नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत प्रस्ताव केन्द्रीय कमिटिको सुझावलाई समावेश गरी सर्वसम्मतले पारित गरेको छ ।पार्टीको मङ्गलबारदेखि सुरु बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमाथि आज समूहगतरूपमा छलफल भएको थियो । पाँच वटा समूहमा पार्टी केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्नुभएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । समूहका छलफलका क्रममा आएका धारणाका निष्कर्षलाई समूह नेताले बैठकमा प्रस्तुत गर्नुभएको थियो ।
आजको बैठकमा समूह १ बाट रामकुमारी झाँक्री, समूह २ बाट रामचन्द्र साह तेली, समूह ३ बाट रमा आले, समूह ४ बाट श्रीप्रसाद साह र समूह ५ बाट दिनेशकुमार राईले आआफ्नो समूहका छलफलमा उठेका विषयको निष्कर्ष प्रस्तुत गर्नुभयो । बैठकमा उठेका विषयमा अध्यक्ष नेपालले विगतमा जनताको बहुदलीय जनवाद (जबज) लाई कुरूप बनाउने काम गरिएको बताउनुभयो । जबज माक्र्सवादको सिर्जनात्मक प्रयोगको एक अध्याय भएको उहाँको भनाइ छ । पार्टीले जबजको देवत्वकरण र कुरूपीकरण दुवै नगर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी जबजलाई विकसित गर्नेछौँ, त्यसलाई समृद्ध पार्नेछौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को मङ्गलबार सुरु केन्द्रीय कमिटीको प्रथम बैठक दोस्रो दिन पनि पूर्वनिर्धारित कार्यसूचीअनुसार जारी रहेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । केन्द्रीय कमिटीको बैठक बिहीबार पनि जारी रहने छ । भोलि बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बैठक बस्नेछ ।
नेकपा (एमाले) बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो । पार्टीको हालसम्ममा देशका ५५ जिल्लामा कार्यसमिति गठन भइसकेको छ । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, विस्तार र सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेबारेमा समेत छलफल हुने बताइएको छ ।
अध्यक्ष नेपालको संयोजकत्वमा हालै स्थायी कमिटी, सचिवालय, प्रदेश इञ्चार्ज र विभिन्न विभाग गठन गरिएको थियो । प्रदेश, जिल्ला र स्थानीय तहमा समेत भेला, बैठक गरी राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन् । युवा र विद्यार्थी सङ्गठन स्थापना गरिएका छन् भने प्रेस सङ्गठन घोषणाको क्रममा छ ।
यो पनि – सरकारले गति लिन सकेन : केपी ओली
नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गति लिन नसकेको आरोप लगाउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो आरोप लगाउनुभएको हो । पूर्वप्रधानमन्त्री ओलीले अघिल्लो सरकारले राजदूतमा पार्टीका कार्यकर्ता नभई वैदेशिक मामिलासम्बन्धी जानकार, अनुभवी, अध्ययन गरेका र देशका लागि काम गर्नसक्ने व्यक्तिलाई पठाएको उहाँले प्रष्ट्याउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले) सरकारमा हुँदा विकास निर्माणका गतिविधि तीव्रगतिमा अगाडि बढेको दाबी गर्दै उहाँले विकासका काम अगाडि बढाउन एमाले पार्टी नै चाहिने बताउनुभयोे ।
एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै उहाँले अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गरेर विजयको यात्राका लागि पार्टीका काममा उच्च मनोबलका साथ खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
