संविधान कार्यान्वयनप्रति सचेत रहनुपर्छ ः अध्यक्ष ओली

संविधान कार्यान्वयनप्रति सचेत रहनुपर्छ ः अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनप्रति सचेत रहन सबैमा आग्रह गर्नुभएको छ । सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले आफूले ताजा जनादेशमा जान खोज्दा प्रतिगमन भयो भन्नु संविधानको मर्म र भावनाविपरीत भएको टिप्पणी गर्नुभयो । उहाँले आफ्नो सरकारको पालमा प्रतिगामी शक्तिले पुनः टाउको उठाउन नसकून् भनेर संविधान कार्यान्वयनका लागि सक्रिय प्रयास भएको बताउनुभयो ।

अध्यक्ष ओलीले सामाजिक जीवनका सबै पक्षको सवलीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी, आवासजस्ता विषयलाई संविधानले मौलिक हकमा समावेश गरेकाले यो संविधान उत्कृष्टभित्र पर्ने बताउँदै यस संविधानले केन्द्रीकृत सामन्ती शासनलाई विकेन्दीकृत गर्दै वास्तविक अधिकार स्थानीय तहसम्म लगेको तथा स्थायित्व र समृद्धिको दिशामा मार्गदर्शन गरेको जनाउनुभयो । उहाँले भन्नुभयो, “यो संविधान ऐतिहासिक दस्तावेज हो । हाम्रो पार्टी यो सफलताप्रति गर्व गर्छ । यसको रक्षा, कार्यान्वयन र विकासमा प्रतिबद्ध रहन्छ । सभामुखलगायत संवैधानिक निकायका पदाधिकारीबाट पदअनुसारको मर्यादा र अचारण होस् भन्ने हाम्रो अपेक्षा हो । नत्र संविधान कागजको खोष्टोमा परिणत हुने खतरा रहन्छ । त्यसले लोकतन्त्र र देशलाई नोक्सान पु¥याउँछ ।”

अध्यक्ष ओलीले लाभका लागि संविधानअन्तर्गत पदको सपथ खाने र फेरि संविधानमाथि मतभेद कायम छ भनेर नक्कली कुरा गर्ने प्रवृत्तिलाई पनि चिरेर अघि बढ्दै राष्ट्रिय आकाङ्क्षालाई पूर्ति गर्न पूर्ण लोकतन्त्रका पक्षमा पार्टी प्रतिबद्ध रहेको जनाउनुभयो । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान निर्माण गर्दा बृहत्रुपमा छलफल भएको स्मरण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका सारभूत पक्षमा हाल कुनै परिवर्तन गर्न आवश्यक नभएको बताउनुभयो । संविधानसभाका अध्यक्ष नेम्वाङले विगतका संविधान राजा र शासक भएको स्थितिमा वर्तमान संविधान सार्वभौमसत्ता सम्पन्न जनताका प्रतिनिधिले बनाएको हुँदा यो पृथक र फरक भएको बताउनुभयो ।

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले नेपाली जनताले युगौँदेखि प्रतिक्षा गरिएको र जनताका प्रतिनिधिले संविधान बनाउने सपना पूरा भएको दिनका रुपमा आजको दिनलाई लिनुपर्ने बताउनुभयो ।

यो पनि – संविधानले शहीदको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्यलाई एकाकार गरेको छ ः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले अमर शहीदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्यलाई एकाकार गरेको बताउनुभएको छ ।
सातौँ संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको सफल कार्यान्वयनबाट मुलुकको समृद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने सरकारको लक्ष्य हो भन्नुभयो ।

काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित सातौं संविधान दिवस विशेष समारोहका अवसरमा हेलिकप्टरबाट संविधान दिवस २०७८ लेखिएको व्यानर फहराइँदै । तस्बिरः रोशन सापकोटा÷रासस

प्रधानमन्त्री देउवाले भन्नुभयो, “नागरिक स्वतन्त्रता र मुलुकको समृद्धिको लागि दशकौँदेखि भएका जनआन्दोलन, सशस्त्र विद्रोह, मधेश आन्दोलनसमेतको माध्यमबाट भएको यो अभूतपूर्व राजनीतिक परिवर्तन सम्भव भएको हो । सङ्घीय, लोकतान्त्रिक गणतन्त्र, समावेशीता, मानव अधिकार एवं वैयक्तिक स्वतन्त्रताजस्ता उपलब्धिलाई संस्थागत गर्न जननिर्वाचित प्रतिनिधिबाट गठित संविधानसभाबाट निर्माण भएको नेपालको संविधान सातौँ वर्षमा प्रवेश गरेको यस राष्ट्रिय दिवसमा उपस्थित हुँदा मलाई गौरबबोध भएको छ ।”

सातांै संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहमा सहभागी हुनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिवादन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत । तस्बिरः रोशन सापकोटा÷रासस

उहाँले मुलुकको अग्रगामी परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवर्तनका लागि भएका सङ्घर्षमा शारीरिक, भौतिक, आर्थिक, मनोवैज्ञानिक क्षति बेहोर्नुभएका एवं बेपत्ता नागरिकलाई उच्च सम्मानपूर्वक स्मरण गर्नभुएको छ । साथै उहाँले सातदशक लामो राजनीतिक आन्दोलनका क्रममा परिवर्तनका लागि अग्रपङ्क्तिमा रही नेतृत्व गर्नुहुने अग्रजहरु तथा समस्त परिवर्तनका पक्षधर नेपाली नागरिकप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित संविधान दिवस विशेष समारोहमा नेपाली सेनाबाट प्रस्तुत सलामी ग्रहण गर्दै । तस्बिरः रोशन सापकोटा÷रासस

“विधिको शासनको अपरिहार्य कडी संवैधानिक सर्वोच्चता र त्यसलाई संस्थागत गर्ने संविधान हो । त्यसैले संविधान दिवस एक विशिष्ट राष्ट्रिय खुसीको दिन हो । यस अवसरमा पनि हामी खुला मनले अधिक सहभागिताबाट राष्ट्रिय उत्सव मनाउन सकेका छैनौँ, किनकी कोभिड–१९ को महामारीबाट हामी सबै जोगिँदै यस्ता उत्सव मनाउनुपर्ने बाध्यता रहेको छ”, उहाँले उल्लेख गर्नुभयो ।शताब्दीकै कहालीलाग्दो कोभिड–१९ को विश्वव्यापी महामारीबाट मानवजाति आक्रान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसबाट नेपाली नागरिकलाई बचाउन सरकार पूर्णरुपले प्रतिबद्ध एवं क्रियाशील रहेको बताउनुभयो ।

सातौं संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहका सैनिक व्याड प्रस्तुत गरिँदै । तस्बिरः रोशन सापकोटा÷रासस
काठमाडौँको टुँडिखेलमा आयोजित संविधान दिवस विशेष समारोहमा कवाज प्रस्तुत गर्दै नेपाली सेना । तस्बिरः रोशन सापकोटा÷रासस

नागरिकको जीवन रक्षा गर्नु पहिलो प्राथमिकता

प्रधानमन्त्री देउवाले वर्तमान सरकारको पहिलो प्राथमिकतामा कोभिड–१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्नुभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “यही असोज महिनाभित्र एक तिहाइ र यस वर्षभित्र खोप लगाउनयोग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गरिनेछ । अग्रस्थानमा खटिने राष्ट्रसेवकलगायत सबैलाई व्यक्तिगत स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने र स्वास्थ्य सचेतना बढाउने कार्यक्रम नेपाल सरकारले सञ्चालन गरिरहेको छ ।”

नागरिकको लामो सङ्घर्ष र बलिदानीबाट संविधानसभाबाट निर्मित संविधानको रक्षा र यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तनप्रतिको नागरिकको चाहना संविधानबाट संस्थागत भएको बताउनुभयो । यसको सफल कार्यान्वयनबाट आर्थिक, सामाजिक रुपान्तरण गरी समृद्धिको मार्गतर्फ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यम सङ्घीय, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संविधानको मूल उद्देश्य भएको बताउँदै उहाँले यस विषयमा निरन्तर इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रदेश र स्थानीय तहलाई बाँकी विभिन्न निकायको हस्तान्तरण गरिनेछ

“सङ्घीयता कार्यान्वयनलाई समीक्षा गर्दै नागरिकका नजिकका सरकार प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी विभिन्न निकायको हस्तान्तरण गरिनेछ । साधनस्रोत र जनशक्तिको समुचित बाँडफाँट गरिनेछ । संविधानको सफल कार्यान्वयनका लागि आवश्यक कानुन बनाइने छन् । आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धन संस्कृतिको विकास गर्दै राष्ट्रिय हित, सामाजिक आर्थिक न्याय तथा लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध हुँदै सङ्घीय शासन प्रणालीको माध्यमबाट न्यायपूर्ण, विभेदरहित सवल एवं समृद्ध नेपालको निर्माण गर्नु वर्तमान सरकारको प्राथमिकता हो” प्रधानमन्त्री देउवाले भन्नुभयो ।

 

राजनीतिक प्रणालीलाई थप मजबुत बनाउँदै मुलुकको समुन्नतितर्फ आगामी यात्रा तय गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले नागरिकका अपेक्षा, आकांक्षा, आशा र असन्तुष्टिलाई सम्बोधन गर्दै लोकतान्त्रिक माध्यमबाट सबै समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जनताको जीउधनको सुरक्षा, सुशासन र पारदर्शीता स्वतन्त्र प्रेस प्रतिको प्रतिबद्धतासमेत निरन्तर रहने उहाँको भनाइ थियो । प्रधानमन्त्री देउवाले कोरोना महामारीको जोखिमलाई न्यूनीकरण गर्दै नागरिकको रक्षा गर्ने र स्वास्थ्य मापदण्डको पालना गर्दै अर्थतन्त्रलाई गतिशिल बनाउनेतर्फ सबै नेपाली अग्रसर हुने शक्ति र प्रेरणा साताँै संविधान दिवसले सबैलाई प्रदान गरोस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुनुहुन्थ्यो । साथै कार्यक्रममा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, कूटनीतिक निकायका प्रतिनिधि, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुनुहुन्थ्यो । संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको हो । हरेक वर्ष असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) मनाइन्छ । नेपाल सरकारले संविधान दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ ।