नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम बढेन

नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम बढेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ‘बाउन्स ब्याक’ भएको छ । ओरालो लाग्दै आएको नेप्सेमा मङ्गलबार पनि दोहोरो अङ्कको वृद्धि भएको थियो । मङ्गलबारको लय पछ्याउँदै आज नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १०४.८८ अङ्कले उकालो लागेर नेप्से परिसूचक दुई हजार ८१६.९५ मा पुगेको छ । यस्ते, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.४७ बिन्दुले बढेर ५२८.१० मा पुगेको छ ।

नेप्से बढे पनि कारोबार रकममा भने सुधार भएको छैन । कूल २१७ कम्पनीको एक करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर रु ६ अर्ब १७ करोड ९३ लाख १५८ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४२ अर्ब ५५ करोड ८८ लाख १० हजार बराबर पुगेको छ ।कारोबार भएका कूल १३ उपसमूहको शेयर नै उकालो लाग्यो । बैंकिङ ६०.९२, व्यापार १३२.६७, होटल तथा पर्यटन १३६.९, विकास बैंक ३८१.४२, जलविद्युत् १६९.४४, वित्त २०७.९३, निर्जीवन बीमा ४४१.८७, उत्पादन १८२.३१, अन्य ४१.७३, लघुवित्त १७०.७३, जीवन बीमा ५५१.७५, सामूहिक लगानी कोष ०.२२ र लगानी ३.८९ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा आज पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २३ करोड ३४ लाख ८५ हजार ५११ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु १८ करोड ४८ लाख ७४ हजार ५६६, आरएमडीसी लघुवित्त रु १६ करोड ९९ लाख ६८ हजार ८६३, हिमलायन डिस्टिलरी रु १५ करोड ४८ लाख ८९ हजार ६४९ र अपि पावर कम्पनी रु १३ करोड ५३ लाख ७१ हजार ७३३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

१४ कम्पनीको शेयरमा सकारात्मक सर्किट

कारोबारका आधारमा आज विभिन्न १४ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेका छन् । त्यसमा प्रिमियर इन्स्योरेन्स, वेस्ट फाइनान्स कम्पनी, गुह्ेश्वरी मर्चेनट बैंक, आइसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, सिन्धु विकास बैंकलगायत छन् । त्यस्तै, मञ्जुश्री फाइनान्स १.४९, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो ०.२८, नबिल इक्विटी फण्ड ०.२६ र एनसिसि बैंकको ऋणपत्र २०८६ का लगानीकर्ताले ०.०४ प्रतिशतले गुमाए ।

यो पनि – नेपालको अर्थतन्त्रमा सामान्य वृद्धि हुने एडिबीको प्रक्षेपण

एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । बैंकको प्रमुख प्रकाशन ‘एशियाली विकास परिदृश्य’ लाई आज अद्यावधिक गर्दै उसले नेपालको अर्थतन्त्रमा सामान्य वृद्धिको प्रक्षेपण गरेको हो । बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित रहने अनुमान गरेको थियो ।

पर्याप्त वर्षा भएकाले आगामी वर्ष धान उत्पादनमा बढोत्तरी हुने, औद्योगिक उत्पादन पनि बढ्ने अपेक्षा परिदृश्यमा गरिएको छ भने निर्यातमा भएको सुधार र राष्ट्रिय खोप अभियानले सङ्क्रमण घटाउने विश्लेषणका आधारमा सङ्कुचित अर्थतन्त्रमा सुधार आउने अनुमान गरिएको हो । पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण मुद्रास्फीति भने ५.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यसअघि त्यो ३.६ प्रतिशतमा सीमित रहने आकलन गरिएको थियो । जलविद्युत् उत्पादनमा वृद्धि भएसँगै पेट्रोलियम पदार्थको आपूर्ति पनि क्रमशः घट्ने र त्यसले भुक्तानी सन्तुलनमा कम चाप पर्नेछ । विप्रेषण आय र निर्यातमा वृद्धि भए पनि चालु खाता घाटा उच्च रहने प्रतिवेदनमा उल्लेख छ ।

यो पनि – कञ्चनजङ्घाको पर्यटनः करोडौंको लगानी सङ्कटमा

–दिलकुमार लिम्बू, फुङ्लिङ, ६ असोज (रासस)ः कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा परेको असरले कञ्चनजङ्घा पर्यटन क्षेत्रको करोडौंको लगानी सङ्कटमा परेको छ । पर्यटन प्रवद्र्धन हुन नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायसँगै व्यवसायीसमेत सङ्कटमा परेका हुन् । नेपालको पर्यटकीय क्षेत्रमध्ये हिमाली जिल्ला ताप्लेजुङ पनि एक हो । ताप्लेजुङमा दुई प्रकारका आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङघा बेस क्याम्प अवलोकन गर्न विदेशी पर्यटकको पहिलो रोजाइमा पर्दछ । अर्को विश्वको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको दर्शन गर्न धार्मिक पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ ।