यो पनि – स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा ‘विफ्रिङ’ गर्दै उहाँले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको जानकारी गराउनुभएको थियो । वर्तमान सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको काम कारबाहीमा समस्या आएको बताइएको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बिहीबार संसद्मा प्रतिस्थापन विधेयक पेश गर्ने सरकारले तयारी गरेको प्रवक्ता महराले जानकारी दिनुभयो । “भोलि संसद् बस्दैछ, आज पाँच दलको बैठक छ, त्यसपछि टुङ्गो लाग्छ ।” बैठकले केन्द्रीय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गरेको छ ।
यो पनि – लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य छ– राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी मान्यताप्राप्त निकाय प्रेस काउन्सिलले सञ्चार क्षेत्रलाई अब्बलरूपमा उभ्याउन कोसिस गर्नुपर्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले त्यसका लागि काउन्सिललाई स्वतन्त्र, स्वायत्त र प्रभावकारी बनाउन सबै निकायबाट सहयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “जिम्मेवार पत्रकारिता, सुसूचित आमजनता र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । लोकतन्त्रको अभ्यासमा आमसञ्चारको क्षेत्रमा देखिएका कमीकमजोरी हट्दै जानेछन् । पत्रकारजगत्बाट आचारसंहिता पालना हुनेछ ।” दुई वर्ष सञ्चारमाध्यम र पत्रकार जगत्ले कोभिड–१९ को महामारीबाट पीडित हुने परेकामा दुःख लागेको बताउँदै उहाँले सङ्क्रमणको जोखिमपूर्ण परिस्थितिमा पनि समाचार सम्प्रेषणका माध्यमद्वारा पेशाप्रतिको दायित्व बहन भएको भनी सराहना गर्नुभयो । लोकतन्त्र र आमसञ्चार क्षेत्र एकअर्काको परिपूरक भएकाले लोकतन्त्र र मानवअधिकार प्रवद्र्धनका लागि आमसञ्चार क्षेत्रले अभिन्न अङ्गका रूपमा काम गरिरहेको बताउँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “लोकतन्त्रको सफलताका लागि अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य छ ।”
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वमा विकसित भएका नयाँ प्रविधिको प्रयोगलाई आत्मसात् गरी परिमार्जित र व्यवसायी बन्दै अघि बढेकै कारण नेपालको सञ्चार क्षेत्र उदाहरणीय बन्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चार क्षेत्रको विकास, सदृढीकरण र सुव्यवस्थित गर्न सरकार जिम्मेवारी लिन तयार छ, समाजलाई सुसंस्कृत र अनुशासित बनाउन सञ्चार क्षेत्र जिम्मेवार भई काम गर्नुपर्छ । यस मामिलामा नेपाली सञ्चारक्षेत्र निष्ठावान रहिआएको छ ।”
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले पत्रकारिता क्षेत्रको नियमन निकायका रूपमा रहेको प्रेस काउन्सिलले सजग, सतर्क र चनाखो भएर सत्यतथ्यसहितको सान्दर्भिक सूचना सम्प्रेषण गर्ने गराउने विषयमा क्रियाशील हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारितालाई गतिशील, मर्यादित, निष्पक्ष र विश्वसनीय तुल्याउने सवालमा मन्त्रालयले सधैँ सहयोग पु¥याउने छ ।” काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलबाट पत्रकारिता क्षेत्रलाई स्वच्छ, निष्पक्ष र मर्यादित तुल्याउन भइरहेका विभिन्न प्रसासबारे जानकारी गराउनुभयो ।
कोभिड–१९ का कारण आमसञ्चार क्षेत्र निकै प्रभावित भएका, कैयौँ सञ्चारगृह बन्द भएका र पत्रकारले रोजगारी गुमाउन परेका घटना सुनाउनुभयो । पुरस्कृत व्यक्तित्व भारत दत्त कोइरालाले पत्रकारिता क्षेत्रमा बौद्धिक, आँटिलो र जोसिलो व्यक्तित्वको परिचय स्थापित गरेर बिदा हुनुभएका स्व गोपालदास श्रेष्ठका नाममा स्थापित पुरस्कार प्राप्त भएकामा त्यसबेलाका व्यक्ति र पत्रकारिताको स्मरण भएको बताउनुभयो । समारोहमा राष्ट्रपति भण्डारीले काउन्सिलको पहिलो प्रकाशन वार्षिक अङ्ग्रेजी संस्करण ‘पीसीएन इयर बुक २०२०÷२१’ संहिता र काउन्सिलको ४६औँ वार्षिक प्रतिवेदनको लोकार्पण गर्नुभयो ।
प्रतिक्रिया