ने गर्छन् । धामी, झाँक्रीलाई खुसी बनाउन अठेवालीका दिन पुरुष विशेष गरी देवताका गाथा समेटिएका खेलमा रमाउँछन् । महिलाले गौरालाई नचाएपछि साँझतिर डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई पुरुषले आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ । त्यो फल आकाशमा चुम्यो भनेपछि चिताएको मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

बिरुडा घरमा ल्याएर ठूलाबडाले सानालाई पुज्ने गरिन्छ । पुरुष रातिसम्म गौरा खलोमा ठाडो खेल खेल्ने गर्छन् । बर्खेखेती लगाएर फुर्सदिला हुँदा दिउँसो खाना खाएर सबैजना गौरा खलोमा पुग्ने गर्छन् । गौरा मनाउन देश विदेशबाटसमेत घर आउने चलन छ । गौरामा नयाँ लाउने र मीठो खाने गरिन्छ । बर्खे खेतीपछिको थकाई मार्न सबै गौरामा रमाउँछन् । गौरामा धनी गरीब भनिदैन, सबैले गच्छेअनुसार मनाउँछन् । गौराको अन्तिम नदी बाजागाजासहित जलाशय वा नदी किनारमा विर्सजन गरिन्छ ।