नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताउनुभएको छ । स्व गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह फाउण्डेशनले शोभा भगवतीमा आज आयोजित कार्यक्रममा उहाँले सत्ता गठबन्धका आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै अब चाँडो मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “झण्डै दुई तिहाइ बहुमत पाएको कम्युनिष्ट सरकारले संविधानको मर्म र भावनाविपरीत काम गर्न नसकेपछि काँग्रेस नेतृत्वमा सरकार निर्माण भएको हो, सबैलाई मिलाएर लैजाँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।” काँग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्नेमा विश्वास रहेको उहाँको भनाइ छ ।
नेता सिंहले पार्टीको १४औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताउनुभयो । उहाँले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको उल्लेख गर्दै विवाद भएका जिल्लामा विधानअनुसार समस्या समाधान गर्नुपर्ने बताउनुभयो । “विधिअनुसार पार्टी नचल्दा विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको छ, १४औँ महाधिवेशनलाई निष्पक्ष तवरले सम्पन्न गर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाउने विषयमा निरन्तर छलफल र परामर्श भइरहेको उल्लेख गर्नुभयो ।
पार्टीका पूर्वमहामन्त्री सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनमा र काँग्रेसलाई बलियो बनाउन स्व गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि गणेशमान सिंहले नेपाली जनाताको सेवा गर्न नछोडेको बताउनुभयो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, किरण गिरी, पूर्वमन्त्री एवं सांसद राजेन्द्रकुमार केसी, काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँलगायतको उपस्थिति रहेको थियो ।
यो पनि – दाङमा काँग्रेसको नगर अधिवेशनको चुनावी सरगर्मी
दाङ, २ असोज (रासस) ः नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै दाङमा नगर अधिवेशनको सरगर्मी बढेको छ । यही असोज ९ गते तय भएको गाउँ÷नगर अधिवेशनका लागि चुनावी सरगर्मी बढेको छ । यसैबीच जिल्लाका दुई उपमहानगरपालिकामा अधिवेशनबाट नेतृत्व लिन युवा दौडधुपमा लागेका छन् । तुलसीपुर उपमहानगरपालिकामा नगरसभापतिका लागि तीन जना र घोराही उपमहानगरपालिकामा दुई जना आकाङ्क्षी देखिएका छन् । सुरेश हमाल, शोभाकर सापकोटा र अनिल कार्की चुनावी मैदानमा देखिनुभएको छ ।
तीनै जना युवा आकाङ्क्षीले चुनावी क्रियाकलाप बढाउनुभएको छ । सुरेश हमाललाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसिँचाइमन्त्री दीपक गिरीको समर्थन रहेको बताइन्छ भने अनिल कार्कीलाई नेपाली काँग्रेस दाङका पूर्वसभापति तथा पूर्वसांसद गेहेन्द्र गिरीको पक्षको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ । दुवै खेमाले उम्मेदवार बन्नका लागि प्रस्ताव नगरेका अर्का आकाङ्क्षी शोभाकर सापकोटाले भने काँग्रेसको स्वतन्त्ररूपमा उम्मेद्वारी दिने तयारी गरेको बुझिएको छ ।
यद्यपी सुरेश हमाल र शोभाकर सापकोटामध्ये एक उम्मेद्वार मात्रै निर्वाचनमा उठ्ने अनुमान गरिएको छ । सुरेश हमाल महाधिवेशन प्रतिनिधिका रूपमा टिममा पर्नुभएन भने सो खेमाले हमाललाई नगर सभापतिमा प्रस्ताव गर्ने बताइएको छ । शोभाकर सापकोटालाई प्रदेश, क्षेत्रीय तथा जिल्लामध्ये कुनै समितिमा जिम्मेवार पद दिएर हमालकै खेमामा ल्याउने पनि दीपक गिरी खेमाका एक नेताले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ बाट सर्वसम्मतरूपमा क्षेत्रीय प्रतिनिधिमा चुनिएका यातायात व्यवसायी तथा काँग्रेसका युवा नेता सुरेश हमाल नगर सभापतिका एक आकाङ्क्षी हुनुहुन्छ ।
यातायात व्यवसायी राष्ट्रिय महासङ्घमा सल्लाहकारको भूमिकामा रहेका हमाल पश्चिम दाङका विभिन्न सामाजिक सङ्घसंस्थामा पनि उच्च तहको पदीय जिम्मेवारीमा कुशलतापूर्वक काम गरिसक्नुभएको छ । लायन्स क्लब, रोटरी क्लब तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका वर्तमान सल्लाहकार हमाललाई राजनीतिसँगै सामाजिक अभियन्ताका रूपमा पनि चिन्ने गरिन्छ ।
सुरेश हमालसँगै विभिन्न व्यावसायिक क्षेत्रका सहयात्री शोभाकर सापकोटा पनि नगर सभापतिकै उम्मेद्वारका आकाङ्क्षी देखिनुभएको छ । हमाललाई महाधिवेशन प्रतिनिधि बनाएर नगरमा आफ्नो नेतृत्व स्थापित गर्नका लागि लागिपरेका सापकोटा दीपक गिरीको टिमबाट अन्ततः नगर सभापतिको उम्मेदवार बन्न नसकेपछि स्वतन्त्ररूपमा भए पनि नगरमै लड्ने तयारीमा हुनुहुन्छ ।
