अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले नेपालको संविधानले नागरिकको हक अधिकार, मानवअधिकार र प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको बताउनुभएको छ । संविधान दिवसको उपलक्ष्यमा नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै खतिवडाले नेपालको संविधानले समानता, सामाजिक न्याय र विविधताबीचको एकतालाई आफ्नो मुलभूत सिद्धान्त मानेको समेत उल्लेख गर्नुभयो ।
अमेरिकी सरकारका प्रतिनिधीसमेत उपस्थित रहनुभएका कार्यक्रममा राजदूत खतिवडाले अमेरिकी सरकारले मानवीय सहायता र विकासको साझेदारका रूपमा महत्वपूर्ण र उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकामा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथिका रूपमा अमेरिकी सरकारको तर्फबट दक्षिण एसिया मामिलाका कार्यवाहक सहायक मन्त्री डिन थम्पसनले नेपाल र अमेरिकाबीच लामो मैत्रीपूर्ण सम्बन्ध कायम रहेको बताउँदै नेपालको प्रजातान्त्रिकीकरण र समृद्धिका लागि अमेरिकाले सदैव सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा डिसीमा रहेका कूटनीतिक नियोगका प्रतिनिधि, अमेरिकी सरकारका अधिकारीलगायत नेपाली समुदायका प्रतिनिधि, सञ्चारकर्मीसमेतको उपस्थिति थियो । कोरोना महामारीका कारण दूतावासले छोटो र संक्षिप्त कार्यक्रम आयोजना गरिएको जानकारी दिएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । यसअघि राजदूत खतिवडाले दूतावास परिसरमा नेपालको झण्डोतोलन गर्नुभएको थियो ।
यो पनि -सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज सात जिल्लामा अधिवेशन हुँदैछ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।
पार्टीले २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते एकैदिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वडा अधिवेशन निर्धारित समयमा हुन नसकेको हो । कांग्रेसले यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो ।
प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण प्राप्त भएसँगै समय तोकेर अधिवेशन हँुदै जाने उहाँले बताउनुभयो । करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।
कांग्रेसले महाधिवेशनअन्तर्गत गाउँ÷नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
प्रतिक्रिया