दाताका भरमा बाल अनाथालय

दाताका भरमा बाल अनाथालय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, ६ असोज (रासस) : अभिभावकविहीन बालबालिकाको आश्रयस्थल बनेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकालीअञ्चल बाल अनाथालय दाताका भरमा चलिरहेको छ । विसं २०४९ मा स्थापना भएको बाल अनाथालयलाई राज्यबाट सहयोग नहुँदा अनाथालय सञ्चालनमा समस्या भइरहेको भए पनि कुनै पनि निकायले चासो देखाएका छैनन् । तत्कालीन जिल्ला विकास समितिले वार्षिक रुपमा अनाथालयलाई केही रकम खाद्यान्न खरिदका लागि अनुदान दिइरहेको थियो । पछिल्ला वर्षमा स्थानीय सरकार आइसकेपछि सो रकम आउन बन्द हुँदा अनालयको खर्च व्यवस्थापनमा निकै समस्या भइरहेको अनाथालयका कार्यालय प्रमुख शङ्कर चन्दले जानकारी दिनुभयो ।

अनाथालयमा हाल २९ बालबालिका आश्रित छन् । सबैजसो बालबालिकालाई बजार क्षेत्रका निजी तथा सरकारी स्कुलले निःशुल्क अध्यापन गराइरहेको भए पनि अनाथालयको अन्य व्यवस्थापनमा भने आर्थिक अभाव हँुदै आएको छ । “नगरपालिकासँग अनाथालय सहयोगका निम्ती धेरै गुहार माग्यांै”, उहाँले भन्नुभयो,“पर्खाल निर्माणका लागि सहयोग भए पनि बालबालिकाको पालनपोषणका लागि केही पनि भएन ।” अनाथालयलाई हालसम्म १९३ जना टुहुरा बालबालिकालाई आश्रय दिइसकेको जनाएको छ ।

“ यहाँ आश्रय लिएर पढेका धेरै बालबालिका जागिरमा छन्”, चन्दले भन्नुभयो,“सेना, प्रहरी, शिक्षक र निजामती सेवामा यहाँबाट पढेर गएका बालबालिका पनि छन् ।”
अनाथालय व्यवस्थापन समितिसँगै दाताको खाद्यान्न, लत्ताकपडालगायतको सहयोगले अनाथालय चलिरहेको चन्दको भनाइ छ । “जन्मदिन, श्राद्ध, विवाहको खुसीमा यहाँ दाता सहयोग गर्छन्”, उहाँले भन्नुभयो,“ स्कुल र सहकारीको पनि महत्वपूर्ण सहयोग छ ।”

त्यसैगरी पछिल्लो समय अनाथालय व्यवस्थापन समितिका पदाधिकारी र सदस्यले अनाथालय सञ्चालनका लागि रु १६ लाखको अक्षयकोष समेत स्थापना गरेको चन्दले बताउनुभयो । “अक्षय कोषमा आउने ब्याजबाट बालबालिकाको पालनपोषणमा खर्च गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “स्थानीय र प्रदेश सरकारले अनाथालयलाई बेवास्ता गरे ।”