सापकोटा विद्यार्थीकालदेखि नै नेविसङ्घको राजनीतिमा आबद्ध रही आउनुभएको हो । उनी राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचनबाट उपसभापति बनेका उहाँले नेविसङ्घ क्षेत्र नं ४ को क्षेत्रीय सचिव तथा नेपाली काँग्रेसको तुलसीपुर नगर सचिवको जिम्मेवारी पनि बहन गरिसक्नुभएको छ । यस्तै २०६५ सालमा राप्ती बबई क्याम्पसमा नेविसङ्घकोतर्फबाट स्ववियु सभापतिमा निर्वाचित अनिल कार्की नगर सभापतिका अर्का एक आकाङ्क्षी हुनुहुन्छ । कार्की तुलसीपुर– ५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुहुन्छ । युवामाँझ लोकप्रिय छवि बनाएका कार्की नेपाली काँग्रेस दाङका पूर्वसभापति तथा गेहेन्द्र गिरीको प्यानलबाट क्षेत्रीय प्रतिनिधिमा लोकप्रिय मत पाएर निर्वाचित हुनेमध्येका एक युवा हुनुहुन्छ ।
निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै युवा नेताहरुले आफ्नो पक्षमा मत माग्न व्यस्त हुनुहुन्छ । नगर अधिवेशनमा घोराही नगर सभापतिका लागि आकाङ्क्षी युवा नेता रमेश पाण्डे र तिलक रावतबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । दुवै आकाङ्क्षी फरकफरक समयको अन्तरालमा विद्यार्थी राजनीतिबाटै माथि आउनुभएको हो । नगर सभापतिका प्रत्यासी रमेश पाण्डे नेपाली काँग्रेसको संस्थापन इतर पक्षको राजनीतिमा जोडिएका नेताका रुपमा पनि चिनिनुहुन्छ ।
पाण्डेको उम्मेदवारीलाई पूर्वजिल्ला सभापति वीरकेशरी गौतम र काँग्रेस केन्द्रीय सदस्य अनिता देवकोटा खेमाको समर्थन रहेको बताइएको छ । यद्यपि, उहाँले आफूलाई नेपाली काँग्रेसको नगर सभापतिका रुपमा मात्र उभ्याएको बताइन्छ । नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट नेपाली कांँग्रेसको राजनीतिमा प्रवेश गरेका पाण्डे घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष हुनुहुन्छ ।
घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनका क्रममा २०५० सालदेखि नेपाल विद्यार्थीको राजनीतिमा प्रवेश गरेका पाण्डेको पारिवारिकरुपमा राजनीतिमा फरक पृष्ठभूमि भए पनि पाण्डे सानैदेखि नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर राजनीतिमा संलग्न हुनुभएको हो । लामो समयदेखि राजनीतिमा सक्रिय उहाँ पनि युवा पुस्तामाँझ लोकप्रिय हुनुहुन्छ ।
“लामो समयदेखि राजनीतिमा लागे पनि पदीय हिसाबले कमै जिम्मेवारीमा बसेको छु” उहाँले भन्नुभयो, “तर पदीय जिम्मेवारीमा नभए पनि नेपाल विद्यार्थी सङ्घ र नेपाली काँग्रेसको लागि निरन्तररुपमा खटेर काम गर्दै आएको छु ।” पाण्डे नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा भने नगर सभापतिमा पराजित भएका थिए । करिब छ वर्षपछि पुनः १४औँ महाधिवेशनमा नगर सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको उहाँले बताउनुभयो । तीन दशक लामो विद्यार्थी राजनीतिमा सक्रिय उहाँलाई पार्टीको जिम्मेवारीमा बसेर काम गर्ने इच्छा भएको बताउनुभयो ।
नगर सभापतिकै अर्का आकाङ्क्षी हुनुहुन्छ तिलक रावत । रावत कलिलो उमेरमै पारिवारिक राजनीतिका कारण सक्रिय राजनीतिमा जोडिन पुग्नुभएको हो । तिलकका बुवा अर्जुन रावत विसं २०५४ को स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लाको साविक दुविडाँडा गाविसको वडाध्यक्षमा उम्मेदवार हुनुहुन्थ्यो । द्वन्द्वकालमै माओवादीबाट उहाँको परिवार विस्थापित भएर घोराही झ¥यो । तात्कालीन माओवादी सशस्त्र द्वन्द्वमा रोल्पामा सक्रिय राजनीति गर्दै आएका रावत परिवार माओवादीकै कारण विस्थापित भएर दाङ आएको बताइन्छ । रावत पनि आफ्नो परिवारलाई राजनीतिक द्वन्द्वपीडितको परिवारका रुपमा प्रस्ट्याउनुहुन्छ । घोराहीको रतनपुरमा बसोबास गर्दै आएसँगै तिलकले नेपाल विद्यार्थी सङ्घमा रहेर सक्रिय राजनीति सुरु गर्नुभएको हो ।
पद्मोदय पब्लिक माविको इकाइ सचिवको भूमिकामा रहेर काम गरेका उहाँ विसं २०६९ मा नेपाल विद्यार्थी सङ्घको क्षेत्रीय सभापति हुनुभयो । रावत अहिले नगर सभापतिको प्रत्यासी बन्नु युवाका लागि उत्साहको विषय भएको युवा राजनीतिक बृत्तमा चर्चा छ । विद्यार्थी राजनीतिकै क्रममा नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको साथ रहेको बताउने रावतलाई नगर सभापतिका लागि क्षेत्रीय सभापति भूपबहादुर खड्का र काँग्रेस दाङका नेता राजु खनालको समर्थन रहेको बताइन्छ ।
प्रतिक्रिया