नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर अधिवेशन पूर्वनिर्धारित मिति (यही असोज ९ गते) देखि प्रारम्भ गर्ने निर्णय गरिएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
ती जिल्लामा दशैँ अघिसम्म पालिका अधिवेशन मात्र सम्पन्न हुनेछन् । हिमाली जिल्लामा भने पूर्वनिर्धारित कार्यतालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा वडा अधिवेशन हुन बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवाद शीघ्र टुङ्ग्याएर वडा अधिवेशन प्रारम्भ गर्ने सहमति भएको छ ।
कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो । कांग्रेसले यसअघि ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यतामा देखिएको केही विवादका कारण विवरण अझै सार्वजनिक हुन सकेको छैन ।
कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
यो पनि – कला र संस्कृतिको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक समृद्धिका लागि कला र संस्कृतिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–४ किसान आर्ट ग्यालरीमा ‘आत्मदीपन’ सामूहिक चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले कला र संस्कृतिको सम्वद्र्धन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले कला र संस्कृति संरक्षणका लागि प्रदेश सरकारले योजना बनाइरहेको उल्लेख गर्दै कलाकारलाई प्रोत्साहन गर्न आफू तत्पर भएको बताउनुभयो । “तपाई कलाकारले योजना ल्याउनुस्, प्रदेश सरकारको तर्फबाट पूर्णरुपमा सहयोग गर्छौं”, उहाँले भन्नुभयो, “सरकारले कलाको संरक्षणका लागि विशेष कार्यक्रम गर्ने तयारी गरिरहेको छ ।” चित्रकलाका लागि नवलपुर उर्बर भूमि भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले नवलपुरका कलाकारले चित्रकलामार्फत अन्तर्राष्ट्रियरुपमा देशको नाम उँचो राख्न सफल भएको स्मरण गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले नेपालमा प्रजातन्त्र आएपछि कलाका सबै विधामा एकखालको प्रतिस्पर्धा भएको भन्दै सबैले आफूलाई अगाडि बढ्ने जमर्को गरेका बताउनुभयो । “चित्रकलाको आफ्नै खालको महत्व छ, यसमा कुनै द्विविधा छैन”, उहाँले भन्नुभयो, “हाम्रो शिक्षा तथा संस्कृति मन्त्रालयमार्फत हामीले प्रदेशभित्रका कलाकार, यहाँका संस्कृति, परम्परा सबैलाई संरक्षण गर्ने भन्ने एउटा कार्यक्रम पनि छन्, ती कार्यक्रममा कतै समायोजन गरेर तपाईहरुलाई सहयोग गर्नेछौँ, बसेर छलफल गर्नुपर्छ ।”
हामी कलाकार, त्रिवेणी साहित्य प्रतिष्ठान र कलावति आर्ट काउन्सिलको आयोजनमा आजदेखि सुरु भएको चित्रकला प्रदर्शनीमा असोज २२ गतेसम्म चल्नेछ । प्रदर्शनीमा १७ चित्रकारका ५२ वटा कलाकृति राखिएको हामी कलाकारका अध्यक्ष भीम शर्माले जानकारी दिनुभयो । उहाँले प्रजातन्त्र आए पनि कला विकास तथा विस्तारमा राज्यको चासो पुग्न नसकेको दुखेसो पोख्नुभयो ।
कोभिड–१९ का कारण बनेका अधिकांश चित्रहरु बिक्रीवितरणमा समस्या हुँदै आएका कलाकारको गुनासो छ । प्रदर्शनीमा राखिएका चित्रमा सबै धर्म समान भन्ने भाव जनाउन एउटै चित्रमा हिन्दू, बौद्ध, इसाई र क्रिचिस्यन धर्मावलम्बी झल्किने आकर्षक चित्रसमेत कोरिएको छ । कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी, गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कँडेल, किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरि चालिसेलगायतले चित्रकला प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया