म्याग्दीमा दुई हजार एक सय घरमा खानेपानी

म्याग्दीमा दुई हजार एक सय घरमा खानेपानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ८ असोज (रासस) ः म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा दुई हजार १०० घरमा खानेपानी र १०७ हेक्टर जमिनमा सिँचाइ सुविधा बिस्तार भएको छ ।खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७÷७८ मा निर्माण गरेका आयोजनामार्फत खानेपानी र सिँचाइ सुविधा बिस्तार भएको हो । सिँचाइतर्फ १४ वटा प्रादेशिक र छ वटा सःसर्त अनुदानका, खानेपानीतर्फ २६ वटा प्रादेशिक र १५ वटा सःसर्त अनुदानका, चार वटा नदी नियन्त्रण तथा आपत्कालीन बाढीपहिरो पुनःस्थापना कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर कुमारबहादुर खड्काले निर्माण भएका १९ वटा खानेपानी आयोजनाबाट दुई हजार १०० घरमा निजी धारा जडान गरी खानेपानी वितरण गरिएको जानकारी दिनुभयो । छ वटा सिँचाइ आयोजनाबाट १०७ हेक्टरमा सिँचाइ सुविधा बिस्तार भएको उहाँले बताउनुभयो ।

मङ्गलाको कुहुँ खानेपानी आयोजनाबाट ११६ घरधुरी, पैँयुपाटामा ११८ घरधुरी, हिदी खानेपानी आयोजनाबाट ३५ घरधुरी, अन्नपूर्णको दोवा खानेपानी आयोजनाबाट २८० घरधुरी, रघुगङ्गाको बेगखोला खानेपानी आयोजनाबाट ४०० घरधुरी, बृहत् चिमखोला भगवती पिप्लेअन्तर्गत पिप्लेमा ६५ घरमा, महतारे कलेजावाङ खानेपानी आयोजनाबाट ५६ घरधुरी, मालिकाको देविस्थान खानेपानी आयोजनाबाट २२१ घरधुरी, मालिकाको सेतखोला बेलीबाट ८८ घरधुरी, बेनीको सिङ्गा खानेपानी आयोजनाबाट १८८, ज्यामरुककोट–अर्जम–रत्नेचौर खानेपानी आयोजनाबाट १३० घरधुरी र निलदह खानेपानी आयोजनाबाट ३१० घरधुरीलाई खानेपानी सुविधा पुगेको छ ।

यसैगरी बेनी नगरपालिका–४ मा निर्माण सम्पन्न भएको बालमखोला सिँचाइ आयोजनाबाट ३० हेक्टर र अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानीमा निर्माण भएको जारखोला सिँचाइ आयोजनाबाट १० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । ३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने रघुगङ्गाको रुइसे सिँचाइ आयोजनाको ४७० मिटर नहर, ४०० मिटर पाइप जडान, सात वटा कलेक्सन च्याम्बर र एक वटा विपिटी निर्माण गरेर पानी चलाइएको छ । रघुगङ्गाको राखु–पिप्ले सिँचाइ आयोजनाबाट ३० हेक्टरमा, बेनी–५ को मूल गोठेला डिही चालिसे सिँचाइ आयोजनाबाट १८ हेक्टरमा, मङ्गलाको शेराफाँट सिँचाइ आयोजनाबाट ३८ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । गत वर्ष ठेक्का सम्झौता भएको अन्नपूर्ण गाउँपालिका–७ को औँला र रघुगङ्गाको दरमिजा सिँचाइ आयोजनाको मुहान, नहर र पाइपलाइनलगायत संरचना निर्माण भएको छ ।

मङ्गलाको भाइवाङ, भरजुला, झ्याप्रेखोला तल्लो भैटिनी, रणवाङ, घतानको ढाडी खेत थाकन मूलाबारी सिँचाइ आयोजनामा थप नहर र पाइपलाइन जडान गरेर पानी चलाइएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम लागू भएको भगवतीको एक्लेखोरीया र नागनागेमा ९०÷९० हजार लिटर क्षमताको दुई वटा सिँचाइ पोखरी निर्माण भएको छ । ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन भएको म्याग्दीमा खेतीका लागि प्रयोग भएको १९ हजार ४९८ हेक्टर क्षेत्रफल जमिनमध्ये पाँच हजार ९९८ हेक्टरमा सिँचाइ सुविधा छ । २७ हजार ७६२ कूल घरधुरी सङ्ख्यामध्ये ९० प्रतिशतभन्दा बढी घरमा आधारभूतस्तरको खानेपानीको सुविधा पुगेको छ । विद्युत सुविधा नपुगेका ठाउँमा विद्युतीकरणका लागि धौलागिरि गाउँपालिकालाई १२० वटा सौर्य ऊर्जा सेट उपलब्ध गराएको कार्यालयले काठेपोल विस्थापित गर्न २८३ थान फलामका पोल खरिद गरेर मालिका गाउँपालिकालाई १९३ र धौलागिरिलाई ९० थान उपलब्ध गराएको छ ।

म्याग्दी नदीको कटान नियन्त्रणका लागि मालिका र मङ्गला गाउँपालिकाको हाँडेभिर, बेनी नगरपालिकाको नयाँपुल र बगरफाँटलगायत तटीय क्षेत्रमा ग्यावीयन पर्खाल निर्माण भएको छ । प्राकृतिक चिकित्सालयका रुपमा रहेको बेनी नगरपालिका–४ सिङ्गा तातोपानी कुण्ड संरक्षणका लागि निर्माण भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताउनुभयो ।