८० वर्षमा बल्ल नागरिकता

८० वर्षमा बल्ल नागरिकता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सङ्खुवासभाको मकालु गाउँपालिका–२ की एक वृद्धाले ८० वर्षमा नेपाली नागरिकता पाउनुभएको छ । राम्रोसँग आँखा नदेख्ने कान्छीमा शेर्पाले मकालु–२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालय आएको सातौँ दिनमा नेपाली नागरिकता प्राप्त गर्नुभयो ।

असी वर्षीया वृद्धा कान्छीमाले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । नेपाली नागरिकले नैसर्गिक अधिकारका रूपमा पाउने नागरिकताको प्रमाणपत्र नहुँदा अनेक दुःखकष्ट झेलेकी कान्छीमाले लामो सङ्घर्षपछि नागरिकता प्राप्त गर्नुभयो । नागरिकता पाएपछि राज्यका तर्फबाट बुढेसकालमा पाउने सामाजिक सुरक्षा भत्तालगायत सेवासुविधाबाट बञ्चित हुनुपर्ने वाध्यता हटेको छ ।

असी वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएकी सङ्खुुवासभाको मकालु गाउँपालिका–२ का कान्छिमा शेर्पा । तस्बिर ः भविन कार्की÷रासस

नेपाली भाषा राम्रोसँग बोल्न नसक्ने, श्रीमान् र छोरीे गुमाउनुभएकी कान्छीमालाई सरकारी सेवासुविधाका बारेमा केही थाहा छैन । दुर्गम टासी गाउँमा भिर, पहारा चहारेर दिनचार्य बिताइरनुभएकी उहाँलाई गाउँका युवाहरुले बुढेसकालमा सामाजिक सुरक्षा भत्तामात्रै पाए पनि सहज हुने थियो भनेर आवश्यक पहल गरेका थिए । विसं १९९८ मङ्सिर १० गते जन्मिनुभएकी कान्छीमाले सोही गाउँमा तप्के शेर्पासँग विसं २०२६ जेठ ५ गते विवाह गर्नुभयो । उहाँले विवाह दर्तालगायतका पञ्जीकरणका काम कुनै गर्न पाउनु भएन । अर्को विवाह गरेका श्रीमान्को विसं २०६८ असार १५ गते मृत्यु भएको थियो । कान्छी श्रीमतीपठ्ठिका छोरासँग नाता प्रमाणित गरेर वडाबाट सर्जिमिन मुचुल्कालगायतका कागजी प्रक्रिया पूरा गरेर सदरमुकाम खाँदबारी आउए उहाँले नागरिकता लिनुभयो ।

यो पनि – आजदेखि पाथीभरा दर्शन खुला

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो । हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिद्वारा जारी विज्ञप्तिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको हो ।

कोभिडको जोखिम अझै पूर्णरूपमा अन्त्य भइनसकेकाले पाथीभरा दर्शनमा आउने तीर्थयात्रीलाई सरकारले लागू गरेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नसमेत समितिले अनुरोध गरेको छ । पाथीभरा दर्शनका लागि दशैँ–तिहारको समयलाई मुख्य समय मान्ने गरिएको छ भने यो समयमा मात्र लाखौँ भक्तजनले पाथीभराको दर्शन गर्ने गरेका छन् ।

यो पनि – आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर विश्वकर्माको पूजा आराधनाको तयारी गरिएको जनाइएको छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै तयार पार्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ ।

यही सम्झनामा नेपालका कालिगडले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ । वास्तु शास्त्र पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या बढ्न थालेको छ ।