रु ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

रु ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाँै, ७ असोज (रासस)  : नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

यसअघि नेराबैंकले गत भदौ १७ गते सात दिन अवधिको रु २० अर्ब, २४ गते १४ दिनको रु ३० अर्ब र भदौ ३१ गते रु २० अर्ब रिपोमार्फत रकम उपलब्ध गराएको थियो । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन् । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले नियमितरुपमा एसएलएफ सुविधा लिने गरेका छन् ।

राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आवमा बुधबारसम्म रु चार खर्ब नौ अर्ब ५६ करोड एसएलएफमार्फत उठाएका छन् । बैंक वित्तीय संस्थाले बुधबार मात्र १२ पटकमा रु २७ अर्ब २४ करोड एसएलएफमार्फत उठाएको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

यो पनि – रामेछापमा गोदाममै थन्कियो पीसीआर मेसिन

रामेछाप, ७ असोज (रासस) : रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पीसीआर मेसिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ । गत साउन २४ गते ल्याएको पीसीआर मेसिन सम्बन्धित निकायको ढिलासुस्तीका कारण गोदाममै थन्किएको हो ।

कोरोना परीक्षणको दर बढाउन वाग्मती प्रदेश सरकारको सहयोगमा उक्त मेसिन ल्याइएको थियो । मेसिन गोदाममा थन्किँदा कोरोना भाइरसको परीक्षणका लागि यहाँका नागरिक काठमाडौँ, सिन्धुली, काभ्रेको धुलिखेललगायत ठाउँ धाउनुपर्ने बाध्यता छ । मेसिन थन्किदासमेत सरोकारवाला बेखबर भएको मानवअधिकार संरक्षण सञ्जालका जिल्ला संयोजक पाण्डवप्रसाद प्रसाईंले बताउनुभयो ।

जिल्ला अस्पतालका निमित्त प्रमुख दीपेन्द्रनारायण श्रेष्ठ भने मेसिन सञ्चालनको तयारी भइरहेको बताउनुहुन्छ । “मेसिन मात्रै आएर हुँदैन, सञ्चालन गर्न संरचना र दक्ष जनशक्ति चाहिन्छ, त्यो अब पूरा हुँदैछ”, उहाँले भन्नुभयो, “चाँडै परीक्षण सेवा सुरु हुन्छ ।” जिल्ला अस्पतालमा पीसीआर मेसिन राख्न र अक्सिजन प्लान्ट राख्न आवश्यक संरचना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट २३ जनाको मृत्यु भइसकेको छ । तीन हजार १२१ जना सङ्क्रमित भएकामा तीन हजार ८० सङ्क्रमणमुक्त भइसकेका छन् ।