देशको आमूल परिवर्तनका लागि प्रत्येक नागरिकसम्म शिक्षाको पहुँच पुग्नु आवश्यक : नेमकिपा अध्यक्ष बिजुक्छे

देशको आमूल परिवर्तनका लागि प्रत्येक नागरिकसम्म शिक्षाको पहुँच पुग्नु आवश्यक : नेमकिपा अध्यक्ष बिजुक्छे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको आमूल परिवर्तनका लागि प्रत्येक नागरिकसम्म शिक्षाको पहुँच पुग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आज भक्तपुर नगरपालिकाले आयोजना गरेको विचारगोष्ठीमा उहाँले सबै नागरिक शिक्षित भए देश परिवर्तन हुने बताउनुभएको हो ।

पुस्तकालयमा बस्ने जनशक्तिलाई वैज्ञानिक पुस्तकालय व्यवस्थापनबारे तालिम सञ्चालन गर्नुपर्ने, प्राचीन महत्व बोकेका पुस्तकको सङ्ग्रह पुस्तकालयले सुरक्षित ढङे्गले राख्नुपर्ने र नयाँ पुस्तालाई विद्यार्थी जीवनदेखि पुस्तकालय गएर अध्ययन गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो । पुस्तकालयलाई ज्ञानको भण्डारका रूपमा व्यवस्थित गर्नु जरुरी रहेको बताउँदै अध्यक्ष बिजुक्छेले भक्तपुरमा रहेको सार्वजनिक पुस्तकालयको व्यापक सदुपयोग गर्नुपर्ने औँल्याउनुुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विज्ञान र प्रविधिको विकाससँगै आधुनिक र प्रविधियुक्त पुस्तकालयको महत्व झन् बढ्दै गएको चर्चा गर्दै भक्तपुर नगरपालिकाबाट सञ्चालित जनज्योति पुस्तकालयलाई थप व्यवस्थित र समायानुकूल सुधार गर्ने प्रयास गरिरहेको बताउनुभयो । नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुस्तक पढ्ने बानी र पुस्तलकालयसँग अभ्यस्त रहने बानीले सुसंस्कृत, सुसूचित र सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो ।  इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले नेपालमा संस्थागतरूपमा पुस्तकालय स्थापना भएको २०० वर्षभन्दा लामो इतिहास पूरा भएको बताउँदै भक्तपुरको साकोथामा रहेको साफू कुथि छेँ नेपालकै पहिलो पुस्तकालय भएको र यसबाट भक्तपुर शिक्षाको केन्द्रका रूपमा रहेको चर्चा गर्नुभयो ।

यो पनि – आयुर्वेद चिकित्सा पर्यटन विकासको महत्वपूर्ण आधार : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई आयुर्वेद चिकित्साको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश राजधानी पोखरामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आज आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा उहाँले विश्वभरका पर्यटक तान्न सफल गण्डकी प्रदेशमा आयुर्वेद चिकित्साको प्रचुर सम्भावना रहेको बताउनुभयो । सानो भूगोल भए पनि गण्डकी प्रदेशमा धेरैथरि औषधिजन्य जडीबुटी रहेको सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले आयुर्वेद चिकित्साका माध्यमबाट पनि पर्यटक तान्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा र आसपासका पदमार्गमा नियमित योग सञ्चालन गर्न सकिने भन्दै उहाँले युुरोप, अमेरिकालगायतका मुलुकबाट आएका पर्यटकको बसाइ लम्ब्याउन पनि यो विधि सहयोगी बन्ने बताउनुभयो । राणाकालको समाप्तिसँगै तनहुँको बन्दीपुरका कविराज कृष्णकान्त अधिकारीलाई आयुर्वेद चिकित्सा हेर्ने गरी महानिर्देशकको जिम्मेवारी दिइएको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा आधुनिक चिकित्सा भित्रिनुभन्दा पहिला सरकारी चिकित्साको क्षेत्रमा आयुर्वेदलाई नै अवलम्बन गरिएको स्मरण गराउनुभयो ।

गण्डकी प्रदेशका ८५ मध्ये ७६ स्थानीय तहमा आयुर्वेदका स्वास्थ्य संस्था रहेका र बाँकी पालिकामा पनि पूरा गरिँदै लगिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रदेशभित्र १०० शय्याको आयुर्वेद चिकित्सालय बनाउने काम पनि सुरु भइसकेको छ, यसै वर्ष डिपिआर तयार हुन्छ ।” मुख्यमन्त्री पोखरेलले जिल्लास्थित आयुर्वेद केन्द्रको भौतिक पूर्वाधार स्तरोन्नति गर्दै लैजान प्रदेश सरकार क्रियाशील रहेको बताउनुभयो ।

गण्डकी प्रदेशमा रहेका बहुमूल्य जडीबुटीको संरक्षण र अधिकतम उपयोगका साथै किसानलाई जडीबुटी खेतीतर्फ आकर्षित गरी आयआर्जनको व्यवस्था मिलाउन सके उनीहरुलाई आत्मनिर्भर बनाउन सकिने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । प्रदेशले स्वास्थ्य नीति ल्याउन लागेको जानकारी दिँदै उहाँले त्यसमा पनि आयुर्वेद र वैकल्पिक चिकित्साका विविध क्षेत्रलाई समेट्ने खालका नीति ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा विनोदविन्दु शर्माले आयुर्वेद चिकित्सालाई पर्यटनसँग जोड्न प्रदेश सरकार आतुर रहेको बताउँदै पदमार्गहरुमा प्राकृतिक उपचार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले जहिल्यै पनि जडीबुटी र जलस्रोतको सम्भावनाका बारेमा चर्चा भए जति उपयोग गर्न नसकिएको बताउँदै स्वास्थ्य जीवनशैली, सुरक्षित मातृत्व, ज्येष्ठ नागरिक उपचार, विद्यालयस्तरमै नैतिक शिक्षा र योगलाई समेट्दै विभागले काम गरिरहेको जानकारी दिनुभयो ।

पञ्चकर्म र योग शिक्षालाई चालु पञ्चवर्षीय योजनाले समेटेको, संविधानले पनि सुनिश्चितता गरेको भए पनि यो क्षेत्र जनशक्ति र इच्छाशक्तिको कमीका कारण सधँै ओझेलमा परेको उहाँको भनाइ थियो । कोभिड महामारीमा आयुर्वेद चिकित्साको महत्व बढेको भन्दै उहाँले योग, प्राणायामका साथै गुर्जोको प्रयोग बढ्दै जानुले आफूहरु उत्साही रहेको बताउनुभयो । कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा प्रमुख डा मुनकर्ण थापाले सङ्घीय सरकारको सःशर्त अनुदानबाट विभागले अहिले वार्षिकरूपमा विभिन्न १८ वटा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

मुलुकका ३०० पालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा रहेकामा अब विस्तारै बढाउँदै लैजाने तयारी गरिएको बताउँदै उहाँले ‘निरोगी नेपाल’ को नारालाई साकार पार्न तीनै तहका सरकारको सहकार्य र समन्वयको खाँचो औँल्याउनुभयो । तीनदिने उक्त कार्यक्रममा गण्डकी र बागमती प्रदेशका आयुर्वेद कार्यालयका प्रमुख एवं अन्य सरोकारवालाको सहभागिता रहेको छ ।