प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।
यो पनि – प्रतिपक्षका विरोधका बीच प्रतिनिधिसभा बैठक सुरु
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधका बीच प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरु ‘वेल’ घेर्न पुग्नुभएको थियो । सभामुख सापकोटाले बैठक सुचारु गर्नका लागि विपक्षी दलका सांसदलाई पटकपटकको आग्रह गर्दा पनि विपक्षीको अवरोध कायमै रहेका बेला बैठकको कार्यसूचीका विषय अगाडि बढाउनुभएको थियो । आजको बैठकमा ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ माथि छलफल गरी पारित गर्ने कार्यसूची छ ।
यो पनि – लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्धः सभापति देउवा
पर्वत, ७ असोज (रासस) : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ । पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल ९जुम० माध्यमबाट उद्घाटन गर्नुहुँदै उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताउनुभएको हो ।
सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको उल्लेख गर्नुहुँदै यसले पार्टीको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा भर्चुअल माध्यमबाट उहाँले भन्नुभयो, “हामी आफ्नै शक्तिले देशको ठूलो पार्टी हुने हो । कम्युनिष्ट फुटेका कारण ठूलो पार्टी हुने होइन ।”
वरिष्ठ नेता पौडेलले कांग्रेसमा आन्तरिक लोकतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसको आसन्न महाधिवेशनले सफल र सक्षम नेतृत्व चयन गर्नुपर्ने पनि बताउनुभयो । कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले पार्टीभित्र गुटबन्दीको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
विसं २०६६ कात्तिक ११ गते शिलान्यास गरिएको सो भवन झण्डै १२ वर्षमा सम्पन्न भएको छ । कूल रु एक करोड ४७ लाखको लागतमा सो भवन निर्माण भएको समितिका संयोजक जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि विभिन्न सङ्घ संस्था, व्यक्ति तथा शुभेच्छुकसँग रकम सङ्कलन गरिएको छ । सङ्कलित रकममध्ये रु ६५ लाख बचत भएको र यसलाई अक्षय कोषमा राखिने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया