जिल्लाको उत्तरी क्षेत्रमा मुख्य बसोबास रहेको अल्पसङ्ख्यक जाती थामीको भाषा संस्कृति तथा कलालाई समेटेर तयार पारिएको पुस्तक ‘नानको आथाङ उलाम’ (अँध्यारोबाट उज्याले तर्फ) नामक पुस्तक आज विमोचन गरिएको हो । नेपाल थामी समाज दोलखाले तयार पारेको पुस्तकको पूर्वमन्त्री पार्वत गुरुङले विमोचन गर्नुभएको हो । दोलखालाई उदगम थलो बनाइ जिल्लाको उत्तरी क्षेत्रमा बसोबास गर्दै आएका अल्पसङ्ख्य जातिका रुपमा सूचीकृत जनजातीमध्येको एक थामी जातीको विभिन्न भाषा, संस्कृति तथा कला जस्ता विषय पुस्तकमा समावेश गरिएको छ ।
उक्त पुस्तक प्रकाशन गर्न सामाजिक विकास मन्त्रालयले सहयोग गरेको थियो । पुस्तक विमोचन गर्दै पूर्वमन्त्री गुरुङले यस पुस्तकले देशका विभिन्न ठाउँमा बसोबास गर्ने थामी समुदायको संस्कति तथा कला संरक्षणका लागि महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । विभिन्न जातजातीको धर्म संस्कृति तथा कला राज्यको सम्पत्ति भएको र ती कला संस्कृति आधुनिकतासँगै विस्तारै लोपहुँदै जान थालेका हुँदा सबैले संरक्षणका लागि पहल चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
थामी सङ्ध नेपालका केन्द्रीय महासचिव तथा पुस्तकका सम्पादक लक्ष्मण थामीले राज्यको स्रोतसाधनमा पहुँच कम भएको थामी समुदायलाई समेटर सार्वजनिक गरिएको पुस्तकाले अन्य समुदायलाई समेत सहयोग पुग्ने बताउनुभयो । आधुनिकतासँगै भाषा संस्कृति हराउँदै गएको र पछिल्लो पुस्ताले भुल्दै जान थालेपछि थामी सम्बन्धी अध्ययनका लागि पछिल्लो पुस्ता तथा अन्य व्यक्तिलाई समेत पुस्तकले सहयोग पुग्ने गरी प्रकाशन गरिएको उहाँले जानकारी दिनुभयो ।
यो पनि – खुल्न थाले स्याङ्जाका शक्तिपीठ
कोभिड–१९ को सङ्क्रमणका कारण बन्द भएका यहाँका शक्तिपीठ क्रमशः खुल्न थालेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले सङ्क्रमणको दर घट्दै गएकाले स्मार्ट लकडाउन गर्ने निर्णयसँगै यहाँका मुख्य शक्तिपीठ खुल्न थालेका हुन् । कोरोनाका कारण गत वैशाखदेखि बन्द भएका शक्तिपीठ असोज लागेसँगै खुलेपछि क्रमशः भक्तजन पूजाआजाका लागि पुग्न थालेका छन् । स्याङ्जाको वालिङ आठ गह्रौँसुरमा अवस्थित प्रसिद्ध गह्रौँसुर मन्दिरमा पाँच महिनाअघिदेखि नृत्य पूजामात्रै हुँदै आएकामा शुक्रबारदेखि भक्तजनका लागि खुला गरिएको गह्रौँसुर धार्मिक एवं पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी दिनुभयो ।
“पाँच महिनासम्म नित्य पूजामात्रै हुँदै आएको मन्दिर यही असोज १ गतेदेखि सर्वसाधारणलाई पूजाआजा गर्न खुला गरेका छौँ”, अध्यक्ष खाँणले भन्नुभयो, “पूजाआजाका लागि आउने दर्शनार्थीले सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क तथा सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने र स्वास्थ्यसम्बन्धी अन्य मापदण्ड अपनाउनु पर्नेगरी खुला गरेका हौँ ।”
यसैगरी भिरकोट नगरपालिका–४ छाङ्छाङदीस्थित छायाँक्षेत्र मन्दिर पनि दर्शनार्थीका लागि खुला गरिएको छ । यसअघि त्यहाँ नित्य पूजामात्रै हुँदै आएको थियो । स्वस्थानी व्रतकथामा उल्लेख गरिएनुसार पार्वतीको अन्तिम अङ्ग यस ठाउँमा पतन भएको हो भन्ने धार्मिक विश्वास छ । स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड लागू गर्नेगरी दर्शनार्थीका लागि मन्दिर खुला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर श्रेष्ठले जानकारी दिनुभयो ।
वालिङ–१२ घुरुङ्खास्थित तीनकन्या अकलादेवी मन्दिर पनि लागि खुला गरिएको छ । कोभिडको सङ्क्रमण दर कम हुँदै गएकाले सर्वसाधारणका लागि खुला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भविराज गुरुङले बताउनुभयोे ।कालीगण्डकी गाउँपालिका–३ स्थित शाह वंशको कूल देवीकारुपमा परिचित छ आलमदेवी मन्दिर । जिल्लामा मात्रै नभएर देश तथा विदेशका विभिन्न स्थानबाट दर्शनार्थी यहाँ पूजाआजा गर्न आउने गरेका थिए । कोरोनाका कारण बन्द भएको मन्दिर अहिले खुला गरिएको मन्दिरका पूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह रानाले बताउनुभयोे ।
पुतलीबजार–१४ सतौँकोटस्थित चण्डी र कालिका मन्दिर पनि खुला गरिएको छ । दुबै मन्दिरका देवीलाई सतौँकोटे राजाको इष्टदेवीकारुपमा पुजिदै आएको छ । यहाँ देशका विभिन्न भाग तथा छिमेकी देश भारतबाट पनि वर्षेनी श्रद्धालु भक्तजन आउने गर्छन् ।
प्रतिक्रिया