बुधबार सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुदै

बुधबार सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये बुधबार सात जिल्लामा अधिवेशन हँुदैछ । यही असोज ५ गते सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

पार्टीले २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते एकै दिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वडा अधिवेशन निर्धारित समयमा नहुने देखिएको हो ।कांग्रेसले यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण प्राप्त भएसँगै समय तोकेर अधिवेशन हुँदै जाने समिति सदस्य एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।

कांग्रेसले महाधिवेशनअन्तर्गत गाउँ÷नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

यो पनि – कांग्रेस नगर सभापतिमा नौ आकाङ्क्षी

दमौली, ४ असोज (रासस) : वडा तहको अधिवेशन पछि नेपाली कांग्रेस अब स्थानीय तहको अधिवेशनमा जुटेको छ । कांग्रेसले आगामी असोज ९ गते देशभरका स्थानीय तहको अधिवेशनको मिति तोकेको छ । यसअघि भदौ २७ गते पालिकाको अधिवेशन हुने भनिए पनि अन्तिम समयमा आएर मिति परिवर्तन भएको थियो ।

पालिकाको अधिवेशन नजिकिएसँगै स्थानीय राजनीति पनि तात्न थालेको छ । यतिबेला जिल्लाका चिया पसल र चोक चोकमा ब्यास नगर समितिको अधिवेशनको चर्चा चल्न थालेको छ ।वडाको अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले स्थानीय तहको नेतृत्व चयन गर्न पाउने भएकाले उम्मेदवारहरू क्षेत्रीय प्रतिनिधिको जोड घटाउमा लागेका हुन् । हरेक उम्मेदवारले आफ्ना पक्षका प्रतिनिधि गन्न थालेका छन् ।

अधिवेशन नजिकिएसँगै नगर सभापतिका उम्मेदवार पनि बढ्दै हालसम्म नौ जनाले उम्मेदवारी घोषणा गरेका छन् । ब्यास नगर समितिका सचिव मोहनकुमार श्रेष्ठ, अर्का नगर सचिव चुडामणि दाहाल, नगर सहसचिव डम्बर अधिकारी, ट्रेड युनियन कांग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, वडा नं १० का वडाध्यक्ष तुलसीराम सापकोटा, इञ्जिनीयर हरिदत्त पौडेल, डा शेषरमण र व्यवसायी बैकुण्ठनाथ मिश्रले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
सभापतिका उम्मेदवार श्रेष्ठले अब नेपाली कांग्रेसमा युवा पुस्ता नेतृत्वमा आउनुपर्ने भन्दै युवाको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी घोषणा गरेको बताउनुभयो । “दुई कार्यकाल सचिव भइसकेकाले सभापतिमा मेरो उम्मेदवारी स्वभाविक हो,” उहाँले भन्नुभयो ।
अर्का आकाङ्क्षी दाहालले ब्यास नगर समितिलाई हालकोभन्दा अझ व्यवस्थितरुपमा सञ्चालन गर्ने, क्रियाशील सदस्यता वितरण तथा अभिलेखलाई विद्युतीकरण गर्ने, विकास निर्माणका योजना छनोट गरी नगरपालिकामा सिफारिस गर्ने तथा अग्रज नेताको सम्मान र युवा पुस्ताको मूल्याङ्कन गरी पार्टी सञ्चालन गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

त्यस्तै अधिकारीले आफू निर्वाचित भए यस नगरपालिकाको १४ वटै वडामा व्यवस्थित ढङ्गले पार्टी कार्यालय सञ्चालन गर्ने, पार्टी सङ्गठन सुदृढीकरणका लागि प्रत्येक वडामा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, पार्टी सङ्गठन सुदृढीकरणका लागि प्रत्येक वडामा प्रशिक्षण कार्यक्रम गर्ने, आपत्विपद्मा परेका पार्टीका कार्यकर्तालाई सहयोगका लागि कोष स्थापना गर्ने र आगामी निर्वाचनमा तीनवटै स्थानीय तहमा पार्टीका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउनका भूमिका निर्वाह गर्ने बताउनुभयो ।

अर्का आकाङ्क्षी हड्खलेले युवाको भावनालाई सम्मान गरी सभापतिमा उम्मेदवारी दिएको बताउनुभयो । प्रविधिसँग जोडिएका युवालाईसँगै लगी राजनीति पनि आकर्षित गर्न आफूले उम्मेदवारी दिएको उहाँको भनाइ थियो । नगरपालिकाको १४ सबै वडामा क्षेत्रीय प्रतिनिधि छनोट भएर आइसकेका र अब ४५० प्रतिनिधिले मतदान गर्ने भएका छन् ।