नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलमा युवा, सामाजिक क्षेत्र र अन्य दलका कार्यकर्ताको आकर्षण बढिरहेको बताउनुभएको छ । प्रस्तावित समाजवादी प्रेस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले पार्टी जबजको मूल्यमान्यता कायम राख्दै सामाजिक न्याय, उत्पादनमा वृद्धि र समान वितरणका साथ वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढ्ने बताउनुभयो ।
उहाँले पार्टीमा सामाजिक चेतना वृद्धि, युवा हस्तान्तरण, विचार एवं सोचमा परिवर्तन, जनतासँग सम्बन्ध, आचरणमा सुधारमा जोड दिने कुरामा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग मतभेद बढेको बताउँदै ओलीले सङ्कटका बेलामा मात्र वार्ता र सम्झौताको कुरा गर्ने गरेको स्मरण गर्नुभयो । आफूसँग असहमति राख्नेप्रति ओलीको असहिष्णु प्रवृत्ति रहने गरेको आरोप लगाउँदै नेता नेपालले त्यसको भण्डाफोर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा तेस्रो धार भनिएकाहरु आँट र विद्रोह गर्न नसक्ने र अध्यक्षसँग गल्ने स्वभावका भनेर समेत आरोप लगाउनुभयो ।
एक प्रसङ्गमा उहाँले भन्नुभयो, “पूर्वप्रधानमन्त्री नेपालले एमसीसी कम्प्याक्ट गर्दा नेपालले असंलग्न नीति परित्याग गर्न नहुने, कुनै सैन्य सङ्गठन र सुरक्षा छाताभित्र नरहने, नेपालले स्वतन्त्र निर्णय गर्न पाउनुपर्ने, बौद्धिक सम्पत्तिमाथि अधिकार र जग्गाको स्वामित्व तथा लेखापरीक्षण नेपालकै हुनुपर्ने तथा परियोजनामा नेपाली कर्मचारी र श्रमिक रहनुपर्नेमा स्पष्ट गर्नुभयो । आगामी निर्वाचनसम्म पाँच दलीय मोर्चा कायमै राखिने बताउँदै उहाँले अध्यादेशलगायत विषयले सरकार विस्तारमा ढिलाइ भइरहेको स्वीकार्नुभयो । वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ संयोजक तथा १५१ सदस्यीय कार्यसमिति रहने समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको जानकारी पनि सो अवसरमा दिइएको थियो ।
यो पनि – सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।कोषको ६०औँ वार्षिकोत्सव समारोहको भर्चुअल रुपमा आज उद्घाटन गर्दै मन्त्री शर्माले भन्नुभयो, “सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, यसले राष्ट्रिय पूँजी निर्माणमा सहयोग पु¥याउँछ ।” उहाँले सञ्चयकर्ताको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । सञ्चय कोषको कूल लगानी आर्थिक वर्ष २०७७÷७८ सम्म रु चार खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा रु तीन खर्ब ९८ अर्ब ६ करोड मौज्दात छ । निवृत्तभरण कोषमा रु एक अर्ब ५८ करोड छ भने कोषको दायित्व रु चार अर्ब ६७ करोड छ ।
सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताको लागि रु सात हजार ५०० का दरले दुई पटकसम्म प्रसूति खर्च उपलब्ध गराउँदै आएको छ । सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा रु दुई लाख प्रदान गर्दै आएको छ । सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट रु ४० हजार काजकिरिया खर्च, सामान्य औषधोपचारको हकमा रु एक लाख तथा घातक रोगको हकमा रु १० लाखसम्मको उपचार खर्च सोधभर्ना गर्ने गरेको छ ।
कोषमा पाँच लाख ९८ हजार योगदानकर्ता र २९ हजार २०० योगदानकर्ता कार्यालय आबद्ध छन् । कोषले सञ्चयकर्ता स्वास्थ्योपचार योजनाअन्तर्गत एक हजार ६३३ सञ्चयकर्तालाई रु १३ करोड ८७ लाख सोधभर्नासहित कूल रु ३२ करोडभन्दा बढी सामाजिक सुरक्षा सुविधा प्रदान गरेको छ । विसं २०१९ भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि १९९१ सालमा सैनिक द्रव्य कोष, २००१ मा निजामती प्रोभिडेण्ट फण्ड र २०१७ सालमा सञ्चयकोष विभागको नाममा यसको काम कारवाही सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया