फेरी घट्यो सुनको मूल्य

फेरी घट्यो सुनको मूल्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असोज (रासस) : नेपाली बजारमा आज सुनको मूल्य रु दुई सयले घटेको छ । छापावाल सुन आइतबार रु ८९ हजार एक सयमा कारोवार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार नौ सय तोकिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम गरिएको छ । तेजाबी सुन आइतबार रु ८८ हजार ६ सय ५०मा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु १५ले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १३५ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला रु एक हजार १५० थियो ।

यो पनि – इन्द्रदहमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौँ, ४ असोज (रासस) : भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका–१ मा रहेको इन्द्रदहमा मेला लागेको छ । भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाएका भक्तजन राति इन्द्रदहमा जाग्राम बस्न जाने परम्परा छ । यो परम्परानुसार आइतबार राति नै भक्तजन इन्द्रदह पुगी दिवङ्गत आफन्तका नाममा बत्ती बालेर जाग्राम बसेका थिए ।

आइतबार राति दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै इन्द्रदह परिसरमा रहेको इन्द्रको मन्दिर क्षेत्रमा बत्ती बालेका भक्तजनले बिहानै इन्द्रदहमा स्नान गरी गणेश, इन्द्रलगायत देवी–देवताको पूजा आराधना गरेका छन् । चन्द्रागिरि–१ मा पर्ने यो धार्मिकस्थलमा प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाखौँ भक्तजन पुग्ने गरेका छन् ।

गत वर्ष कोरोना महामारीका लागि मेला स्थगन गरिएकामा यस वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिइएको नगर प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो । मेलाका लागि विसं २०७६ मा जस्तो प्रचारप्रसार भने नगरिएको उहाँले सुनाउनुभयो । आस्थाका आधारमा आउने भक्तजनलाई स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक कर्म गर्न खुला गरिएको छ । भक्तजनका लागि मास्क अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ ।

मेलाका अवसरमा नगरपालिका–१, २ र ३ का विद्यालयलगायत कार्यालयमा स्थानीय पर्व बिदा दिइएको पनि उहाँले जानकारी दिनुभयो । दिवङ्गतहरु स्वर्ग पुग्ने भएकाले त्यहाँका राजा इन्द्रको विशेष पूजा आराधना गरिने यो अवसरमा इन्द्रदहमा बत्ती बाल्ने र स्नान गरी पूजा आराधना गरे शान्ति मिल्ने धार्मिक विश्वास छ ।