कञ्चनजङघा र पाथीभरा ताप्लेजुङ जिल्लालाई चिनाउने प्रमुख दुई पर्यटकीयस्थल हुन् । पाथीभरा क्षेत्रमा अहिले बिस्तारै धार्मिक पर्यटकरुको चहलपहल सुरु भएसँगै पाथीभरा क्षेत्रमा लामो समयदेखि बन्द रहेको होटल खुल्न थालेका छन् । तर कञ्चनजङघामा भने लाखौँ खर्च गरेर पर्यटकका लागि बनाइएको पर्यटकीय आवास अहिलेसम्म खुल्न सकेको छैन् ।

कञ्चनजङघा क्षेत्रमा पर्यटकीय आवसका लागि बनाइएको पर्यटन आवस सुनसान छ । कञ्चनजङघा आधार शिविर अर्थात् लोनाक, खाबाचेन, घुन्सा, फले ग्याप्ला चैराम जस्ता समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्ने स्थानको मुख्य व्यवसाय पर्यटन हो । प्रत्येक घरपरिवारका सदस्य पर्यटनसँग जोडिएको छ । यस क्षेत्रका घरपरिवारले कञ्चनजङघा क्षेत्र आउनुहुने विदेशी पर्यटकहरुका लागि विभिन्न स्थानमा होटलहरु सञ्चालन गरेर आयआर्जन गर्दै आएको पर्यटन व्यवसायीहरु अहिले समस्या भएको फक्ताङलुङ गाउँपालिका—६ घुन्साका पेमा शेर्पाले बताउनुभयो ।

कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानोठूलो लगानीको ५२ वटा होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्क छ । फक्ताङलुङ गाउँपालिका—६ ग्याप्लामा रु सात करोडभन्दा माथिको लगानीमा बनेको सिङ्गी नामजोंग होटल पर्यटक नआएपछि सबै कोठामा ताल्चा लागेको छ । समुन्द्र सतहदेखि तीन हजार ५०० मिटरदेखि चार हजार ५०० मिटर उचाइमा रु एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताउनुभयो । अन्य रु ८० लाखदेखि माथिका लगानीमा होटलहरु सञ्चालनमा रहेको चेम्जोङले बताउनुभयो । कोरोनाको कारणले पर्यटक नआएपछि सबै होटल दुई वर्षदेखि बन्द भएकोे छ । लामो समयसम्म कोभिड–१९ को सङ्क्रमणले पर्यटकहरु आउन नसकेपछि बन्द भएको हो ।

विगतका वर्षहरुमा कञ्चनजङ्घा पदर्मागमा आन्तरिक तथा बाह्य पर्यटकहरु खचाखच हुने कञ्चनजङ्घा पदमार्ग अहिले सुनसान भएको छ । दुई वर्षदेखि कोरोनाका कारणले कञ्चनजङघा हिमाल जाने पर्यटक शून्य छ । गत वर्ष १२ जान विदेशी पर्यटक आएको कञ्चनजङ्घा संरक्षण क्षेत्रका व्यवस्थापन कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाले बताउनुभयो ।

गत २०७६÷७७ सालमा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा हिमालमा आएको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्कमा उल्लेख छ । सार्क राष्ट्रबाट २५ पुरुष र चार महिला पर्यटक कञ्चनजङ्घा हिमालमा आएको तथ्याङ्क छ । आन्तरिक पर्यटक १६ पुरुष र नौ महिला कञ्चनजङ्घा हिमालका अवलोकन गर्न पुगेको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सूचना अधिकारी धमेन्द्र थापाले जानकारी दिनुभयो । कञ्चनजङ्घा हिमालमा आउने विदेशी पर्यटकको तथ्याङ्कलाई २१ वर्ष पछाडि फर्केर हेर्दा २०५६ सालमा पुग्न सकिन्छ । २०५६ सालमा ७९९ जना विदेशी पर्यटक कञ्चनजङ्घा घुमघाम गर्न आएको तथ्याङ्क छ । विसं २०५७ मा ८७३ विदेशी पर्यटक आएको छ । विसं २०५७ देखि २०७७ सम्म ११ हजार १९७ विदेशी पर्यटक कञ्चनजङ्घा हिमाल अवलोकन गर्न आएको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्कले जनाएको छ ।