नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा ‘विफ्रिङ’ गर्दै उहाँले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको जानकारी गराउनुभएको थियो । वर्तमान सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको काम कारबाहीमा समस्या आएको बताइएको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बिहीबार संसद्मा प्रतिस्थापन विधेयक पेश गर्ने सरकारले तयारी गरेको प्रवक्ता महराले जानकारी दिनुभयो । “भोलि संसद् बस्दैछ, आज पाँच दलको बैठक छ, त्यसपछि टुङ्गो लाग्छ ।” बैठकले केन्द्रीय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गरेको छ ।
यो पनि – लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य छ– राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी मान्यताप्राप्त निकाय प्रेस काउन्सिलले सञ्चार क्षेत्रलाई अब्बलरूपमा उभ्याउन कोसिस गर्नुपर्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले त्यसका लागि काउन्सिललाई स्वतन्त्र, स्वायत्त र प्रभावकारी बनाउन सबै निकायबाट सहयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “जिम्मेवार पत्रकारिता, सुसूचित आमजनता र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । लोकतन्त्रको अभ्यासमा आमसञ्चारको क्षेत्रमा देखिएका कमीकमजोरी हट्दै जानेछन् । पत्रकारजगत्बाट आचारसंहिता पालना हुनेछ ।” दुई वर्ष सञ्चारमाध्यम र पत्रकार जगत्ले कोभिड–१९ को महामारीबाट पीडित हुने परेकामा दुःख लागेको बताउँदै उहाँले सङ्क्रमणको जोखिमपूर्ण परिस्थितिमा पनि समाचार सम्प्रेषणका माध्यमद्वारा पेशाप्रतिको दायित्व बहन भएको भनी सराहना गर्नुभयो । लोकतन्त्र र आमसञ्चार क्षेत्र एकअर्काको परिपूरक भएकाले लोकतन्त्र र मानवअधिकार प्रवद्र्धनका लागि आमसञ्चार क्षेत्रले अभिन्न अङ्गका रूपमा काम गरिरहेको बताउँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “लोकतन्त्रको सफलताका लागि अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य छ ।”
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वमा विकसित भएका नयाँ प्रविधिको प्रयोगलाई आत्मसात् गरी परिमार्जित र व्यवसायी बन्दै अघि बढेकै कारण नेपालको सञ्चार क्षेत्र उदाहरणीय बन्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चार क्षेत्रको विकास, सदृढीकरण र सुव्यवस्थित गर्न सरकार जिम्मेवारी लिन तयार छ, समाजलाई सुसंस्कृत र अनुशासित बनाउन सञ्चार क्षेत्र जिम्मेवार भई काम गर्नुपर्छ । यस मामिलामा नेपाली सञ्चारक्षेत्र निष्ठावान रहिआएको छ ।”
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले पत्रकारिता क्षेत्रको नियमन निकायका रूपमा रहेको प्रेस काउन्सिलले सजग, सतर्क र चनाखो भएर सत्यतथ्यसहितको सान्दर्भिक सूचना सम्प्रेषण गर्ने गराउने विषयमा क्रियाशील हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारितालाई गतिशील, मर्यादित, निष्पक्ष र विश्वसनीय तुल्याउने सवालमा मन्त्रालयले सधैँ सहयोग पु¥याउने छ ।” काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलबाट पत्रकारिता क्षेत्रलाई स्वच्छ, निष्पक्ष र मर्यादित तुल्याउन भइरहेका विभिन्न प्रसासबारे जानकारी गराउनुभयो ।
कोभिड–१९ का कारण आमसञ्चार क्षेत्र निकै प्रभावित भएका, कैयौँ सञ्चारगृह बन्द भएका र पत्रकारले रोजगारी गुमाउन परेका घटना सुनाउनुभयो । पुरस्कृत व्यक्तित्व भारत दत्त कोइरालाले पत्रकारिता क्षेत्रमा बौद्धिक, आँटिलो र जोसिलो व्यक्तित्वको परिचय स्थापित गरेर बिदा हुनुभएका स्व गोपालदास श्रेष्ठका नाममा स्थापित पुरस्कार प्राप्त भएकामा त्यसबेलाका व्यक्ति र पत्रकारिताको स्मरण भएको बताउनुभयो । समारोहमा राष्ट्रपति भण्डारीले काउन्सिलको पहिलो प्रकाशन वार्षिक अङ्ग्रेजी संस्करण ‘पीसीएन इयर बुक २०२०÷२१’ संहिता र काउन्सिलको ४६औँ वार्षिक प्रतिवेदनको लोकार्पण गर्नुभयो ।
प्रतिक्रिया